प्राइम लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सको चौधौं वार्षिक साधारणसभा आगामी मंसिर १९ गते हुँदै छ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र एक करोड ९० लाख रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । यससँगै मंसिर ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.५००४ प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारमा प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । यससँगै आज मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६१८.०१ रुपैयाँदेखि नै शुरु हुने छ ।
सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २२ गते बसेको संचालक समिति बैठकले लाभांश घोषणा गरेको हो । बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई जम्मा ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तो लाभांशमा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश छ । बैंकको अहिले ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी छ । बैंक संचालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।