इन्फिनिटी लघुवित्तले घोषणा गर्यो २९.१३ प्रतिशत लाभांश

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २९.१३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश घोषणा गरेको हो । मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश गत दुई वर्ष यताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५/१५ प्रतिशतको दरले लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४६ लाख रुपैयाँ छ । २७.७० प्रतिशत लाभांश प्रश्चात संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँ पुग्ने छ ।

प्रिमियर इन्स्योरेन्सले बढायो लाभांशदर, सेयरधनीलाई बोनस र नगद बराबर

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले बोनस र नगद लाभांश बराबर घोषणा गरेको छ । मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगदर (करसहित) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित १५ प्रतिशत लाभांश अघिल्लो वर्षको भन्दा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

फर्ष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९२१.८२ रुपैयाँ कायम भएको छ । यससँगै, आइतबारको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९२१.८२ रुपैयाँबाट शुरु हुने छ । यसअघि अर्थात गत बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १०१४ रुपैयाँमा भएको थियो ।