मार्केट लिडर नेपाल लाइफ र शिखरले कति दिए सेयरधनीलाई लाभांश ?

काठमाडौं । नेपाली बीमा बजारमा दुई कम्पनीले लिड गर्दै आएका छन् । हालसम्म जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा व्यवसायतर्फ शिखर इन्स्योरेन्सले लिड गरिरहेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको तथ्याङ्क अनुसार उनीहरु अन्य कम्पनीहरु भन्दा धेरै नै अगाडि देखिन्छन् । दोश्रो बजारमा पनि यिनीहरुको स्थान राम्रै छ । पछिल्लो कारोबारमा शिखरको सेयर मूल्य प्रतिकित्ता १ हजार ७ सय १७ रुपैयाँ र नेपाल लाइफको प्रतिकित्ता १ हजार ६ सय २९ रुपैयाँ रहेको छ । बीमा समितिको गत असोजसम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा व्यवसायमै लिड गरिरहेको शिखर इन्स्योरेन्सले एक अर्ब बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमै सो मात्राको बीमाशुल्क आर्जन गर्न सफल भएको छ । जुन शिखरसँग निकट प्रतिस्पर्धीको रुपमा रहेको सगरमाथा इन्स्योरेन्सको भन्दा १० करोड रुपैयाँले बढी हो । उता नेपाल लाईफले चालु आवको तीन महिनामै २ अर्ब २८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन नेपाल लाइफको निकट प्रतिस्पर्धीको रुपमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको तुलनामा ४८ करोड रुपैयाँले बढी हो । छुट्टा छुट्टै व्यवसायमा लिड गरेका यी दुई कम्पनी बीमाशुल्कमा मात्रै होइन, अधिकांश शीर्षकमा नै अग्रस्थानमा रहेका छन् । यी दुबै कम्पनीले सेयरधनीलाई दिएको लाभांश इतिहास कस्तो छ भनेर विश्लेषण गर्ने प्रयास गरिएको छ । शिखरको हालसम्मको लाभांश इतिहास शिखर इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसाय गर्दै आएको १७ वर्ष पुगेको छ । देशमा बीमा सेवा उपलब्ध गराई आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसहित कम्पनीले २०६१ साल कात्तिक २६ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेको हो । सञ्चालनमा आएको दुई वर्षपछि अर्थात आर्थिक वर्ष २०६३/६४ बाटै कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्न शुरु गरेको हो । लाभांश वितरण गर्न शुरु गरेदेखि १५ वर्ष यताको लाभांश इतिहास हेर्दा कम्पनीले सेयरधनीलाई १० वर्षको लाभांश खुवाउन सफल भएको देखिन्छ । यो अवधिमा कम्पनीले न्यूनतम ७.५० प्रतिशतदेखि र अधिकतम ६० प्रतिशतसम्म लाभांश वितरण गरेको छ । कम्पनीका सेयरधनीले पहिलो पटक आर्थिक वर्ष २०६३/६४ को नाफाबाट लाभांश पाएका थिए । उनीहरुले कम्पनीको पहिलो लाभांश स्वरुप ७.५० प्रतिशत लाभांश पाएको देखिन्छ । त्यसपछि कम्पनीले आर्थिक वर्ष २०६४/६५ को नाफाबाट भने सेयरधनीलाई लाभांश वितरण गरेको देखिएन । कम्पनीको लाभांश इतिहास अनुसार इन्स्योरेन्सले आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ को नाफाबाट सेयरधनीलाई क्रमशः १३.५० र १२.६३ प्रतिशत लाभांश वितरण गरेको रहेछ । जुन पहिलो वर्षको तुलनामा बढी हो । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०६७/६८ को लाभांश वितरण गर्न भने सकेन । त्यसपछि भने कम्पनीले ६ वर्षसम्म लगातार सेयरधनीलाई लाभांश वितरण गरेको थियो । इतिहासलाई केलाउँदा कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७३/७४ सम्म त्यसयताकै उच्च लाभांश वितरण गरेको देखिन्छ । सोही आवमध्ये कम्पनीले सबैभन्दा बढी आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ६० प्रतिशत लाभांश वितरण गरेको छ । जुन कम्पनीले हालसम्म वितरण गरेको मध्येकै उच्च हो । त्यसपछि पुनः दुई वर्ष कम्पनीले सेयरधनीलाई लाभांश खुवाउन सकेन । आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को लाभांश नबाढेको कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घटाएको देखिन्छ । कम्पनीले उक्त आवको नाफाबाट भने सेयरधनीलाई २७.७६९ प्रतिशत मात्रै लाभांश खुवाएको छ । त्यस्तै, कम्पनीले हालसम्म गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेको छैन । नेपाल लाईफको १२ वर्षे लाभांश इतिहास नेपाल लाईफ इन्स्योरेन्सले २०५८ साल वैशाख २१ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरेको हो । शिखरभन्दा जेठो यो इन्स्योरेन्सले जीवन बीमा व्यवसायमा २० वर्ष पार गरिसकेको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको कम्पनीको लाभांश इतिहास हेर्दा कम्पनीले अधिकांश वर्ष सेयरधनीलाई लाभांश बाढेको देखिन्छ । यो अवधिमा इन्स्योरेन्सले सेयरधनीलाई न्यूनतम २० प्रतिशत र अधिकतम १२६.३२ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । नेपाल लाइफले आर्थिक वर्ष २०६५/६६ मा न्यूनतम २० प्रतिशत लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०६८/६९ मा सबैभन्दा बढी १२६.३२ प्रतिशत लाभांश वितरण गरेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०६५/६६ मा लाभांश वितरण गरेको इन्स्योरेन्सले त्यसपछिको दुई आर्थिक वर्षको लाभांश नै वितरण गरेन । र, एकैपटक आर्थिक वर्षमा २०६८/६९ मा बम्पर लाभांश घोषणा गर्यो, जुन हालसम्मकै उच्च हो । त्यसपछि यताको दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को भने कम्पनीले लाभांश घोषणा गरेको छैन ।

वोमी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्त्तिक २५ गते दिउँसो ३ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । साथै, संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त लघुवित्ति वित्तीय संस्था एक आपसमा मर्ज भई गत आवमै एकीकृत कारोबार गरेकाले बोनस सेयरमा लाग्ने कर छुट भएको संस्थाले जानकारी गराएको छ । हाल संस्थाको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ ।

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य ६७५ रुपैयाँ

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतको ११ हजार ७५३ कित्ता बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कार्तिक २५ गतेदेखि मंसिर ०१ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आइपुग्ने गरी सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् ।