केराका रेशाबाट सहकारीले विभिन्न सामाग्री उत्पादन गर्दै, एउटै टोपीको मूल्य १ हजार रुपैयाँ
काठमाडौं । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका-८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ । एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण गर्ने गरिएको छ । सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार एक वर्षदेखि उद्योगले केराको थाम कृषकबाट निःशुल्क ल्याउने गरेको छ । ‘दैनिक १० वटा जति थामबाट एक केजी रेशा उत्पादन हुने गरेको छ । एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ । सहकारीले प्रतिटोपी मूल्य १ हजार रुपैयाँ, पेन होल्डर ३ सय रुपैयाँमा बिक्री गर्ने गरेको छ,’ उनले भने । सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव छैन । सहकारीले बजारको मागअनुसार उत्पादन गर्न भ्याएकोे छैन । ‘उत्पादित सामग्री र रेशा काठमाडौंबाट धेरै माग भइरहेको छ । काठमाडौंका उद्योगले कच्चा पदार्थ जति सकिन्छ पठाउनु भनिरहेका छन् । हामीले मागअनुसार दिन सकिरहेका छैनौँ,’ उनले भने । सहकारीको उद्योगमा १० महिला काम गरिरहेका जसमा पाँच जना केराको रेशाबाट हाते सामग्री नियमित काम गरिरहेका छन् । उनीहरुले घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेका छन् । यसरी निर्माण गरिएका सामग्रीको खपत कैलालीमै भइरहेको छ । यहाँ लाग्ने मेला महोत्सवमा समेत उद्योगले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिदिन माग आउने गरेको सहकारीले जनाएको छ । केराको रेशा उत्पादनपछि खेर जाने सामग्री मलका रुपमा प्रयोग गर्न सकेमा अझ राम्रो हुने स्थानीय बताउँछन् । ‘सहकारी अब कपडा बनाउन धागो उत्पादन गर्न खोजिरहेको छ,’ वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने, ‘धागो बनाउन सकेमा राम्रो फाइदा लिन सकिन्छ ।’ टीकापुर –६ का वडाध्यक्ष बलिराम चौधरी आफूले पनि झोला किनेको बताउँदै कच्चा पदार्थ प्रसस्त पाइने भएकाले यसलाई विस्तार गर्नुपर्ने बताउँछन् । ‘टीकापुर केराको पकेट क्षेत्र भएकाले केराको थाम किन्न पर्दैन, निःशुल्क पाइन्छ । खेर गइरहेको केराको थामबाट धेरै सामग्री बनाउन सकिने रहेछ । यसलाई थप लगानी गरी विस्तार गर्नुपर्छ,’ उनले भने । सरकारले एक सहकारी, एक उद्योगको नीति लिएका बेला सहकारीले स्थापना गरेको उद्योगमार्फत किसान तथा महिला किसानलाई रोजगारीसँग जोड्ने कार्यलाई थप व्यवस्थापन गर्नुपर्ने दिगो विकास समाज भजनीका अधिकृत विनोद शाहले बताए । ‘यो क्षेत्र केराको पटेक क्षेत्र भएकाले केराबाट महिला सदस्य तथा किसानलाई फाइदा भएको छ । स्थानीयस्तरमै पाइने कच्चा पदार्थ प्रयोग गरी सहकारीका शेयर सदस्यले रोजगारीका अवसर पाउनु राम्रो उपलब्धि हो,’ उनले भने ।
२०.८४ करोड लगानीमा सञ्चालनमा आयो बायोग्यास प्लान्ट, पाइपलाइनबाट घरघरमा ग्यास
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहर व्यवस्थापन गर्दै आएको छ । बायोग्यास प्लान्टले खपत गर्नेमध्ये दैनिक करिब ८ हजार किलो फोहरमैला धनगढी उपमहानगरले उपलब्ध गराउने गरेको देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरका सञ्चालक रवीनकान्त पन्तले बताए । उनले बाँकी फोहर गौशाला, कुखुरा फार्म आदिबाट सङ्कलन गरेर ल्याउने गरेको बताए । घरबाट निस्कने तरकारी, खानाजन्य फोहर, सडेगलेका फलफूल, गोबर, कुखुराको सुलीलगायत कुहिने फोहर प्रयोग गरेर बायोग्यास प्लान्टले बायोग्यास र गोबर मल उत्पादन गरिरहेको जनाइएको छ । बायोग्यास प्लान्टबाट दैनिक ३० हजार किलो फोहरलाई व्यवस्थापन गरी दैनिक ३ हजार ५ सय किलो जैविक मल र १ हजार किलो बायोमिथेन ग्यास उत्पादन गर्दै आएको पन्तले जानकारी दिए । उत्पादित ग्यासको बजारीकरणको प्रयास भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रदेश सरकारसँग मिलेर उत्पादित ग्यास पाइपलाइनबाट घरघरमा पुर्याउनका लागि प्रक्रिया सुरु गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘बेस्ट टु इनर्जी प्रोजेक्ट’अन्तर्गत २० करोड ८४ लाख रुपैयाँ लागतमा स्थापना गरिएको ग्यास प्लान्ट गत वर्षबाट सञ्चालनमा आएको हो । कूल लागतमध्ये ४० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ६० प्रतिशत देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले लगानी गरेको पन्तको भनाइ छ । प्लान्ट स्थापनाका लागि जग्गा भने उपमहानगरपालिकाले प्रदान गरेको हो । बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि उपमहानगरलाई फोहरमैला व्यवस्थापनमा सहज भएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि बायोग्यास प्लान्टले दैनिक करिब ३० हजार किलोसम्म फोहरमैलाको प्रयोगबाट एक हजार किलो ग्यास उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।
लक्ष्मी स्टील्सले ५३ करोड रुपैयाँको सेयर बेच्दै, १५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले ५३ करोड रुपैयाँको सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता २६५ रुपैयाँका दरले २० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । जस आधारमा कम्पनीले ५३ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको गत माघ २८ गते बसेको संचालक समितिको बैठकले चुक्ता हुन बाँकी रहेको २० लाख कित्ता जगेडा सेयर बिक्री गर्न प्रस्ताव गरिएको थियो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । खरिदका लागि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३२, तिनकुने (न्यौपाने टावर)मा आईपुग्ने गरी आवेदन गर्नुपर्नेछ । यदि म्याद भित्र विद्यमान सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरका व्यक्ती वा संगठीत संस्थालाई उक्त सेयर बिक्री गरिने लक्ष्मी स्टिल्सले जनाएको छ ।