बम्पर लाभांश घोषणा गरेको एशियन लाइफमा झुम्मिए लगानीकर्ता, बढ्यो सेयर मूल्य

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कार्त्तिक ३० गते बेलुका बसेको संस्थाको सञ्चालक समितिले सेयरधनीलाई २७ प्रतिशत लाभांश घोषणा गरेको हो । उच्च लाभांश घोषणा गरेसँगै कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बजारमा कम्पनीको उच्च कारोबार भएको छ । कारोबार खुलेको ३० मिनेटमै कम्पनीको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै, इन्स्योरेन्सको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता १३४८ रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ४.२१ प्रतिशतले बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित २७ प्रतिशत लाभांश आर्थिक वर्ष २०७०/७१ यताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७०।७१ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पिपुल्स हाइड्रोले बोलायो साधारणसभा, आईपीओ जारी गर्नेदेखि सुपरदोर्दीलाई मर्ज गर्ने प्रस्ताव

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आगामी मंसिर २३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे काठमाडौंको क्वालिटी बेङ्क्वेट बुद्धनगरमा गत आर्थिक वर्षको सभा बोलाएको हो । कम्पनीले सभामा साधारण सेयर (आईपीओ) जारी गर्नेदेखि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर जारी गर्ने र आईपीओ जारी बाट प्राप्त हुने रकम उपयोग गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने सम्बन्धमा सभाले आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

७० प्रतिशतले बढ्यो नेप्से परिसूचक, बजार पुँजीकरण ३७ खर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्से परिसूचक २६५७.० बिन्दुमा पुगेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा १०९४.५ बिन्दु अर्थात ७० प्रतिशतले बढी हो । २०७७ असोज मसान्तमा उक्त सूचक १५६२.५ बिन्दुमा रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांकअनुसार २०७८ असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा १६ खर्ब ३७ अर्ब रुपैयाँले बढी हो । २०७७ असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँ थियो । त्यस्तै, गत असोजमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७०.७ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.६ प्रतिशत रहेको छ । नेप्सेमा २०७८ असोजसम्ममा सूचीकृत ५ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७८÷७९ को तेस्रो महिनासम्ममा ३३ अर्ब ३ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको साधारण सेयर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, १ अर्ब २८ करोड बराबरको बोनस सेयर र १ अर्ब २३ करोड बराबरको हकप्रद सेयर गरी कुल ४१ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण सेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद सेयर गरी कुल ६ अर्ब २ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।