४० कम्पनीमध्ये नेशनल माइक्रोफाइनान्सको ईपीएस सबैभन्दा बढी, कसको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्तमध्ये नेशनल माइक्रोफाइनान्सको सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) देखिन्छ । हालसम्म सार्वजनिक भएको लघुवित्तहरुको गत असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सको देखिएको हो । नेप्सेमा सूचीकृत लघुवित्तमध्ये ४० वटाले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । त्यसमा ईपीएसको आधारमा नेशनल माइक्रो अग्रस्थानमा छ । गत असोजसम्ममा संस्थाको प्रतिसेयर आम्दानी १०६.१८ रुपैयाँ छ । त्यस्तै, बढी ईपीएस हुनेको दोश्रो स्थानमा आरएमडीसी लघुवित्त देखिएको छ । समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १०१.५० रुपैयाँ छ । र, ईपीएसको आधारमा यी दुई संस्था अन्यको संस्थाको तुलनामा धेरै अगाडि रहेका तथ्यांकले प्रष्टाएको छ । त्यस्तै, कालिका र आशा लघुवित्तको प्रतिसेयर आम्दानी क्रमशः ६९.२० र ६३.४८ रुपैयाँ छ । ५० देखि ६० रुपैयाँसम्ममा ईपीएस हुनेमा १० लघुवित्त छन् । जसमध्ये अधिकांशको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ छ । पछिल्लो तथ्याङ्कअनुसार ११ वटा लघुवित्तको ईपीएस २० रुपैयाँभन्दा तल छ । जसमध्ये सबैभन्दा कम घोडीघोडा लघुवित्तको छ । नोक्सानमा रहेको संस्थाको ईपीएस २.७२ रुपैयाँ ऋणात्मक छ । लगानीकर्ताले दोश्रो बजारमा सेयर कारोबार गर्दा हेर्ने विभिन्न सूचकमध्ये प्रमुख सूचक हो, ईपीएस । कुन कम्पनीले कति लाभांश दिन सक्छ भन्ने पनि ईपीएसकै आधारमा अनुमान गर्न सकिन्छ । र, जसको बढी ईपीएस छ त्यही कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढ्ने गरेको पाइन्छ । साथै, अधिकांश लगानीकर्ताहरु ईपीएसकै आधारमा दोश्रो बजारमा लगानी गर्दै आएका छन् । तर, ईपीएसको आधारमा मात्रै गरेको लगानी जोखिम रहित भने हुँदैन । पहिलो त्रैमासको ईपीएस अन्तिम त्रैमाससम्ममा पनि सोही हुन्छ वा बढ्छ नै भन्ने पनि हुँदैन । त्यसमा घटबढ हुने गरेको गत आर्थिक वर्षको तथ्याङ्कले देखाएको छ । उक्त तथ्याङ्क हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्ः पोहोरको नजिरः पहिलो त्रैमासको ईपीएस हेरेर सेयर किन्नु कति ठिक होला ?

सुपर मादी हाईड्रोपावरकाे शेयरको प्रत्याभूतिमा प्रभु क्यापिटल नियुक्त

काठमाडाैं । सुपर मादी हाईड्रोपावर कम्पनीले प्रभु क्यापिटललाई शेयरको प्रत्याभूतिमा नियुक्त गरेकाे छ । कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको हाे । सो नियुक्ति सम्बन्धी कम्पनी र क्यपिटलबीच आईतबार सम्झाैता भएकाे हाे । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको र त्यहाँको स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गरिने कम्पनीका कार्यकारी अध्यक्ष ढुंगानाले जानकारी दिए ।

अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार अपि पावर र एनएलजी इन्स्योरेन्सको कूल ३७ लाख १७ हजार ९६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी अपि पावरको रहेको छ । कम्पनीको १०.५० प्रतिशत अर्थात २६ लाख २१ हजार ५९४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी, एनएलजी इन्स्योरेन्सको १० लाख ९६ हजार ३७५.५० कित्ता अर्थात १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त सेयर सेयरधनीले दोश्रो बजारमा किनबेच गर्न पाउनेछन् ।