आर्थिक गतिविधि बढाउने मौद्रिक नीति आवश्यक : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताए । बजेट र मौद्रिक नीतिको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाई गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए । ढकालले बजेट स्क्रिप्ट अनुसार कार्यन्वयन हुनुपर्ने बताएका छन् । उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भैसकेको बताए । सरकारले बजेटमा हवाई टिकटमा लगाएको भ्याट लगायतका विषयमा हटाउन सुझाव दिएपनि कार्यन्वयन नभएको बताए । आगामी दिनमा सुझाव कार्यन्वयन हुने विश्वास व्यक्त गरे ।
हरित उद्यमलाई बजार देऊ : सांसदसँग युवाको आग्रह
काठमाडौं । हरित अर्थतन्त्र र नीतिगत व्यवस्था सम्बन्धी युवाहरूले सांसदहरूसँग संवाद गरेका छन् । जलवायु परिवर्तनले समाज र वातावरणमा परिरहेका असरलाई न्यूनिकरण गर्ने भूमिकामा काम गरिरहेका युवाहरूले सांसदहरूसँग संवाद गरेका हुन् । बागमती प्रदेशका ७ जिल्लाका युवा सञ्जाल गठन काम गरिरहेका युवाहरूले काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । उनीहरू प्लाष्टिकको झोलालाई निशेध गर्न कपडाको झोला उत्पादन गर्नेदेखि दुनाटपरी बनाउने काम गर्दा पनि बजार नपाउँदा समस्या भएको गुनोसो गरेका थिए । हामीले वातावरणलाई मध्यनजर गर्दै वातावरण र हावापानी सुहाउँदो उत्पादन गर्दा पनि बजार पाउन समस्या भएको छ, अब सांसदहरूले हाम्रो कामलाई प्रोत्साहन मिल्नेगरी नीति बनाइदिनुपर्यो भन्दै सांसदलाई प्रश्न गरेका थिए । युवाहरूको जवाफमा सांसदहरूले युवाहरूलाई सहज हुने गरी नीति निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । युवाहरू देश छोडिरहेको बेला आफ्नै ठाउँमा वातावरणलाई मध्यनजर गर्दै काम गरिरहेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बोल्दै सांसद शेर बहादुर कुँवरले युवाहरूले गरेको काम प्रंशसनिय भएको बताए । युवाहरूले पर्यावरणलाई ध्यान दिँदै गर्दै सुरु गरेको व्यासलाई बजारसम्म पुर्याउन चुनौती भए पनि प्रयास जारी राख्न आग्रह गरेका थिए । सुरुमा बजार नपाएको सामाग्रीले एक दिन अवश्य बजार पाउने भन्दै निराश नहुन आग्रह गरे । उनले अब वातावरणलाई असर पार्ने भन्दा असर नपार्ने सामग्री प्रयोग गर्न नागरिकलाई सूचित गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर बहादुर थापाले युवाहरू विद्यालयलाई प्लास्टिक प्रयोगमा बन्देज गराउने काममा सरिक भएको खुसी व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य सांसदहरूले युवाहरूले उठाएको कुरा गम्भिर र जाहेज रहेको भन्दै नीति बनाउन सरकारलाई दवाव दिने प्रतिवद्धता व्यक्त गरेका थिए । सिविस नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी युवाहरूले आवश्यक नीति र उत्पादनलाई बजारीकरण गर्न सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।
५०–५० हजार राशिको नाफिजका तीन पत्रकारिता पुरस्कार सुवेदी, थापा र बस्न्यातलाई
काठमाडाैं । ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डुडटकमकी सरला सुवेदीलाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार काठमाडौंमा पुरस्कार वितरण समारोह आयोजना गर्दै सुवेदीलाई ५० हजार राशिको पुरस्कार प्रदान गरेको हो । यस्तै, ५० हजार राशिकै ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ टक्सार म्यागजिनका रविबहादुर थापालाई प्रदान गरिएको छ । यो दुई पुरस्कारका लागि नाफिजले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनसँग सहकार्य गर्दै आएको छ । पुरस्कार वितरण समारोहमा फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले भरतमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्र पुर्याएको योगदानको चर्चा गरिन् । यो पुरस्कारले आर्थिक पत्रकारितालाई थप प्रोत्साहन गर्ने उनको भनाइ छ । यस्तै, ५० हजार रुपैयाँ राशिको निर्जीवन बिमा व्यवसायी संघ–नाफिज बिमा पत्रकारिता पुरस्कार रेडियो सगरमाथाकी उर्वशी बस्न्यातलाई प्रदान गरिएको छ । यो पुरस्कारका लागि नाफिजले निर्जीवन बिमा व्यवसायी संघसँग सहकार्य गर्दै आएको छ । कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र मल्लले यो पुरस्कारले पत्रकारलाई बिमा पत्रकारितामा थप प्रोत्साहन मिल्ने बताए । यस्तै, उनले बिमा क्षेत्रमैत्री नीति ल्याउनुपर्नेमा पनि जोड दिए । नाफिजले यी तीनवटै पुरस्कार खुला प्रतिस्पर्धामार्फत प्रदान गरेको हो । जुरी कमिटीका सदस्य तथा नाफिज सल्लाहकार राजेन्द्र रिमालले प्राप्त आवेदनका आधारमा शुक्रबार विशेष समारोहबिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीनवटै पुरस्कार प्रदान गरेका हुन् । नाफिजले यही अवसरमा नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालसँगको सहकार्यमा बजेट र मौद्रिक नीति समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम पनि गरिरहेको छ।
मौद्रिक नीति १२:२० बजे सार्वजनिक हुने, टेलिभिजन, युटुब र फेसबुकमार्फत लाइभ हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति १२:२० बजे सार्वजनिक गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै मौद्रिक नीति १२:२० बजे राष्ट्र बैंकको युटुब च्यानल र फेसबुक पेज तथा नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने घोषणा गरेको हो । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नेछन् । आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले मौद्रिक नीतिलाई पारित गरिसकेको छ । बोर्डले मौद्रिक नीति पारित गरेपछि गभर्नर पौडेलले आजै १२:२० बजेका लागि मौद्रिक नीति सार्वजनिक गर्ने समय तोकेका हुन् ।
विद्युतको खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखेका हौं : अर्थमन्त्री पौडेल
काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै बजेट मार्फत नेपालको उर्जा खपत बढाउनको लागि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरेको बताएका हुन्। मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयन समेत जिम्मेवारी रहेको बताए । आगामी वर्षको बजेट कार्यान्वयनको तयारी गरिरहेको बताए। बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि स्पष्ट पारेसंगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन् ।
सचिव पुष्करको प्रश्न : ठूला बडाका सन्तानहरू उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने ?
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताए । यो भाष्य ठूला बडाहरुले फैलाउने गरेको उनको भनाइ छ । ठूला बडाका सन्तानहरु विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ? भन्दै प्रश्न गरे । शोसकहरुले आर्थिक अवस्था कमजोर रहेका सोझा, साझा जनताहरुलाई शासन गर्ने संयन्त्रका रुपमा नभइ षड्यन्त्रका रुपमा लिने गरिएको जानकारी दिए । उनले भने, ‘एउटा गलत न्यारेटिभ्स नेपालमा के देखिएको छ भने श्रम आप्रवासन, पलायन, पलायन, पलायन भन्ने गरिएको छ । तर हाम्रा रोजगार नपाएका नागरिकहरु साउदी, कतार, दुबई, मलेसियामा गएर काम गर्दा पलायन भएको हुन्छ ? शोसकहरुले एउटा सोझा, साझा, इकोनोमिक सेक्सनका विक रहेको मान्छेहरुलाई शासन गर्ने संयन्त्रको रुपमा होइन, षड्यन्त्रको रुपमा लिएका छौँ । त्यसैले ठूलाबडाहरु जहिले पनि वैदेशिक रोजगारलाई पलायन भन्छ ।’ उनले अध्यागमनको तथ्यांकअनुसार करिव ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको बताए ।
विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, अटो लोन खुकुलो बनाउँदा हुन्छ : नरबहादुर थापा
काठमाडौं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति पर्याप्त छलफलपछि आउनु पर्नेमा छापामार शैलीमा ल्याउन लागेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौद्रिक नीति दीर्घकालीन प्रभाव हेरेर ल्याउनु पर्ने बताएका हुन् । अर्धवार्षिक समीक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन टु भ्यालु रेसियोलाई पुरानै अवस्थामा पुर्याउन माग गरेका छन् । नेपालको ब्यालेन्स अफ पेमेन्ट पर्याप्त हुँदा अटो लोनको विषयमा खुल्ला गर्दा फरक नपर्ने बताए । ‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरू भइरहेको समयमा साउन पहिलो हप्ता आउने गरेकोमा छिट्टै आउन लागेको देखिन्छ,’ थापा भन्छन्,‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन् । नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन् ।’ नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालको सहकार्यमा भएको कार्यक्रममा थापाले सरकारले सवारी साधनमा बढी कर लगाउँदा मुद्रास्फीति नबढे पनि लागत नै बढी हुँदा छिमेकी मुलुकको तुलनामा महँगो रहेको बताए । नेपालमा अटो एसेम्बल उद्योग, स्पेयर पार्टस्का उद्योग स्थापना भइरहेको बताए ।
झ्याप्लेखोला पुनःनिर्माणको ८० प्रतिशत काम सम्पन्न, पहिरो नियन्त्रणमा नयाँ प्रविधि
धादिङ । नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत झ्याप्लेखोलामा गत वर्ष असोज १२ गते गएको विनाशकारी पहिरो सडक निर्माणका कारण नभई माथिबाट गरिएको अव्यवस्थित जग्गा प्लटिङका कारण गएको निर्माण कम्पनीले स्पष्ट पारेको छ । पहिरो नियन्त्रणको काम जारी रहेको स्थलगत निरीक्षणका क्रममा निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले पहिरोको मुख्य कारण र हाल भइरहेका प्रयासबारे जानकारी दिएका हुन् । चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुनले संयुक्त निर्माण गरिरहेको यो सडकको पहिलो खण्ड लगभग ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । यद्यपि, पहिरो र अन्य प्रणालीगत समस्याका कारण आयोजनाले ढिलाइ व्यहोरिरहेको छ । पहिरोको कारण के थियो ? घिमिरेका अनुसार पहिरोको मुख्य जड सडक निर्माण नभई करिब २००/३०० मिटर माथि गरिएको जग्गा प्लटिङ थियो । 'प्लटिङ व्यवसायीहरूले माटो जथाभावी फाल्दिनुभयो,' उनले भने, 'जब भारी वर्षा भयो, त्यही माटो लेदो बनेर बग्दै आयो र सानो कल्भर्ट थुनियो ।' कल्भर्ट थुनिएपछि निकास नपाएको पानी र लेदोको विशाल भेलले सडकभन्दा तलको कमजोर भूभागमा बगेर विनाशकारी रूप लिएको थियो । यो क्षेत्र पहिले पनि कमजोर रहेको र २०५० सालतिर पनि पहिरो गएको उनले जानकारी दिए । 'यो पहिरो हाम्रो निर्माण कार्यले गर्दा आएको होइन, यो पूर्ण रूपमा माथिको प्लटिङको अव्यवस्थित कार्यले निम्त्याएको हो,' घिमिरेले भने । हाल झ्याप्लेखोलामा के काम भइरहेको छ ? पहिरो गएपछि सडक विभागले पुनः डिजाइन र अनुमान गरेर यसको रोकथामको जिम्मा सोही निर्माण कम्पनीलाई दिएको छ । हाल पहिरो रोकथामका लागि विभिन्न तहमा काम भइरहेको छ । ग्याबिन पर्खाल पहिरोको तल्लो भागमा ग्याबिन पर्खाल लगाउने काम तीव्र गतिमा भइरहेको छ, जुन आगामी ८(१० दिनमा सकिने आयोजनाले जनाएको छ । पहिरोले बनाएको गल्छीहरूमा माटो र लेदो छेक्न ‘ब्याम्बो क्रिब वाल’ (बाँसको पर्खाल) लगाइनेछ । हलुका र ढुवानीमा सहज हुने भएकाले बाँस प्रयोग गरिएको र पछि गएर यो आफैं झाङ्गिएर दिगो हुने घिमिरेले बताए । आरसीसी पर्खाल र माइक्रो पाइलिङस् सडकलाई नै क्षति पुर्याएको सबैभन्दा माथिल्लो भागमा माइक्रो पाइल र एङ्कर रडसहितको आरसीसी पर्खालजस्ता नयाँ प्रविधि प्रयोग गरेर सडकलाई सुरक्षित बनाइनेछ । किन भयो निर्माणमा ढिलाइ ? घिमिरेले नेपालमा निर्माण आयोजनाहरू ढिला हुनुमा तीनवटा प्रमुख प्रणालीगत समस्या रहेको औंल्याए। सरकारी निकायबीच समन्वयको अभाव, विशेषगरी सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच पोल सार्ने जस्ता विषयमा समन्वय हुन नसक्दा काम रोकिने गरेको छ । वन क्षेत्रको स्वीकृति सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि स्वीकृति लिने प्रक्रिया अत्यन्तै लामो र झन्झटिलो छ । निर्माण सामग्रीको अभावले यो आयोजनाका लागि सबैभन्दा ठूलो चुनौती निर्माण सामग्रीको व्यवस्थापन रहेको छ । 'यस क्षेत्रमा निर्माण सामग्री पाइँदैन, सबै ढुङ्गा र गिट्टी महादेवबेँसीबाट ल्याउनुपर्छ,' उनले भने । उनले स्थानीय तहबाट खानी सञ्चालनको ठेक्का प्रक्रियामा हुने ढिलाइ र तत्कालीन गृहमन्त्री रवि लामिछानेको कार्यकालमा देशैभरका क्रसर उद्योग बन्द गर्ने निर्णयले आफ्नो आयोजना एक वर्ष पछि धकेलिएको बताए । 'काम गर्नका लागि स्रोत-साधन भए हामीले २१ दिनमा साढे तीन किलोमिटर सडक कालोपत्रे गरेका थियौँ,' उनले भने, 'तर निर्माण सामग्री र अन्य प्रक्रियागत अवरोधले गर्दा चाहेर पनि समयमा काम सकिँदैन ।' निर्माण सामग्रीको सहज आपूर्ति र सरकारी प्रक्रियामा सरलता भए मात्र राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन सक्ने उनको भनाइ भनाइ छ ।