विकासन्युज

निर्माण व्यवसायीलाई ४४ अर्ब तिर्न बाँकी, १५ दिनभित्र नभए गौरवका आयोजनाको काम रोक्ने चेतावनी

विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत ४४ अर्ब रुपैयाँ लिन बाँकी रहेको जनाएको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरी आगामी १५ दिनभित्र बाँकी रकम भुक्तानी नपाएमा २०० अर्ब रुपैयाँ बराबरको सरकारका राष्ट्रिय गौरवका आयोजनालगायत अन्य विभिन्न निर्माण कार्य बन्द गर्ने चेतावनी दिए । सरकारअन्तर्गत सडक डिभिजनलगायत निर्माण कार्य गराउने कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए । महासंघका महासचिव रामशरण देउजाले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब घटाउनुपर्ने वा ऐन कानूनमा उल्लेख भएअनुसार १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएअनुसार क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । उनले निर्माण व्यवसायीलाई भारतलगायत अन्य देशबाट भन्सार छुटमा निर्माण सामग्री आयात गर्न व्यवस्था हुनुपर्ने बताए। महासचिव देउजाले निर्माण महासंघअन्तर्गत १२ हजार ५०० निर्माण व्यवसायी तथा संघअन्तर्गतको कार्यमा ११ लाख व्यक्तिले रोजगार पाइरहेको जानकारी दिए । महासंघका प्रवक्ता विष्णु बुढाथोकीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने तथा निर्माण कार्यमा व्यवसायीले विनाझन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्यसूचीबमोजिम मूल्य समायोजनको रकम प्राप्त हुनुपर्ने व्यवस्था गरिनुपर्ने माग गरे । रासस

मंगलबारदेखि के एल हबमा मोबाइल मेला

काठमाडौं। भ्यालेन्टाइन डेलाई लक्षित गर्दै के एल मोबाइल हबले ‘बाइ वान गेट वान फ्रि’ अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्ल्युसिभ अफरसहित मेला आयोजना गर्न लागेको हो । भ्यालेन्टाइन डेको अवसर पारेर मोबाइल हबले फेब्रुअरी १३ देखि १५ दिनसम्म मेला आयोजना गर्ने बताएकोे छ । मेलामा मोबाइल खरिद गर्दा विभिन्न किसिमका उपहारको व्यवस्था गरिने बताइएको छ । हबको अनुसार मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गरिने जनाएको छ । मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । उक्त खेलाहरुमा एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिनेसम्मको योजना रहेको हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिएको छ । हबका अनुसार विश्व बजारमा पाइने २५ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु रहनेछ । जसमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो लगायतका छन् ।

शिभश्री हाइड्रोपावरले १४ करोड ७६ लाखको आईपीओ निष्कासन गर्ने, ३ महिनामा २२ मेगावाट बिजुली थपिदै

काठमाडौं । शिभश्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४ सय कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानियबासिन्दा र दोस्रो चरणमा सर्वसाधरणलाई गरी कुल ३५ करोड रुपैया बराबरको ३५ लाख कित्ता आईपीओ निष्कासन गर्ने सञ्चालक उमेश कसजुले बताए । उनकाअनुसार स्थानियबासिन्दालाई निष्कासन गरेपछि सर्वसाधारणलाई २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीमा ७० प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारणको लगानी हुने भएको छ । ३ महिनामा २२ मेगावाट बिजुली उत्पादन हुने प्रवद्र्धक शिवश्रीले आउदो ३ महिनाभित्र २२ मेगावाटको माथिल्लो चाकुखोला ए आयोजनाबाट बिजुली उत्पादन गर्ने भएको छ । हाल आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम सम्पन्न गरी ढिलोमा आउदो जेठसम्म बिजुली उत्पादन गर्ने लक्ष्य रहेको कसजुले जानकारी दिए । आयोजनाको लागत ४ अर्ब ३ करोड रुपैयाँ छ । आयोजना सिन्धुपाल्चोकमा पर्छ । चालु आर्थिक वर्षमा निजी र सर्वसाधारण गरी प्रणालीमा १३९ मेगावाट बिजुली उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  

विश्वास ढकाललाई म्यानेजर अफ इयर अवार्ड

काठमाडौं। एफ वान सफ्ट इन्टरनेशनल प्रालिका प्रबन्धक निर्देशक विश्वास ढकालाई ‘म्यानेजर अफ इयर अवार्ड–२०१८ प्रदान गरिएको छ । काठमाडौंमा आइतबार भएको ३७ औैं ‘नेशनल म्यानेजमेन्ट कन्भेन्सन’को अवसरमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनले कम्पनीलाई अघि बढाउन खेलेको महत्वपूर्ण भूमिकालाई कदर गर्दै अवार्ड प्रदान गरिएको बताइएको छ । त्यस्तै नेपाल टेलिकमको प्रबन्धक निर्देशक कामिनी राजभण्डारीलाई ‘आउट स्ट्याण्डीङ’ अवार्ड प्रदान गरिएको छ । नेपाल चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंक जोड्न उनले निभएको भूमिकालाई मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । आयोजकका अनुसार ३१ वर्षअघिदेखि उक्त अवार्डहरु प्रादन गर्न सुरु गरिएको हो । महिलालाई भने २००२ अर्थात १६ वर्षअघिदेखि मात्र सो अवार्ड दिन थालिएको आयोजकको भनाइ छ ।

एनआईसी एशिया बैंकले एकैदिन खोल्यो थप ९ शाखा, सबैभन्दा बढी नवलपरासीमा

काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ९ नयाँ शाखा कार्यालयहरु संञ्चालनमा ल्याएको छ । सो मध्ये बैंकले आइतबार नवलपरासी जिल्लाको ४ स्थानहरु: अमरापुरी स्थित अमरापुरी शाखा, गोपीगंज स्थित गोपीगंज शाखा, दुम्कीबास स्थित दुम्कीबास शाखा र अरुणखोला स्थित अरुणखोला शाखा संचालनमा ल्याएको छ । साथै, बैंकले रुपन्देही जिल्लाको ३ स्थानहरु शंकरपुर स्थित शंकरपुर शाखा, मुर्गिया स्थित मुर्गिया शाखा र मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा र कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र ईमिलिया स्थित ईमिलिया शाखाको एक समारोहका बिच उद्घाटन गरेको छ । उक्त ९ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले १७० शाखा कार्यालयहरु र १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

नबिल बैंकले शुरु गर्यो क्यिूआर कोड प्रणाली, फोनबाटै चाहेको सामानको भुक्तानी गर्न सकिने

काठमाडौं । नबिल बैंकले नेपालमा नै पहिलो पटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत “यूनियनपे इन्टरनेशनल क्विक रेसपोन्स (क्यिूआर कोेड) एक्वाएरिङ सर्भिस”को शुभारम्भ गरेको छ । उक्त प्रणाली मार्फत क्यिूआर कोेडको प्रयोग गरी नबिल बैंकसँग आबद्ध मर्चेन्टहरूले यूनियनपेका अन्तरार्ष्ट्रिय कार्डहरू स्विकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको भुक्तानी लिन सक्नेछन् । क्यिूआर कोेड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) को एक प्रकार हो । बारकोड मेशिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ । क्यिूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्क्वाएर ग्रीडहरु हुन्छन् जसलाई छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिने बैंकले जनाएको छ । क्यिूआर कोेड प्रणाली मार्फत उपभोक्ताहरूले व्यापारीक बिक्री केन्द्रमा रहेको क्यिूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरि आफूले रोजेको सामान र सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । यस भुक्तानी प्रणालीमा विद्धमान प्रक्रिया जस्तो फिजिकल प्वोइन्ट अफ सेल्स(पीओएस) टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन । क्यिूआर कोड मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुन्छ । “पहिलो चरणमा हामीले यो सेवा मुख्य रूपमा चिनियाँ पर्यटकहरुलाई लक्षित गरेका छौं । चीनमा निकै नै प्रख्यात रहेको अत्यन्त सरल र सुरक्षित क्यिूआर कोड प्रणाली मार्फत नेपालमा समेत चिनियाँ पर्यटकहरुले आफूले रोजे बमोजिमका सामान र सेवाको भुक्तानी सजिलै गर्न सक्नेछन् । निकट भविष्यमा हामीले आफ्ना ग्राहकहरूको लागि समेत उक्त सेवा विस्तार गर्ने योजना गरेका छौं ।” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए । यस बैंकले भिसा इन्टरनेशनल, मास्टर र्काड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको मुख्य सदस्य हो र यसले डेबिट, प्रिपेड, क्रेडिट कार्डहरु जारी गर्दछ साथै उक्त कार्डहरुबाट यसका एटिएम, पीओएस तथा पेमेण्ट गेटवे सञ्जालहरु मार्फत कारोबार स्विकार गर्दछ ।  बैंकले युनियन पे इन्टरनेशनलको सहकार्यमा यो थप सेवाको शुरुवात गरेको हो । यस यूपीआई क्यिूआर कोड सेवाको शुरुवात मार्फत न्युन शुल्कमा नै व्यवसायी र ग्राहकहरुले इ–कमर्स कारोवार सरल, सहज र सुरक्षित रुपमा गरी लाभान्वित हुन सक्नेछन् ।

रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैंक नेपाल बिच बैंकासुरेन्स सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपाल लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात बैंकले बीमकको बीमाअभिकर्ताको रुपमा आफ्ना ग्राहकहरुलाई रिलायन्सद्धारा जारी गरिएका बीमालेखहरु बिक्रि वितरण गर्ने छ । हाल यस कम्पनीको कूल पुँजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बांकी रहेको ६३ करोड रुपैयाँको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।

एमालेले समानुपातिक सांसद टुंग्यायो, मोति दुगड पनि भए माननिय

  काठमाडौं । नेकपा(एमाले)ले प्रतिनिधी सभाका लागि समानुपातिक सांसदहरुको सूचि निर्वाचन आयोग पठाएको छ । एमाले स्थायी कमिटी बैठकले सवैधानिक व्यवस्था भित्र रहेर ४१ जना समानुपातिक सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएको हो । एमालेबाट उद्योगी व्यवसायीको पृष्ठभूमिका भने कोहि पनि सांसद भएनन् । एमालेको बन्द सूचिमा रहेका एक मात्र उद्यमी मोति दुगड पनि सांसद बन्न पाएनन् । यी हुन एमालेका समानुपातिक सांसद १. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष) २. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष) ३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष) ४. मोतीलाल दुगड (मधेसी/पुरुष) ५. थममाया थापा (आदिवासी जनजाति/महिला) ६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला) ७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला) ८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला) ९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला) १०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला) ११. नबिना लामा (आदिवासी जनजाति/महिला) १२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला) १३. कुमारी मेचे (आदिवासी जनजाति/महिला) १४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला) १५. राधा कुमारी ज्ञवाली (खसआर्य/महिला) १६. बिन्दा पाण्डे (खसआर्य/महिला) १७. गोमा देवकोटा (खसआर्य/महिला) १८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला) १९. निरुदेवी पाल (खसआर्य/महिला) २०. मनकुमारी जिसी (खसआर्य/महिला) २१. मायादेवी न्यौपाने (खसआर्य/महिला) २२. विष्णु शर्मा (खसआर्य/महिला) २३. सरिता न्यौपाने (खसआर्य/महिला) २४. मैना कुमारी भण्डारी (खसआर्य/महिला) २५. तीर्था गौतम (खसआर्य/महिला) २६. शान्ता चौधरी (थारु/महिला) २७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला) २८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला) २९. निरादेवी जैरु (दलित/महिला) ३०. बिमला विश्वकर्मा (दलित/महिला) ३१. बिमला विक (दलित/महिला) ३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला) ३३. सानु शिवा (दलित/महिला) ३४. आशाकुमारी विक (दलित/महिला) ३५. जुलीकुमारी महतो (मधेसी/महिला) ३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला) ३७. सरलाकुमारी यादव (मधेसी/महिला) ३८. रेखाकुमारी झा (मधेसी/महिला) ३९. सरिताकुमारी गिरी (मधेसी/महिला) ४०. कालिला खान (मुस्लिम/महिला) ४१. समिना हुसेन  (मुस्लिम/महिला)