सुरु भयो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी, दश देशको १ सय २० स्टल समावेश
काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा आज(बिहीबार) देखि अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु भएको छ । कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले मिडिया स्पेश सोलुसन्सन प्रालि र फ्युचरएक्स ट्रेड फायर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजना उक्त दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा नेपालसहित भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम, नेदरल्याण्डस लगायतको १० भन्दा बढी मुलुकको १ सय २० भन्दा बढी प्रदर्शनीकर्ताहरुकाे स्टल समावेश भएको आयोजकले जनाएको छ । आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सृजल भट्टराईले प्रदर्शनीमा पछिल्लो आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री एवं पशुपालन उद्योग सम्बन्धि विभिन्न प्रविधिहरुको प्रदर्शनी रहेको बताए । उनका अनुसार प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने सानादेखि ठूला कृषि तथा पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने उपकरणहरु राखिएको छ । ‘नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा प्रर्दशनी कोशेढुंगा सावित हुने हाम्रो विश्वास छ,’ उनले भने । आयोजकका अनुसार प्रदर्शनी अबधिमा श्रीकृष्ण इन्नोभेसन हबसँगको साझेदारीमा कृषि, पशुपालन, माछापालन, कुखुरपालन लगायका बिषयमा बिभिन्न बिज्ञहरुद्वारा प्राविधिक गोष्ठी, एग्री सिम्पोजियम् सेमिनार आयोजना गरिनेछ । त्यस्तै प्रदर्शनीमा नेपाली कृषकहरुद्वारा उत्पादित कृषि उत्पादनलाई बजारिकरण एवं खरिद बिक्री गर्ने उद्देश्यले ‘एग्री मार्ट’ को समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ । ५० हजारभन्दा वढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको सो प्रदर्शनी फागुन ६ गतेसम्म सञ्चलन हुने आयोजकले बताएको छ ।
नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से एकैदिन ३६ अंकले बढ्यो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकैदिन स्थिर सरकार आउने आशामा सेयर बजार बढेको छ । बिहीबार नयाँ प्रधानमन्त्री ओलीलाई सेयर बजारले स्वागत गरेको छ । बिहीबार बजार ३६ अंकले बढेर नेप्से परिसुचक १ हजार ४२५ अंकमा पुगेको छ ।चुनाव लगत्तै ओरालो लागिरहेको सेयर बजार एमालेको सरकार बनेको दिन एक्कासी उकालो लागेको हो । एमालेका अध्यक्ष ओलीले नयाँ सरकार बनेपछि सेयर बजार तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका कारणले बिहीबारको बजारमा उछाल आएको हो । उनले एमालेको सरकार बनेपछि सेयर बजार गिरावट रोकिने र सेयर बजारमा उछाल आउने भन्दै लगानीकर्नाको विश्वास जित्ने प्रयास गरेका थिए । केही दिनअघि ओलीले सेयर बजारमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने बताएको केही दिन बजार बढेको थियो । बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । बिहीबार ६६ करोड ३३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २७ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोडको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । कुमारीको प्रतिकित्ता २८१ रुपैयाँमा ३ करोड ५८ लाख रुपैयाँ सेयर कारोबार भएको छ । दोस्रामा नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार भएको छ । इन्भेष्टमेन्टको प्रतिकित्ता ६८५ मा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह २१३ अंकले उकालो लागेको छ । बजारमा सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता २२ रुपैयाँ कमाएका छन् ।
७ नम्बर प्रदेशको मुख्य मन्त्रीमा त्रिलोचन भट्ट
धनगढी । ७ नम्बर प्रदेशको मुख्य मन्त्री नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् । मुख्य मन्त्रीको शपथ ग्रहण फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए। भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद रहेका छन्।-रासस
भाग्यमानी केपी ओली, १ वर्षअघिको मितिमा नियुक्ति पत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १ वर्षअघिको मिति राखेर केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्टपति कार्यलयका प्रवत्ता कुलप्रसाद चुडालद्धारा हस्ताक्षरित पत्रमा ०७३ फागुन ३ गते प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त गरिएको उल्लेख छ । पत्रको अन्तिममा भने ०७४ फागुन ३ गते उल्लेख गरिएको छ ।
सेञ्चुरी कमर्शियल बैंकको फागुन ११ गतेदेखि बुक क्लोज, ७औँ वार्षिक साधारणसभामा जाँदै
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको आगामी फागुन ११ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन देखि फागुन ३० गते(अर्थात १९ दिन)सम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी ७औँ वार्षिक साधारणसभा फागुन ३० गते हुँदै छ । उक्त सभामा बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब नाघ्ने कम्पनीले जनाएको छ । साथै, बैंकले हालको चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार रुपैयाँ बराबरको नगद लाभांश(कर सहित) वितरण गर्ने भएको छ ।
रोटरी क्लबद्धारा घरहरु पुनर्निर्माण गर्ने कार्य सम्पन्न, ४९ धनीहरुलाई घर हस्तान्तरण
काठमाडौं । नेपालको एक अग्रणी पेन्ट उत्पादक बर्जर पेन्ट्स नेपालले रोटरी क्लब जावालाखेल मन्जुश्रीद्धारा ‘अर्थक्वेक रिलिफ रिह्याविलिटेसन रिकन्सट्र्क्सन’ प्रोग्राम अन्तर्गत घरहरु पुनर्निर्माण गर्ने कार्य सम्पन्न गरेका छन्। उक्त क्लबले भूकम्पको समयमा ठूलो मात्रामा क्षतिग्रस्त भएको बुरुन्चुउली, गोदवारी, लालितपुरमा रोटरी डिस्ट्रीक ३२९२ को सहायतामा ४९ घरहरुको पुनर्निर्माण सम्पन्न गरेको हो । नेपालको एक अग्रणी पेन्ट उत्पादक बर्जर पेन्ट्स नेपालले उक्त क्लवलाई सो स्थानमा नयाँर्निर्माण गरिएकोे ४९ घरहरु रंगाउनका लागि पेन्ट उपलब्ध गराएकोे थियो । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत बर्जर पेन्ट्स नेपालले आवश्यक पेन्टहरु निशुल्क प्रदान गरेको हो । गत फागुन २ गते आयोजित एक समारोहमा ४९ धनीहरुलाई घर हस्तान्तरण गरियो । कार्यक्रममा मारोटरी इन्टिरन्यासनलर रोटरी डिस्ट्रीक ३२९२ का विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उल्लेखिय व्यक्तीहरु, स्थानीय नगरपालिकाका प्रतिनिधि र अन्य सहभागिहरुको उपस्थिति थियो ।
सिटी रियल होम्स अब सिटी होटेल बन्ने
काठमाडौं । सिटी रियल होम्स प्राली अब होटल बन्ने भएको छ । सिटी रियल होम्सले राजधानीको ताहाचलमा रहेको निर्माणाधिन अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्न लागेको हो । वि.सं ०६९ र ०७० मा सहरी विकास तथा भवन निर्माण विभागबाट वेस्टार स्काई लिभिङ्ग अपार्टमेन्ट र वेस्टार स्काई टावर अपार्टमेन्ट नामक संयुक्त आवास भवन स्वीकृती लिएको थियो । यसलाई रद्ध गरी होटल बनाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले स्वीकृती दिएपछि सिटीले अपार्टमेन्टलाई होटल बनाउने निर्णय गरेको हो । होटलले जारी गरेको सूचना अनुसार यस सयुक्त आवासमा कुनै व्यक्ति वा संस्थाले आवास खरिद गरेको भए सूचना प्रकाशित भएको १५ दिन भित्र कम्पनीको रजिष्ट्रार कार्यलयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
केपी ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, आजै सपथ ग्रहण हुँदै
काठमाडौं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमालेका अध्यक्ष समेत रहेका ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार बिहान राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन् । नवनियुत्त प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ ।