धमाधम सेजमा जाँदै उद्योगी, खर्बौंको व्यापार घाटा घट्ला त ?
काठमाडौं । २०७१ सालमै उद्घाटन गरिएको भैरहवास्थित विशेष आर्थिक क्षेत्र(सेज)मा उद्यमीहरु दर्ता हुन थालेका छन् । भाडा दर र विद्युत आपुर्तिमा कुरा नमिलेपछि भैरहवा सेजलाई करिब तीन बर्षदेखि उद्योगीले पत्याईरहेका थिएनन् । ७ मेगावाटको विद्युत आपुर्ति र भाडा दरमा कुरा मिलेपछि दुई वटा उद्योग दर्ता भैसकेका छन् । अन्य उद्योगहरु पनि धमाधम दर्ता प्रक्रियामा रहेको सेजका प्रवक्ता सुन्दर थापाले बताए । सेजमा सञ्चालन हुने उद्योगहरुले ७५ प्रतिशत उत्पादन निर्यात गर्नै पर्ने व्यवस्थाका कारण व्यापार घाटा कम हुने अपेक्षा गरिएको हो । मुलुकमा खरबौंको व्यापार भइरहेको अवस्थामा सेजमा सेन्थेटिक, हर्बल, फलफूल प्रशोधन, गार्मेन्ट, जुत्ता, चाउचाउ लगायतका वस्तु उत्पादन हुने उद्योगहरु सञ्चालनमा आउन लागेको हो । ती उद्योगहरु सञ्चालन भएसँगै निर्यात बढ्ने विश्वास गरिएको छ । अहिलेसम्ममा आईडीएस इलेक्ट्रिक प्रालि र सुगम नानो हर्बल इन्डष्ट्रिजले उद्योग सञ्चालनको लागि अनुमति पाइसकेको उनले बताए । ‘किरण सुज म्यानुफ्क्चर र जगदम्बा सिन्थेटीक्स प्रालिले आजभोलि नै अनुमति प्राप्त गर्दैछ,’ उनले भने ‘१९ ओटा प्रारम्भिक सम्झौता भएको उद्योहरुमध्ये १२ वटा उद्योग सञ्चालनको प्रक्रियामा अघि बढिसकेको छ ।’ सो मध्ये ८ उद्योगहरु अनुमति लिने अन्तिम तयारीमा छन् । उनका अनुसार अनुमति पत्र प्राप्त गर्नका लागि २५ हजार रुपैयाँ शुल्क लाग्छ । केही दिनभित्रै इन्टर-टेक प्रालि, मिनरल वाटर इन्डष्ट्रिज, एक्सिलेट गार्मेन्ट, ट्रान्स हिमालयन बेभरेज, गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज, सिद्धार्थ पेट प्लाष्ट (क्लोजरएण्ड क्लोजर), सिद्धार्थ प्लाष्ट (पीभीसी म्याट), एक्सन पोलिमोर लागतयले सञ्चालनको लागि प्रमाणपत्र लिने प्राधिकरणको भनाइ छ । उद्योग सञ्चालनका लागि माघ १० गते पहिलो सूचना निकालिएको थियो । सो निधारण गरिएको समयावधि बुधबार सकिएको छ । प्ररम्भिक सम्झौता भएका १२ वटा उद्योहरु मात्रै अहिले दर्ताको प्रक्रियामा छन् । बाँकी ७ वटा उद्योग आएका छैनन् । त्यसैले दोस्रो चरणको सूचना बिहीबार प्रकाशित गरिएको छ । पुनः १५ दिनको समय अबधि राखेर सम्झौतामा आउन सूचना निकालिएको प्राधिकरणको सूचना प्रवत्ता थापाले बताए । ‘हाल सार्वजनिक गरिएको सूचनालाई अटेर गरेर दर्ता गर्न नआए ती उद्योगहरुलाई खारेज गरिनेछ,’ उनले भने ‘त्यसको सट्टा नयाँ उद्योगका लागि पुनः प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको छ ।’ प्राधिकरणका अनुसार सेजभित्र सवै उद्योग सञ्चालनमा आउँदा ५ अर्ब रूपैयाँ लगानी हुनेछ । २ हजारले प्रत्यक्ष रोजगारी पाउने छन् । सम्झौता भएको सात दिनपछि सञ्चालन अनुमति सेज व्यवस्थापन दिनका साथै उद्योग सञ्चालनमा जाने प्राधिकरणको नियम छ । रूपन्देहीको रोहिणी गाउँपालिकामा ५२ विघा क्षेत्रफलमा रहेको सेजमा १४ सयदेखि ३७ सय बर्ग मिटरसम्मका ६९ ओटा प्लट रहेका छन् । सेजमा बन्द हड्ताल गर्न प्रतिबन्ध लगाइएको छ ।
एशियाली विकास बैंकले १० अर्ब ऋण दिने, स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचना गरिने
काठमाडौं । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति १० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त परियोजनाअन्तर्गत मुलुकका विभिन्न १६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाइनेछ । परियोजनाबाट ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार हुनेछ भने व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्नेछ । त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै देशीय निर्देशक खामुदाख्नोभले नेपालको ग्रामीण भेगलाई यातायात सञ्जालबाट जोड्न ऋण सहयोग प्रदान गरिएको बताउँदै परियोजना पूरा भएपछि सबै याममा सडक सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । अर्थसचिव अधिकारीले नेपालको सामाजिक, आर्थिक विकासमा एशियाली विकास बैंकबाट निरन्तर रुपमा प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् । रासस
सिजीले ल्यायो नयाँ स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर, ३६ महिनाको वारेण्टी
काठमाडौं । नेपालकै ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै आएर नौलो र आकर्षक स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको छ । यो फ्रिजर २७० लि.को क्षमतामा उपलब्ध छ । अन्य चेस्ट फ्रिजरहरुमा जस्तै यसमा पनि १८ डिग्री सेल्सियस सम्मको चिसोको प्रयोग गरि खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले जनाएको छ । यो हेर्दा रेफ्रिजेरेटर जस्तै देखिने भएकोले ग्राहकहरुले यसको लागि धेरै ठाउँ बनाउन नपर्ने भएको छ । यसभित्र धेरै भन्दा धेरै कन्डेस्नर युक्तखण्डहरु रहेका छन्, जसको कारण यसले पर्याप्त रुपमा चिसो बनाई चिसोपनको राम्रो अनुभुति दिन्छ । विशेष गरि यो अस्पताल, औषधीपसल र डेरी पसलहरुको लागि एकदमै उपयुक्त भएको र ३६ महिनाको वारेण्टी पनि यसमा रहेको सिजीका प्रोडक्ट प्यालिङ्ग म्यानेजर रितेश चौधरीले बताए । यसको साथसाथै सिजीले हालै साधारण चेस्ट फ्रिजरहरु विभिन्न मोडलहरु पनि बजारमा उपलब्ध गराएको छ ।
गल्छी-त्रिशूली सडक अब दिउँसोमात्र बन्द, सडक स्तरोन्नतिको कामलाई तीव्रता दिने
नुवाकोट । चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ । फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी-त्रिशूली-मैलु-स्याफ्रुबेँशी-रसुवागढी सडक योजनाले जनाएको छ । यसअघि गएको पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो । बिहानको समयमा काठमाडौँ जानेको चाप बढी हुने भएकाले बिहानको सडक बन्द नगर्न नागरिक तथा यातायात व्यवसायीले माग गरेपछि सडक बन्द गरिने समय परिवर्तन गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बिहानको बन्द हटाएर दिउँसो एक घण्टा थप गरी सडक बन्द गरी निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको हो । सडक योजनाले यस अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ । धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँशीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतिको काम भइरहेको छ । रु नौ अर्ब लगानी रहेको सो योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । रासस
कामीनी राजभण्डारीले पाइन ‘आउटस्ट्यान्डिङ म्यानेजर अफ इयर २०१८’
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ‘आउट स्ट्याण्डिङ म्यानेजर अफ इयर २०१८’ पाएकी छिन् । नेपाल व्यवस्थापन संघ ३७ औं वर्षमा पुगेको अवसरमा आयोजित एक कार्यक्रममा राजभण्डारीलाई सो अवार्ड प्रदान गरिएको हो । टेलिकम सेवामा ३१ वर्ष बिताएकी भण्डारीलाई गत जनवरी १८ मा नेपाल–चीन अप्टिकल फाइबर जोड्न उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै सो अवार्डबाट पुरस्कृत गरिएको हो । राजभण्डारी करिब एक वर्षअघि नेपाल टेलिकमको कार्यकारी प्रमुख बनेकी थिइन् । पुँजी र सेवाग्राहीका आधारमा नेपालको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा पुग्ने उनी पहिलो र एक मात्र महिला व्यावस्थाक हुन् ।एक वर्षअघि नेपाल इन्जिनियरिङ एशोसियसनले राजभण्डारीलाई उत्कृष्ट इन्जिनियरको रुपमा सम्मान गरेको थियो । यसैगरी ‘म्यान म्यानेजर अफ इयर २०१८’ एफ वान सफ्ट इन्टरनेश्नल प्रालीका प्रबन्ध निर्देशक विस्वास ढकाललाई प्रदान गरिएको छ । छोटो समयमै उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा यो अवार्ड उनलाई प्रदान गरिएको हो । आयोजकले पुरुषलाई सन् १९९६ देखि यो अवार्ड प्रदान गर्दै आएको छ भने महिलालाई सन् २००२ अवार्ड प्रदान गर्दै आएको छ ।
७ वटा जीवन बीमा कम्पनीको नाफा १३७ प्रतिशतले वृद्धि, कसको कति(सूचिसहित)
काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको नाफा १३७.४१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ती कम्पनीहरुको नाफा ४४ करोड ५५ लाखले बढेर ७६ करोड ९७ लाख पुगेको हो । २०७३ पुस मसान्तमा भने ती कम्पनीहरुको नाफा जम्मा ३२ करोड ४४ लाखमै सिमित थियो । यसपाली पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा कमाउने सूचि सुरक्षित गरेको छ । नेशनल लाइफले दोश्रो बढि नाफा कमाउने कम्पनीको स्थान ओगट्दा एसियन लाइफ भने पुछारमा परेको छ यद्यपी उसको नाफा भने २५ प्रतिशतले बढेकै छ ।
पेट्रोलियम पाइपलाइनको काम धमाधम, ४१ लरी पाइप ल्याइसकियो
काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम धमाधम अघि बढेको छ । अहिलेसम्म पाइपलाइनको लागि ४१ लरी पाइप ल्याइसकिएको नेपाल आयल निगमले जनाएको छ । निगमको प्रवक्ता वीरेन्द्र गोईतले शनिबार मात्रै पनि भारतबाट कन्ट्रयाक्टर आएको बताए । ‘भारतबाट कन्ट्रयाक्टर आएसँगै स्थानिय प्रशासनसहितको मिटीङ राखिएको थियो,’ उनले भने ‘ कन्ट्रयाक्टरहरुलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा मिटीङमा छलफल भएको छ ।’ पहिलो चरणको इआईए (वातावरण प्रभाव मूल्याङ्कन) पास भइसकेको छ । दोस्रो चरणको इआईए तयारी हुदै गरेको उनको भनाइ छ । निगमका अनुसार केही महिनाअघिबाटै पाइप लाइनको काम सुरु भइसकेको हो । प्रारम्भिक सर्बे समेत भइसकेको छ । उक्त पाइपलाइन तथा भण्डारण गृह निर्माणका लागि आवश्यक ३३.६ हेक्टर जमिन आवश्यक छ । आपूर्ति मन्त्रालयका अनुसार परियोजनाको लागि पाइपलाइनको लम्बाइ ७२ किमि कायम गरिएको छ । केही महिना अघि वनमन्त्रलय र निगमबीच रुख काट्ने सम्बन्धमा समस्या उब्जिएको थियो । उक्त समस्या समेत हल भइसकेको प्रवत्ता गोईतले जानकारी दिए । उनका अनुसार इण्डियन आयल कर्पोरेसनले पाईप बिच्छ्याउनको लागि काम सुरु गरिसकेको हो । नेपालले सम्पूर्ण तयारीको काम पूरा गरिसकेको अवस्थामा भारतले ३० महिनाभित्र पाइपलाइनको सबै काम सक्ने दावी गरेको उनको भनाइ छ । निगमका अनुसार २०१५ अगष्ट २४ मा नेपाल र भारतबीचमा रक्सौल अमलेखगञ्ज पाइपलाइन विच्छ्याउने सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त परियोजनाका लागि २ अर्ब ७५ करोड भारु लाग्ने बताइएको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थको माग र आपूर्ति बढेकोले ठूलो परिमाणमा ल्याउन पाइपलाइनको निर्माण गर्न लागेको निगमले जनाएको छ । पाइपलाइन निर्माण भएपछि रक्सौलमा हुने जामको सास्ती हट्ने, तेल ल्याउँदा हुने ढुवानी भाडा बचत हुने लगायत फाइदा हुने बताइएको छ । निगमले पाइपलाइन निर्माण भएपछि एकैपटक प्रतिघण्टा ३ लाख लिटरको दरले तेल मुलुकमा भित्रिने बताएको छ । साथै एक दिनमा ३० लाख लिटर पेट्रोलियम पदार्थ आउनेछ । जसबाट प्रत्येक दिन तेल आयातको लागि प्रयोग हुने २५ हजार लिटर डिजल बचत हुनेछ । उक्त डिजलको माध्यमबाट करिब ५० करोड रुपैयाँको बचत हुने निगमको भनाइ छ । त्यस्तै ट्याङ्करलाई लिँदै आएको ढुवानी भाडा बापत ७० करोड रुपैयाँ बचत हुने छ ।
नेपालले युएईलाई जित्यो
काठमाडौं । नामेवियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत तेस्रो खेलमा नेपालले प्रतिद्धन्द्धी युएईलाई ४ विकेटले पराजित गरेको छ । युएईले दएको ११५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २८.५ ओभरमा पुरा गरेर जित हात पारेको हो ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ५१ रन बनाउदै अर्धशतक प्रहार गरे । टस हारेर ब्याटिङ गरेको युएईले ३१ ओभरमा सबै विकेट गुमाउदै ११४ रन बनाएको थियो । नेपालको यो दोस्रो जित हो ।