विकासन्युज

कुमारी बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई १० लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ । श्रीमती खुमा पौडेलका श्रीमानको दुर्घटनामा परी निधन भएपछि बैंकमा बीमा दाबी प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले पौडेललाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो । बैंकले उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास व्यक्त गरेको छ । कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउने बैंकको भनाइ छ । बैंकका अनुसार यस्ता सुविधाले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनेछ । साथै, यसले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत सेवा दिइरहेको जनाएको छ । बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ पहुँच विस्तार गर्दै विभिन्न निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ  ।

पत्रकार किशोर श्रेष्ठलाई म्याद थप गर्न लैजाँदै प्रहरी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लैजाने तयारी गरेको छ ।  जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले श्रेष्ठलाई म्याद थप गर्नका लागि अहिले डकुमेन्टेन्सनको काम भइरहेको जानकारी दिए ।  ‘उहाँलाई आज म्याद थप गर्न लैजानैपर्छ,’ उनले भने ।  बुधबार साँझ ललितपुरस्थित निवास छेउबाट श्रेष्ठ पक्राउ पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डकमका प्रधान सम्पादक पनि हुन् ।  श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ ।  प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाएको हो ।  उनलाई परिसरको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डटकमका अध्यक्ष हुन् ।

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य बिहीबार तोलामा ५ सय रुपैयाँले घटी ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सुनको मूल्य हिजो पनि तोलामा १ हजार २ सय रुपैयाँले घटी ३ लाख ६ हजार ७ सय कायम भएको थियो ।   त्यसैगरी, आज चाँदीको मूल्य भने थोरै बढेको छ । तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  गत वर्षको माघमा सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । 

गरिमा समृद्धि योजनाको एक्टिङ सीईओमा अशोक सुवेदी नियुक्त

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले गरिमा समृद्धि योजना (जीएसवाई) को प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको ९४औँ बैठकले अशोक सुवेदीलाई एक्टिङ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईसँग भएको सेवा सम्झौता साउन मसान्तमा समाप्त हुने भएकाले त्यसको नवीकरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीको निरन्तर व्यवस्थापन तथा दैनिक कारोबार सञ्चालन कायम राख्न सुवेदीलाई एक्टिङ सीईओको जिम्मेवारी दिइएको हो । सुवेदी यसअघि कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनलाई भदौ १ गतेदेखि लागू हुने गरी एक्टिङ सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । गरिमा क्यापिटल गरिमा समृद्धि योजना (जीएसवाई) को योजना व्यवस्थापक (फन्ड म्यानेजर) का रूपमा कार्यरत छ । को हुन् उनी अशोक सुवेदीले चार्टर्ड एकाउन्टेन्सीमा व्यावसायिक डिग्री तथा वाणिज्यशास्त्रमा स्नातक तहको शिक्षा हासिल गरेका छन् । उनीसँग बैंकिङ तथा पुँजी बजार क्षेत्रमा ६ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । उनले चार्टर्ड एकाउन्टेन्ट संस्था देवेन्द्र के. जैन एन्ड एसोसिएट्समा ३ वर्ष इन्टर्नका रूपमा आफ्नो करियर सुरु गरेका थिए । सो अवधिमा उनले बजारको गतिशीलता तथा कार्यप्रणालीबारे महत्वपूर्ण अनुभव हासिल गरेका थिए । गरिमा क्यापिटल लिमिटेडमा आबद्ध हुनुअघि उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेका छन् । उनले तत्कालीन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड) तथा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक (हाल कुमारी बैंक लिमिटेड) लगायतका संस्थामा समेत कार्य गरेका छन् । 

हर्मुज नखोल्ने इरानी अडान, अड्कियो वार्ता

काठमाडौं । इरान र अमेरिकाबीच खाडी क्षेत्रमा जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने विषयमा सहमति जुटाउने प्रयासमा अझै पनि मतभेद कायम रहेको एक वरिष्ठ इरानी स्रोतले जनाएको छ ।  उनका अनुसार जुनमा भएको अन्तरिम सम्झौतालाई पुनर्जीवित गर्ने र त्यसका प्रतिबद्धता कार्यान्वयन गर्ने समयसीमा तय गर्ने विषयमा भइरहेको वार्तामा कुनै प्रगति भएको छैन । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताविरुद्ध पुनः कडा टिप्पणी गरेको समयमा आएको हो ।  मंगलबार यस क्षेत्रमा पानीजहाजमाथि नयाँ आक्रमण भएका थिए, जसले संकट समाधानको आशामाथि थप धक्का पुगेको छ । जुनमा भएको सम्झौताले सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको थियो । तर सम्झौता चाँडै नै संकटमा परेको थियो ।  ट्रम्पले जुलाई ७ मा सम्झौता ‘समाप्त भइसकेको’ बताएका थिए भने त्यसको एक सातापछि इरानको विदेश मन्त्रालयले सम्झौता ‘स्थगित’ भएको घोषणा गरेको थियो । अमेरिकाले सम्झौताअनुसार इरानले महत्त्वपूर्ण सामुद्रिक मार्ग होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै आएको छ । तर तेहरानले अमेरिकाले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको बताएको छ इरानका अनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता पूरा गरेको छैन । इरानी स्रोतले रोयटर्ससँग भनेको छ, ‘मध्यस्थमार्फत छलफल भइरहेको विषयमध्ये एउटा अमेरिका अन्तरिम सम्झौतामा फर्किने र प्रतिबद्धता कार्यान्वयनका लागि समयसीमा तय गर्ने विषय हो। यस विषयमा बिल्कुलै प्रगति भएको छैन ।’ ट्रम्पले बुधबार अमेरिकाले होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरेका छन् । तर इरानले जलमार्ग व्यवस्थापनका लागि स्थापना गरेको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले भने जलमार्ग अझै अवरुद्ध रहेको र इरानका सर्त स्वीकार नभएसम्म पुनः नखोलिने जनाएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरानलाई लक्षित गर्दै ‘इरान कुरा मात्रै गर्छ, काम गर्दैन’ भन्दै मध्यपूर्वको ‘दादागिरी’ अब नरहेको टिप्पणी गरेका छन्। यस द्वन्द्वका क्रममा ट्रम्पले कहिले युद्ध थप चर्किने चेतावनी दिँदै आएका छन् भने कहिले शान्ति सम्झौता नजिकै पुगेको दाबी गर्दै आएका छन् । ६० दिनको समयसीमा बढाउने विषयमा छलफल नै छैन फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि जारी द्वन्द्वमा मुख्यतः इरान र लेबनानमा हजारौं मानिसको मृत्यु भएको बताइएको छ । इरानले ओमान, जोर्डन, कुवेत, इजरायल, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायत देशमा रहेका अमेरिकी सम्पत्ति तथा पूर्वाधारलाई समेत निशाना बनाएको छ । जुनमा भएको अन्तरिम युद्धविराम सम्झौतामा ६० दिनको समयसीमा तोकिएको थियो । आपसी सहमतिमा यो अवधि थप गर्न सकिने व्यवस्था थियो । यस अवधिभित्र इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकाले लगाएका प्रतिबन्ध हटाउने विषयमा अन्तिम सम्झौता गर्ने अपेक्षा गरिएको थियो । तर इरानी स्रोतले बुधबार टर्कीको अनादोलु समाचार एजेन्सीले दिएको एउटा रिपोर्टलाई अस्वीकार गरेको छ । उक्त रिपोर्टमा पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै ६० दिनको अवधि थप गर्न सहमति भएको उल्लेख गरिएको थियो । इरानी स्रोतले रोयटर्ससँग भनेको छ, ‘समयसीमा थप गर्ने विषयमा कुनै छलफल भएको छैन, किनभने इरानको दृष्टिकोणमा सुरु भएको कुनै अवधि नै छैन, त्यसैले थप गर्ने प्रश्न पनि आउँदैन । अमेरिकाले अन्तरिम सम्झौता भएको ४८ घण्टामै त्यसको उल्लंघन गरेको थियो र केही दिनपछि सम्झौताबाट बाहिरिएको थियो ।’ हर्मुज जलडमरूमध्यमा तनाव इरान र ओमानबीच तथा पर्सियन गल्फको प्रवेशद्वारमा रहेको साँघुरो हर्मुज जलडमरूमध्य युद्धअघि विश्वको कुल कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौं हिस्सा ओसारपसार हुने प्रमुख समुद्री मार्ग थियो । युद्ध सुरु भएयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको थियो, जुन युद्धअघिको स्तरभन्दा करिब ७५ प्रतिशत बढी हो । खाडी क्षेत्रबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता र शान्तिवार्तासम्बन्धी बदलिँदो संकेतका कारण तेल बजारमा उतारचढाव जारी छ । मंगलबार छुट्टाछुट्टै घटनामा पानीजहाजमाथि आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ । घटनापछि बुधबार तेलको मूल्य सुरुमा बढे पनि पछि केही स्थिर भएको थियो । सन् २०२६ मा विश्वव्यापी तेलको मागबारे गरिएको अनुमान घटाइएपछि पनि बजारमा उतारचढाव देखिएको छ । बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ८८ डलर र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य करिब ८३ डलरको आसपास कारोबार भइरहेको थियो । (रोयटर्सबाट अनुदित तथा सम्पादित) इरानी मिसाइल हमलाको डरले ट्रम्पले चुपचाप बदलेका थिए विमान हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासँग राख्यो चार सर्त

देशैभर एकैसाथ लन्च भयो पञ्च ईभी, ३२ लाख ९९ हजारमै पाइने

काठमाडौं । टाटाको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘पञ्च ईभी’ नेपालमा सार्वजनिक भएको छ । काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च भएसँगै पञ्च ईभी देशभरका आधिकारिक शोरुमबाट एकसाथ सार्वजनिक गरिएको हो । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पञ्च ईभी सार्वजनिक गरेको हो । पञ्च ईभी बिर्तामोड, विराटनगर, इटहरी, मधेस प्रदेश, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीका आधिकारिक शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको उत्साह बुकिङमै देखिएको बताए । उनका अनुसार बुकिङ भएका सुरुवाती मोडलसहितका गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी दिइनेछ ।  ३२ लाख ९९ हजारमै खरिद गर्न सकिने नयाँ पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन् । एक्स्पो अफरअन्तर्गत बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ । कम्पनीका अनुसार यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि लागू हुनेछ ।

नेपाल एसबीआई बैंकको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त

काठमाडौं । नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा रहेका वेंकट वंसीधर कुंचाको स्थानमा चान्दनालाई मनोनयन गरिएको हो । भारतीय स्टेट बैंकले चान्दनालाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको बैंकले जनाएको छ । यसैअनुसार बैंकको सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले चान्दनालाई सञ्चालकमा नियुक्त गरेको हो । सोही बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा समेत चयन गरेको बैंकले जनाएको छ । यसअघि बैंकको सञ्चालक समितिमा भारतीय स्टेट बैंकका प्रतिनिधिका रूपमा वेंकट वंसीधर कुंचा रहेका थिए । अब उनको स्थानमा चान्दनाले जिम्मेवारी सम्हाल्ने भएका छन् ।

माण्डु हाइड्रोको दुई आर्थिक वर्षको लाभांश घोषणा, सेयरधनीले २२.५२ प्रतिशत पाउने

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ ।  कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट कुल २२.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले करसहित १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश दिनेछ । यसैगरी, आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर रहेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश विद्युत् नियमन आयोग तथा कम्पनीको आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।