अमेरिकी डलरको भाउ निरन्तर उकालो, कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । शनिबारका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा , बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकको एटीएमबाट पैसा निकाल्न पाउने

काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकको एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटीएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ ।  बैंकलाई वालेटदेखि एटीएम कारोबारको प्रणालीलाई एकापसमा जोड्नका लागि उक्त सम्झौता गरिएको बैंकको भनाइ छ । सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक रूपमा अधिकतम २५ हजार रुपैयाँ नगद निकाल्न सकिनेछ ।  नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटिएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताए ।  ‘नबिल बैंक प्रविधिको अधिकतम उपयोग गरी ग्राहकलाई सहज रूपमा सेवा प्रवाहका लागि प्रतिबद्ध छ, सोहीअनुसार खल्तीसँग सम्झौता भएको हो,’  उनले भने, ‘नयाँ सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झट पनि हट्नेछ । नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रूपान्तरणमा नबिल बैंकको प्रतिबद्धता अझ बलियो हुनेछ ।’  खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणका लागि महत्त्वपूर्ण प्रयास भएको बताए ।  यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले सहज रुपमा नगदको आवश्यकता पूरा गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा लिनका लागि खल्ती वालेटका प्रयोगकर्ताले सबैभन्दा पहिले खल्ती वालेटमा भएको कार्र्डलेस विथड्रलमा रहेको नबिल कार्डलेस विथड्रलमा गएर आफूले निकाल्न चाहेको रकम भर्नुपर्नेछ । त्यसपछि उक्त विवरण पुष्टि गरेपछि प्रयोगकर्ताले मोबाइलमा ओटिपी नम्बर प्राप्त गर्नेछन् ।  त्यसपछि प्रयोगकर्ताले बैंकको एटिएम स्क्रिनमा रहेको कार्डलेस विथड्रलमा जानुपर्नेछ । त्यसमा रहेको वालेट अप्सनमा मोबाइल नम्बर राख्नुपर्नेछ । साथै मोबाइलमा प्राप्त ओटिपी राखेपछि आफूले वालेटमा प्रविष्ट गरेको रकम एटिएम स्क्रिनमा प्रविष्ट गरेपछि नगद निकाल्न सकिनेछ ।  यो सुविधा जुनसुकै समयमा पनि उपलब्ध हुनेछ । विशेष गरी एटिएम कार्ड नभएको अवस्थामा सहज रुपमा नगद निकाल्नका लागि यो उत्तम विकल्प हुने बैंकले जनाएको छ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

वार्षिकोत्सवलाई समाजसेवामा रूपान्तरण गर्दै ग्लोबल आइएमई बैंक, देशव्यापी रूपमा १९ कार्यक्रम आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।  नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित यो संस्थाले विगतका वर्षहरूमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसरमा पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरू अगाडि सारेको हो । गत वर्ष १८औं वार्षिकोत्सवका अवसरमा बैंकले मानवीय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार बिरुवाहरू रोप्ने कार्यक्रम घोषणा गरेको थियो ।  गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरूको सहकार्यमा वातावरण संरक्षण, जीवीकोपार्जन तथा आयआर्जनमा उपयोगी करिब २१ हजार बिरुवा रोपण गरेको थियो । १९औं वार्षिकोत्सवका अवसरमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानवीय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिँदै दुर्गम क्षेत्र, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरू देशव्यापी रूपमा सञ्चालन गर्नेछ ।   यी कार्यक्रमहरू मध्ये ग्लोबल आइएमई स्वस्थ नारी पहल एक महत्त्वपूर्ण कार्यक्रम हो । जसअन्तर्गत बैंकले सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।  शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिनेछ ।  यसरी शिविरको क्रममा प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिनेछ ।  विगत पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन् । त्यसैगरी, बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ ।  गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यो कार्यक्रमले पैसाको अभावमा उपचार नपाएका दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरूको आँखाको समस्याको उपचारमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।  यसका साथै बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीहरूको आँखा जाँच गरी आवश्यक चस्मा निःशुल्क रुपमा वितरण गर्नेछ ।  त्यसैगरी, बैंकले सात वटै प्रदेशमा स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरी गरिब तथा न्यून आय भएका समुदायलाई स्वास्थ्य सेवा पु¥याउनेछ ।  यसका साथै, जटिल तथा दीर्घ रोगका विरामीहरुको उपाचारको लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा बैंकले जटिल रोगको उपचारमा निश्चित रकम सहयोग प्रदान गरिनेछ । शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेन्दार छात्राहरूलाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ जनासहित छात्राहरूमा विस्तार हुनेछ ।  दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, १,००० जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचारको तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू पनि समावेश छन् ।  त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्याथीलाई एमफिल तथा पीएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिनेछ । वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कूल कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाई तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।  रक्तदान कार्यक्रम मुख्य सहरहरूमा आयोजना गरिनेछ भने आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गरिनेछ ।  सूचना प्रविधिको विकास र आधुनिक प्रविधिको अबलम्बनसँगै बालबालिकाहरूमा देखा परेको अटिजमको बारेमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई आवश्यक सहयोग प्रदान गरिनेछ ।  त्यसैगरी, स्वस्थ र अनुशासित युवा जनशक्ति निर्माण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदाय तथा विद्यालयमा खेलकुद सामग्री वितरण गर्ने छ ।  साथै बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्नेछ । यस  उद्यमशाला कार्यक्रमअन्तर्गत गरिब तथा न्यून आय भएका व्यक्तिहरुलाई व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गर्नेछ।  बैंकले आफ्ना ३५२ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै अधिकतम जनसंख्यालाई बैंकिङ प्रणालीमा समावेश गर्ने कार्यक्रमहरुको आयोजना गर्नेछ ।  यी सबै पहलले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पु¥याउने र दीर्घकालीन विकासमा योगदान दिने अपेक्षा गरिएको छ ।  ग्लोबल आइएमई बैंकले यसरी वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर नेपालको बैंकिङ क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ । बैंकका कार्यक्रमहरुमा मुलुकका सातवटै प्रदेशलाई समेट्ने गरी गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई समावेश गरिनेछ । यो प्रयासले स्वास्थ्य, शिक्षा तथा वातावरणीय जागरणमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ ।