छिमेक लघुवित्तले बढायो लाभांशदर, बोनस मात्रै २७ प्रतिशत, नगद कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत(२२ प्रतिशत बोनस र ७ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको छ । २७ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ नाघ्ने छ ।

प्रभु क्यापिटल बन्यो खानीखोला हाइड्रोको सेयर रजिष्ट्रार

काठमाडौं । खानीखोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । हाइड्रोको सञ्चालक समितिको बैठकले क्यापिटललाई सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै, खानीखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

तीन लघुवित्तले २० करोड ९६ लाखको एफपीओ जारी गर्ने, मागे बोर्डको अनुमति

काठमाडौं । विभिन्न तीन लघुवित्तले कूल २० करोड ९६ लाख रुपैयाँ बराबरको थप प्राथमिक निष्काशन (एफपीओ) जारी गर्ने भएका छन् । किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कूल १६ लाख ७९ हजार २२४ कित्ता सेयर (एफपीओ) जारी गर्ने प्रकृया अघि बढाएका हुन् । जसमध्ये किसान लघुवित्तले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँमा २५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२५ रुपैयाँमा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति मागेको हो । संस्थाले गत असार २९ गते नै बोर्डसँग अनुमति मागेको थियो । बोर्डको अनुमति पाएसँगै संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत एफपीओ जारी गर्ने छ । त्यस्तै, नयाँ सारथी लघुवित्तले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने बोर्डसँग अनुमति मागेको छ । संस्थाले प्रतिकित्ता ११६ रुपैयाँमा (अंकित मूल्य एक सय रुपैयाँमा थप १६ रुपैयाँ प्रिमियम) ३ लाख २९ हजार ६४९ कित्ता सेयर जारी गर्ने छ । संस्थाले २०७८ भदौ ९ गते नै बोर्डसँग अनुमति मागेको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । त्यसैगरी, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ९१ लाख २३ हजार ९८४ रुपैयाँ बराबरको एफपीओ जारी गर्न कार्त्तिक २३ गते नै बोर्डसँग अनुमति मागेको छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँमा थप ७७.८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १७७.८ रुपैयाँमा ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्न लागेको हो । संस्थाको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।