२ अर्ब ४० करोड लगानीमा टायल उद्योग सञ्चालन गर्दै कजरिया, दुई महिनामा उत्पादन थाल्ने
काठमाडौं । कजरिया टाईल्सले अबको दुई महिनामा टायल उत्पादन शुरु गर्ने भएको छ । आइतबारबाट पहिलो ‘एक्सपेरियन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको कजरियाले आगामी दुई महिना भित्रमा नेपालमा टायल उद्योग सञ्चालनमा ल्याउने भएको हो । कजरिया रमेश टाइल्सका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपालमा टायल उत्पादन शुरु गर्न लागेको र अबको दुई महिना भित्रमा उद्योग सञ्चालनमा आउने बताए । उनले उद्योगमा २ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको बताए । ‘हामी नेपालमा टायल उत्पादन शुरु गर्दैछौं, अबको दुई महिनामा हाम्रो नवलपरासीको बर्दघाटमा शुरु हुँदैछ । अहिले हामीले खोलेको कम्पनीको उपभोक्तामाझ भिज्ने, उपभोक्ताहरुले पनि अनुभव लिनसक्ने गरी यो सञ्चालन गरेका हौं । कजारियामा केके भेराइटी छन्, कस्तो टायल छ भन्ने बारेमा थाहा पाउनुहुन्छ । अहिलेको आर्थिक मन्दीमा लगानी गर्न धेरै नै गाह्रो छ । २४० करोड रुपैयाँ लगानीमा नेपालमा यो शुरु गरिरहेका छौँ ।’ उनले भने । अग्रवालले आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै कजरिया रमेश टाईल्सले प्रिमियम टाइलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्ने बताए । नेपाली बजारमा गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य उनको रहेको छ ।
मारूती सिमेन्टको व्यापार निरन्तर घट्दो, साढे ५ अर्ब ऋण दबाबमा
काठमाडौं । मारूती सिमेन्टको व्यापार ७१ करोड १० लाखले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको व्यापार सो मात्रा अर्थात १४ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०२३ मा कम्पनीले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी २०२२ मा ५ अर्ब ५ करोड र २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार कम्पनीले गरेको थियो । विगत दुई वर्षको तथ्यांकअनुसार कम्पनीको व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिन्छ । सन् १९९४ मा स्थापना भएको मारूती सिमेन्टलाई हालको व्यवस्थापनले सन् २००५ मा लिएको थियो । हाल कम्पनीलाई राथी ग्रुप र गोयल ग्रुपका उद्योगी तथा व्यवसायीहरुले व्यवस्थापन गर्दै आएका छन् । कम्पनीको व्यवस्थापकीय टीममा नन्द किशोर राथी, सुनिल खेम्का, दिनबन्दु गोयल, अनुज राथी र शरद गोयल गरी पाँच जना रहेका छन् । कम्पनीमा यी पाँचै जनाको सेयर स्वामित्व बराबर रहेको छ । कम्पनीले हाल उत्पादन र १५ सय एमटीपीडीको क्लिंकर क्षमता र २ हजार एमटीपीडीको ग्रिनडिङ क्षमता भएको सिमेन्ट बिक्री गर्दै आएको छ । नेपालको सिरहाको मिर्चियामा रहेको उक्त कम्पनीले आफ्नो क्लिंकर र ग्रिनडिङ क्षमतालाई वृद्धि गर्दै लैजाने योजना बनाएको छ । कम्पनीले ५ अर्ब ५५ करोड ६५ लाखको ऋणको लागि रेटिङ्ग गराएको छ । कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ नेपालमा दीर्घकालीन कर्जाको लागि तीन अर्ब ६५ करोड ८४ लाख र अल्पकालीन कर्जाको लागि एक अर्ब ८९ करोड ८१ लाख रुपैयाँ बराबरको रेटिङ्ग गराएको छ । तर केयर रेटिङले दुबै कर्जाको रेटिङ्गलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेशन’ मा राखेको छ । जसले क्रेडिट मूल्याङ्कनमा डाउनग्रेड हुने सम्भावना बढी रहेको बुझाउँछ । यससँगै कम्पनीको उक्त साढे ५ अर्बको ऋण दबाबमा रहेको देखिन्छ ।
सामाजिक सुरक्षा कोषको कार्यान्वयन तहमा देखिएका समस्याका सम्बन्धमा अन्तरक्रिया
विराटनगर । सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या एवं समाधानका सम्बन्धमा कोषका प्रतिनिधि, उद्योगी व्यवसायीबीच अन्तरक्रिया भएको छ । उद्योग संगठन मोरङको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा भएको छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्या समाधान गरि नीतिगत स्पष्टता कायम गर्नुपर्ने धारणा राखे । उनले कोषका माध्यमबाट प्रदान गर्दै आएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य आश्रितलाई पनि समेटी दायरा फराकीलो पार्न अनुरोध गरे । त्यसैगरी उद्योगी व्यवसायीलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूत हुने गरी कोष स्थापना हुनुपर्नेमा अध्यक्ष सुरानाले जोड दिए । कार्यक्रमका कोषका निर्देशक उत्तमराज नेपालले कोषको कानुनी आधारहरुलाई समय सापेक्ष सुधार गरी सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै लगिने बताए । उनले कोषमा आवद्ध भएका सबैको सामाजिक जोखिम न्यूनिकरण गरी सामाजिक सुरक्षाको सुनिश्चित गर्ने कार्यमा कोष प्रतिवद्ध रहेको स्पष्ट पारे । कार्यान्वयन तहमा देखिएका कतिपय व्यवहारिक समस्यालाई कोषले आगामी सहज बनाउदै आश्रित परिवारका दायरा थप फराकिलो वनाउने दिशामा कार्य भईरहेको निर्देशक नेपालले जनाए । उद्योग प्रतिष्ठान र सेवा प्रदायक अस्पतालका प्रतिनिधिहरुको सहभागितामा भएको अन्तरक्रियामा उद्योगी व्यवसायीले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनाका व्यवस्थाको सेवा उपभोगको क्रममा भोग्नु परेको समस्या समाधानका लागि कोषलाई सेवा प्रदायक अस्पतालहरुसंग समन्वय गर्न अनुरोध गरे ।