दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीको ब्राण्ड एम्बेसडर, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

काठमाडौं । एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आधिकारिक ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले यससँगै ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रिहरू पनि सार्वजनिक गरेको छ । काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा देशभरका ४०० भन्दा बढी डिलर, रिटेलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो । कम्पनीले कार्यक्रमलाई ब्राण्ड विस्तार र नयाँ रणनीतिक यात्राको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार ‘भोल्टेक्स’ सिरिज उत्पादनमा एकरूपता कायम गर्ने, ब्राण्डिङ सुदृढ बनाउने तथा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित बजारमा ल्याइएको हो । आधुनिक प्रविधि, टिकाउपन र उच्च प्रदर्शनलाई प्राथमिकतामा राखिएको यस सिरिजले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै दिपेन्द्र सिंह ऐरीले गुणस्तरीय नेपाली ब्राण्डसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । उनले नेपाली उत्पादनप्रतिको उपभोक्ता विश्वास बढ्दै गएको उल्लेख गर्दै एशियन ब्याट्रीले उद्योग क्षेत्रमा बनाएको पहिचान प्रशंसनीय रहेको धारणा राखे । कार्यक्रमका क्रममा कम्पनीको ब्राण्ड विकास, बजार विस्तार तथा बिक्री प्रवर्द्धनमा योगदान पुर्‍याउने रिटेलर तथा डिष्ट्रिब्युटरलाई सम्मानसमेत गरिएको थियो । कम्पनीले आफ्ना व्यावसायिक साझेदारलाई सफलताको प्रमुख आधारका रूपमा व्याख्या गरेको छ । कम्पनीका अध्यक्ष सुरेश लोहनीले एशियन ब्याट्रीले नेपाली अटोमोबाइल क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए । गुणस्तर, विश्वसनीयता र बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताका कारण बजारमा कम्पनीको उपस्थिति सुदृढ भएको उनको भनाइ छ । एशियन ब्याट्रीले बजाज, हिरो, सेभ्रोले, फोर्ड, होण्डा र इसुजुजस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ । विराटनगरस्थित उत्पादन केन्द्र र काठमाडौंस्थित कर्पोरेट कार्यालयमार्फत कम्पनीले अन्तर्राष्ट्रियस्तरको उत्पादन प्रणाली अपनाउँदै आएको छ । कम्पनीका अनुसार प्रत्येक ब्याट्री कडा परीक्षणपछि मात्र बजारमा ल्याइने भएकाले उत्पादन टिकाउ, भरपर्दो र उच्च प्रदर्शनयुक्त हुने गरेका छन् । देशभर फैलिएको सेवा सञ्जालमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा र प्राविधिक सहयोग पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । स्वदेशी उद्योगका रूपमा सुरु भएको एशियन ब्याट्रीले हाल अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो उपस्थिति विस्तार गर्दै ‘मेड इन नेपाल’ उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

काठमाडौंमा ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ हुँदै, विश्व चर्चित लेखकको जमघट

काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’को औपचारिक घोषणा गरिएको छ । दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिने यस महोत्सव आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा हुने आठदिने कार्यक्रम यस वर्ष नेपाली साहित्यका अग्रज व्यक्तित्व गुरु प्रसाद मैनालीप्रति समर्पित गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा नेपालसहित विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रम हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादजस्ता विषयमा केन्द्रित रहनेछ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा अन्तरविषयक छलफलहरू समावेश गरिएका छन् । यस वर्षको महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, साहित्यिक सम्पादक मार्टिन डोयल तथा ‘पोएट लौरिएट’ टिना चाङ लगायत विभिन्न देशका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ । महोत्सवको उद्घाटन विशेष समारोहमार्फत गरिनेछ भने कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, अनुवाद तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विषयमा सत्र सञ्चालन गरिनेछन् । आयोजक युयुत्सु शर्माले साहित्यलाई मानव सभ्यतासँग जोडिएको हिलिङको माध्यमका रूपमा व्याख्या गर्दै महोत्सवले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा उजागर गर्ने बताए । महोत्सवले युवा साहित्यिक प्रतिभाको प्रवर्द्धनमा पनि जोड दिनेछ । कार्यशाला, मार्गदर्शन कार्यक्रम र अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ पुस्ताका लेखकहरूलाई अवसर प्रदान गरिनेछ । यसैगरी, महोत्सवअन्तर्गत कवितामा आधारित अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनसँगै काठमाडौं दरबार स्क्वायर, पाटन, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोटलगायतका सांस्कृतिक स्थलको भ्रमण कार्यक्रम पनि समावेश गरिएको छ । आयोजकका अनुसार यस महोत्सवले काठमाडौंलाई विश्व साहित्यिक गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।       काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।      दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चौंरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।