सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, ६७ हजार ८९० जनाले पाए सेयर

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले संस्थाको आईपीओ कार्त्तिक १६ गते मंगलबार बाँडफाँड गरेको हो । कम्पनीले २०७८ कार्तिक ४ गतेदेखि २०७८ कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण सेयरहरु मंगलबार बाँडफाँड गरेको हो । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेको थियो । उक्त सेयरका लागि आवेदन दिएकामध्ये कूल २१ लाख ८८ हजार ७७८ योग्य आवेदक रहेका थिए । त्यसमध्येबाट गोलाप्रथाको माध्ययमबाट ६७ हजार ८९० जना आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका सर्वसाधारणलाई छुट्याईएको ७ लाख ३० हजार कित्ता सेयर जारी गरेको थियो । जसमध्ये १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १२ लाख ३० हजार कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५ लाख कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६ हजार ५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।

एचआईडीसीएलको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले सेयरधनीलाई कूल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्त्तिक १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल सरकारले स्वीकृति दिई आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । हालै आईपीओ जारी गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कार्त्तिक १६ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुुक्ता पुँजीको सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ । साविक मनकामना लघुवित्त वित्तीय संस्था र साविक स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच मर्जर कार्य सम्पन्न भई एकीकृत कारोबार गरेकाले घोषित लाभांशमा कर छुटको व्यवस्था रहेको छ । सोहि कारण संस्थाले कर प्रयोजनको नगद लाभांश नछुट्याएको जानकारी गराएको छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड ११ लाख रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ नाघ्ने छ ।