हजारको पुँजी ४० लाख पुग्यो, शिखर सुजमा मजदुरी गर्ने मङ्ग्रान्ती बने उद्यमी
दीपक चन्द काठमाडौं । ‘व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो,’ आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ती गाउँपालिका-१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भने । श्रीमानको स्वरमा स्वर मिलाउँदै श्रीमती तारा तोलाङीले भनिन्, ‘त्यही सपना पछ्याउँदै जाँदा आज हामीले सानो लगानीबाट सुरु गरेको व्यापारलाई उद्योगकै रूपमा विकास गर्न सफल हुँदैछौँ ।’ मङ्ग्रान्ती दम्पतीले ‘आशिष सुज सेन्टर’ स्थापना गरेका थिए । करिब १५ वर्षअघि काठमाडौंस्थित शिखर सुज लगायत विभिन्न कम्पनीमा मजदुरी गर्दै जीविका चलाइरहेका कमल आफ्नै उद्यम गर्ने सपनासहित गाउँ फर्कने सोच बनाए । दिनभरि अर्काको काम गर्दा पनि परिवार धान्न गाह्रो भएपछि उनलाई आफ्नै व्यापार गर्नुपर्छ भन्ने लागेको थियो । त्यसैले विसं २०६९ तिर मङ्ग्रान्तीले जुत्ता तथा चप्पल बनाउने तालिम लिएको स्मरण गरे । सीप प्राप्त गरेपछि उनले झापाको बुद्धशान्ति फर्केर परिवार र आफन्तसँग सानो ऋण जुटाइ घरकै एउटा कोठामा जुत्ता उत्पादन सुरु गरे । ‘सुरुआतमा केही हजार लगानी गरेर घरकै सटरमा आफ्नै उत्पादन बिक्री थाले । प्रारम्भिक चरणमा गाउँघरमा हातले टाँसेका जुत्ता बेच्न कठिन भए पनि गुणस्तर र डिजाइनमा ध्यान दिन थालेपछि क्रमशः बजार बिस्तार हुँदै गयो,’ मङ्ग्रान्तीले भने, ‘श्रीमतीलाई पनि जुत्ता बनाउने सीप सिकाए । उनले उद्योगको उत्पादनसँगै पसल व्यवस्थापनमा साथ दिएपछि निकै सहज भयो ।’ उद्योग स्थापनाको केही वर्षपछि ऋण उठाएर खरिद गरिएको पहिलो सिलाई मेसिनले व्यवसायलाई नयाँ मोड दियो । हाल उनको उद्योगमा विद्यार्थीका लागि जुत्ता, कामकाजी महिलाका लागि सहज चप्पलदेखि युवाका लागि आकर्षक जुत्ता उत्पादन भइरहेको छ । ‘हाल पालिकाभर हाम्रो काम र पसलको चर्चा हुन्छ । उद्योगमार्फत दैनिक ३० देखि ४० जोडी विभिन्न आकार-प्रकारका जुत्ता तथा चप्पल उत्पादन गरिरहेका छौँ । चार जना स्थानीयलाई रोजगारीसमेत दिइरहेका छौँ,’ मङ्ग्रान्तीले सुनाए । उनीहरूले आफ्नै पसलमार्फत बिक्री गर्नुका साथै मागअनुसार जिल्ला बाहिर पनि जुत्ता चप्पल आपूर्ति गर्दै आएका छन् । केही हजार लगानी गरेर हाल उनले आफ्नो व्यापार पुँजी करिब ४० लाख बनाए । उद्योगमा ४ जनाले रोजगारी पाइरहेका छन् । हिजोका दिनमा अर्काको काम गर्दा जीविका चलाउन समेत समस्या भोगेको यस परिवारले यही उद्योगको आम्दानीले निकै सहज भएको छ । ‘परिवारको जीवनस्तरमा सुधार हुनुका साथै सन्तानको शिक्षामा लगानी गर्न सहज भएको छ । लगानी बिस्तार गर्दै हाल करिब ४० लाख रुपैयाँसम्मको पुँजी पुगाएका छौँ,’ श्रीमती ताराले भनिन्, ‘पहिले भाडाको घरमा बसेर महिनाको खर्च टार्न हम्मेहम्मे पर्थ्यो । अहिले आफ्नै घर छ, उद्योग छ र अरूलाई रोजगार दिन सक्ने अवस्थामा छौँ ।’ श्रीमान्–श्रीमतीबीचको सहकार्य नै सफलताको मूल मन्त्र भएको उनीहरुको बुझाइ छ । उनीहरू मध्ये कमलले उत्पादन व्यवस्थापनमा र ताराले डिजाइन र बिक्री-वितरणमा ध्यान दिइरहेका छन् । थोरै पुँजीबाट सुरु गरेको व्यवसायबाट सफलता हासिल भइरहे पनि विदेशी जुत्ता आपूर्तिका कारण केही समस्या भइरहेको मङ्ग्रान्तीले गुनासो गरे । सरकारले स्थानीय उद्योगलाई थप प्रोत्साहन दिए सहज हुने उनको भनाइ छ । ‘यदि सरकारको स्पष्ट सहयोग र कर छुट मिल्यो भने हामी जस्ता साना उद्यमीले अझ ठूलो योगदान दिन सक्छौँ,’ मङ्ग्रान्तीले भने, ‘कर तिर्ने बेलामा विभिन्न निकायमा धाउनुपर्ने बाध्यताले समय र स्रोत दुवै खर्च हुने गरेको छ । एकीकृत प्रणाली भए त सहज हुन्थ्यो नि ।’ मङ्ग्रान्ती दम्पतीको योजना उद्योगलाई थप बिस्तार गर्दै झापामै ठूलो ‘फुटवेयर हब’ बनाउने छ । जसले आफ्नो र स्थानीय युवालाई रोजगारी दिएर जीवनस्तर सुधार्ने सपना छ । त्यसका लागि योजना र केही रणनीति बनाएर काम गर्ने मङ्ग्रान्तीले बताए ।
डार्क दशैं, स्याड पानु
डार्क अर्थात् पुरै अँध्यारो पृष्ठभूमि । थचक्क भूँईमा थच्चिएको बालक । दुई घुँडामा दुई हात राखेर घोप्टिएको अवस्था । आँखाबाट झरेको आँशुको थोप्ला प्रष्ट गालामा देखिन्छ । ऊ एक्लो छ । बत्तिको उज्यालोले कालो पन्छाउने प्रयास गरेको छ । बालकले आँखा टुलुक्क हेरेको छ । ‘दशैं २०८२’ शब्दमा यत्ति लेखिएको छ । त्यही फोटो पोष्ट गरे भाटभटेनीका सीओओ पानु पौडेलले फूलपातीका दिन । १५ दिने दशैंको मध्यान्तरमा । विगत १८ वर्षदेखि भाटभटेनीमा आवद्ध पौडेल भाटभटेनीका वरिष्ठतम् कर्मचारी हुन् । उनले 'दशैं २०८२' को डार्क फोटोसँगै 'स्याड स्ट्याटस' पनि राखेका छन् । ‘हर्ष, उमंग र खुसीको पर्व दशैं, तर २०८२ को यस क्षणमा हामीले कहिल्यै नसोचेको पीडा र अन्धकारको सामना गरिरहनु परेको छ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका अधिकांश स्टोरहरू तोडफोडमा परे र १२ वटा स्टोरहरू जलेर पूर्ण रूपमा नष्ट भए । यो कुनै सामान्य घटना होइन । यो आतंककारी शैलीमा गरिएको कार्यले हामी सबैमा गहिरो आघात पुर्याएको छ,' पानुले लेखेका छन् । भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ । 'हामी र हाम्रो टिमलाई त्यसदिनको घटनाले निकै दु:खी तुल्याएको छ । हाम्रो मनमा उमंगको पर्वले पनि खुसी दिन सकिरहेको छैन । मनमा गहिरो स्तब्धता लुकेको छ । दशैंजस्तो सबैभन्दा ठूलो चाड नजिकिँदै गर्दा, हाम्रा कर्मचारीहरू उत्सव मनाउने कुनै मनोवृत्तिमा छैनन् । डर र अन्यायको अनुभूति उनीहरूको मुहारमा स्पष्ट देखिन्छ' पानुले लेखेका छन् । पानुलाई जस्तै यस पटक भाटभटेनीमा आवद्ध झण्डै १० हजार कर्मचारीको मन कुँडिएको छ । भलै भाटभटेनीको प्रबन्ध निर्देशन मिनबहादुर गुरुङले यस पीडाको क्षणमा पनि कर्मचारी नहटाउने र तलब सुविधा पनि कटौती नगर्ने प्रतिवद्धता जनाएका छन् । भाटभटेनीका सीओओ पानु पौडेल लेख्छन्, 'हाम्रो संरचना मात्र होइन, मनोबल पनि भत्काइएको छ । तर, हामी आशा गुमाउँदैनौं । हामी फेरि उठ्नेछौं-अझ मजबुद भएर, अझ एकतामा बाँधिएर । यो अन्धकारका पछाडि उज्यालो पक्कै आउनेछ ।’ ध्वस्त भएका १२ वटा स्टोर बन्द भएपनि १६ वटा स्टोरहरु नियमित सञ्चालनमा आएको भाटभटेनीले जनाएको छ । खुलेका भाटभटेनीहरुमा भने ग्राहकहरुको चाप उच्च रहेको पाइएको छ । ध्वस्त भएका १२ सुपरमार्केट पनि छिट्टै सञ्चालनमा ल्याउने प्रबन्ध निर्देशन गुरुङले बताएका छन् ।
आन्दोलनपछि मनोबल कमजोर, दण्डहिनता स्वीकार्य छैन : उद्योग संगठन मोरङ
काठमाडौं । उद्योग संगठन मोरङले नेपाल सरकार गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तिमा जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा भएको मानविय तथा भौतिक क्षतिको छानबिनका लागि आयोग गठन गरिएको र आयोगको प्रतिवेदन प्राप्त नभएसम्म नियमित कानुनी प्रक्रिया अगाडि नबढाइने उल्लेख गरिएको थियो । उद्योग संगठन मोरङका अनुसार आन्दोलनका क्रममा लक्षित र नियोजित रूपमा निजी क्षेत्रका उद्योग, व्यवसाय र आवासहरूमा लुटपाट, आगजनी र विध्वंश भएको छ, जसले जनमानसमा त्रास र भय सिर्जना गरेको छ । यसका कारण निजी क्षेत्रको मनोबल अत्यन्त कमजोर भएको बताइएको छ । संगठनले सरकारले उल्लेख गरेको 'नियमित कानुनी प्रक्रिया अगाडि नबढाइने' कुरा अत्यन्त खेदजनक रहेको र दण्डहिनता कायम हुन नहुनेमा जोड दिएको छ । कानुनी राज्यमा दण्डहिनता स्विकार्य नहुने भएकाले, संगठनले कानुनको शासनको प्रत्याभूति, धनजनको सुरक्षा, सुरक्षित लगानी तथा भयरहित वातावरणमा काम गर्न सकिने विश्वासयोग्य वातावरण सिर्जनाका लागि पनि गैह्रकानुनी कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ । संगठनका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले यस सम्बन्धमा स्पष्टता र तत्काल कारबाहीको माग गरेका छन्।