गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कार्त्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकको बहुमतले बुढाथोकीलाई अध्यक्ष पदमा चयन गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष बुढाथोकीले आगामी ४ वर्षसम्म संस्थामा रहेर आफ्नो कार्यकाल सम्हाल्नेछन् । उनी सर्वसाधारण समूहबाट संस्थाको सञ्चालक समितिमा रहेका छन् ।

नेप्सेले ब्रोकर नम्बर ४० लाई सोध्यो तीन दिने स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ब्रोकर नम्बर ४० (क्रियटिभ सेक्युरिटिज) लाई तीन दिने स्पष्टिकरण सोधेको छ । नेप्सेले कार्त्तिक १४ गते उक्त ब्रोकरको नाममा सार्वजनिक सूचना जारी गर्दै आगामी कार्त्तिक १७ गतेसम्ममा स्पष्टिकरण पेश गर्न आग्रह गरेको हो । नेप्सेका अनुसार ब्रोकरले गत असोज १० गते स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा नेप्सेबाट स्वीकृति नलिई कारोबार गरेको थियो । सो सम्बन्धमा नेप्सेले गत असोज २५ गते नै एक पत्रमार्फत ७ कार्य दिनको समय दिई जवाफ पेश गर्न निर्देशन दिएको थियो । तर, कार्त्तिक १४ गतेसम्म पनि उक्त ब्रोकरबाट जवाफ नआएकाले नेप्सले त्यसको स्पष्टिकरण माग्दै तीन दिनभित्र पेश गर्न पुनः निर्देशन दिएको हो ।

अभियान लघुवित्तले आईपीओ जारी गर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । योसँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । संस्थाले अहिले रेटिङको काम गराइ रहेको जनाएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य ईजाजत–पत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संथासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, वार्ता गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्ने छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र थप ६ वटा शाखा कार्यालय सञ्चानलमा ल्याउँने संस्थाको तयारी छ ।