विकास बैंकको खुद नाफा साढे ३ अर्ब रुपैयाँ, ३ वटा अझै घाटामा

काठमाडौं । ६ महिनामा विकास बैंकहरूको खुद नाफा साढे ३ अर्ब रुपैयाँ आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा १६ वटा विकास बैंकले ३ अर्ब ४३ करोड ४२ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो गत वर्षको तुलनामा ३४.४३ प्रतिशत अर्थात् ८७ करोड ९७ लाख २२ हजार रुपैयाँ बढी हो । गत वर्षको पुसमा विकास बैंकहरूले २ अर्ब ५५ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। समीक्षा अवधिमा मितेरी डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा मितेरी बैंकको १२०.२५ प्रतिशत बढेर ५ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ५८ लाख ८१ हजार रुपैयाँ नाफा गरेको थियो ।  यस अवधिमा सबैभन्दा धेरै नाफा भने मुक्तिनाथ विकास बैंकले गरेको छ । मुक्तिनाथ विकास बैंकको ३३.५७ प्रतिशत बढेर ६७ करोड २० लाख ४० हजार रुपैयाँ नाफा गरेको हो । यो नाफा विकास बैंकहरूमा सबैभन्दा धेरै हो । गत वर्षको पुस मसान्तमा बैंकको नाफा ५० करोड ३१ लाख २२ हजार रुपैयाँ नाफा गरेको थियो । लुम्बिनी विकास बैंकको ९३.३२ प्रतिशत बढेर २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको २६.०३ प्रतिशत बढेर १ करोड १० लाख २ हजार रुपैयाँ, ज्योति विकास बैंकको २४.४४ प्रतिशत बढेर ३१ करोड १२ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  कामना सेवा विकास बैंकको २२.३४ प्रतिशत बढेर ३९ करोड ४५ लाख ५० हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २२.१९ प्रतिशत बढेर ४० करोड ४२ लाख ८० हजार रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकको २०.५१ प्रतिशत बढेर १ करोड २९ लाख ४२ हजार रुपैयाँ, गरिमा विकास बैंकको १५.६३ प्रतिशत बढेर ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६.४१ प्रतिशत बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  समीक्षा अवधिमा एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा धनात्मक रहेको छ । एक्सेलको ८ करोड ८५ लाख ३६ हजार रुपैयाँ र सप्तकोशीको २ करोड ६८ लाख २० हजार रुपैयाँ नाफा गरेका छन् । गत वर्षको पुसमा एक्सल ९ करोड ५ लाख ३५ हजार रुपैयाँ र सप्तकोशी २ करोड ९९ लाख १७ हजार रुपैयाँ नोक्सानीमा थिए ।  समीक्षा अवधिमा विभिन्न ३ बैंक नोक्सानीमा रहेका छन् । पुस मसान्तसम्ममा सिन्धु विकास बैंक १ करोड ५४ लाख ६८ हजार रुपैयाँ, सालपा विकास बैंक १ करोड ४ लाख १ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंक ४ करोड ७३ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा छन् । 

पोर्शेबाट मुक्त भएपनि फक्सवागनमा ‘डु अर डाइ’ को अवस्थामा ब्लुमे

काठमाडौं । फक्सवागनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमे यस वर्ष निर्णायक परीक्षामा रहेको लगानीकर्ताहरू बताउँछन् । चीनमा घट्दो बजार हिस्सेदारी रोक्नसक्ने र प्रतिस्पर्धीहरूसँगको प्रविधि अन्तर कम गर्न सक्ने क्षमता प्रमाणित गर्नु नै जर्मन अटोमोबाइल कम्पनीको सफल पुनरुत्थानका लागि अनिवार्य तत्व मानिएको छ । स्पोट्र्स कार डिभिजन पोर्शे संकटमा परेपछि जनवरीदेखि फक्सवागन र पोर्शे दुवैको सीईओको दोहोरो भूमिका त्याग्न बाध्य भएका ब्लुमेले समूह सीईओका रूपमा पाँच वर्षे करार विस्तार गर्दै विश्वासको मत भने प्राप्त गरे ।  ब्लुमेको कार्यकालमा कम्पनीहरूको संयुक्त बजार मूल्य करिब ४८ अर्ब युरो (५६ अर्ब डलर) ले घटिसकेको छ । यसले ठूलो क्षति बेहोरेका लगानीकर्ताहरू अब देखिनेगरी नतिजा चाहिरहेका छन् । समय बित्दै जाँदा उनीहरूको धैर्य पनि खस्कँदै गएको छ । रोयटर्सले साना सेयरधनीदेखि लिएर शीर्ष १० ठूला फन्डसम्मका छ जना लगानीकर्तासँग कुरा गर्दा सबैको एउटै धारणा देखियो— ब्लुमेमाथि विश्वको दोस्रो ठूलो कार उत्पादक फक्सवागनलाई पुनर्जीवित गर्ने उनको रणनीति वास्तवमै काम गरिरहेको छ भन्ने ठोस प्रमाण देखाउने दबाब बढ्दो छ । सीईओ ओलिभर ब्लुमे । तीन दशकदेखि फक्सवागनसँग जोडिएका ब्लुमेले सेप्टेम्बरमा म्युनिख कार शोमा चुनौती स्पष्ट पारेका थिए । ‘अटोमोबाइल उद्योगमा दशकौंदेखि मनाइँदै आएको पार्टी अहिलेको स्वरूपमा सकिएको छ,’ उनले भनेका थिए, ‘अब पुनःअभिमुखीकरणको समय आएको छ ।’  ब्लुमेले चीनमा बिक्री पुनर्जीवित गर्न स्थानीय कम्पनीहरूसँग सहकार्य गर्दै ‘इन चाइना, फर चाइना’ रणनीतिमा दाउ लगाएका छन् । विश्वकै सबैभन्दा ठूलो कार बजार चीनमा जहाँ फक्सवागनले कुनै समय वर्चस्व जमाएको थियो । पश्चिमी बजारका लागि तयार पारिँदै गरिएको कम्पनीको भावी सफ्टवेयर प्लेटफर्म घाटामा चलिरहेको क्यालिफोर्नियाली ईभी निर्माता रिभियनसँगको उच्च जोखिमयुक्त संयुक्त लगानीमै टेकेको छ । गत साता सार्वजनिक गरिएको अपेक्षाभन्दा राम्रो २०२५ को नगद प्रवाह (क्यास फ्लो) ले ५७ वर्षीय ब्लुमेका प्रयास सही दिशामा छन् भन्ने आशा बढाएको छ । तर साना सेयरधनीहरूको प्रतिनिधित्व गर्ने ९ हजार सदस्यीय संस्था एसडीकेका मार्क लिब्शरका अनुसार ब्लुमेको गल्ती गर्ने सम्भावना झन् साँघुरिँदै गएको छ । ‘उनीमाथिको दबाब अत्यन्त ठूलो छ,’ उनले रोयटर्सलाई भने, ‘अहिले ब्लुमे अत्यन्त कठिन बजार वातावरणमा आफ्ना प्रारम्भिक दाबीहरू प्रमाणित गर्न बाध्य छन् ।’ लगानीकर्ताहरूका अनुसार फक्सवागनले कुनै समय अर्बौं युरो कमाएको चीन बजार ब्लुमेले तत्कालै पुनःजित्नैपर्छ । २०२४ मा फक्सवागनलाई बीवाईडीले उछिनेको थियो भने गत वर्ष अर्को स्थानीय प्रतिस्पर्धी जिलीपछि तेस्रो स्थानमा झरेको छ । पोर्शे र अडी ब्रान्डहरू पनि संघर्षरत छन् । यो गिरावट ब्लुमे सीईओ बन्नुअघि नै सुरु भएको भए पनि शाङ्घाईबाट इन्जिनियरिङमा पीएचडी गरेका ब्लुमेले अन्ततः समस्यालाई सम्बोधन गर्न थालेको भन्दै केही लगानीकर्ताले श्रेय दिएका छन् । ‘अहिलेसम्म उनले गरेका कामहरू आशाजनक छन्,’ शीर्ष २० फक्सवागन लगानीकर्तामध्येका युनियन इन्भेस्टमेन्टका मोरिट्ज क्रोननबर्गले भने । फक्सवागनले प्रमुख प्रविधि र सवारी विकास चीनमै सारिसकेको छ जसले विकास प्रक्रिया छिटो बनाउने र चिनियाँ उपभोक्ताको रुचिअनुसार उत्पादन उपलब्ध गराउने कम्पनीको दाबी छ । ब्लुमे चीनमा बनेका थप गाडी विदेश निर्यात गर्ने सम्भावनामा पनि छन्, यद्यपि कम्पनीको सबैभन्दा ठूलो बजार युरोप भने हालका लागि यस योजनाबाट बाहिर छ । शाङ्घाई अटाे शाे- २०२५ मा राखिएकाे पाेर्शे जीटीथ्री । चीनमा बनेका गाडी वा पार्टपुर्जाको आयात विस्तार गर्न शक्तिशाली जर्मन श्रमिक प्रतिनिधिहरूको स्वीकृति आवश्यक पर्ने एक कम्पनी स्रोतले रोयटर्सलाई बताएको छ । दुई वर्षभन्दा कम समयअघि जर्मनीमा ३५ हजार रोजगारी कटौती गर्न सहमति दिएको वर्क्स काउन्सिलले यसमा कडा विरोध गर्न सक्ने सम्भावना छ । ब्लुमेले चिनियाँ व्यवसायको समस्या चिनेको देखिए पनि यस्ता अवरोधहरूले केही लगानीकर्तालाई चिन्तित बनाएको छ । ‘यो अझै समस्या पहिचानमै सीमित छ, समाधानमुखी देखिँदैन,’ शीर्ष १० लगानीकर्तामध्येका डीडब्ल्यूएसका हेन्ड्रिक स्मिटले भने । पश्चिमका लागि ब्लुमेको ५ अर्ब डलरको सफ्टवेयर दाउ फक्सवागनको चीनमा देखिएको संकटले परम्परागत अटो इन्जिनियरिङमा अग्रणी कम्पनी सफ्टवेयरप्रधान युगमा पछि पर्दै गएको बुझाउँछ ।  ‘आइफोन आएको झन्डै २० वर्ष हुन लाग्यो,’ एसडीकेका लिब्शरले भने, ‘फक्सवागनले आफ्नै सफ्टवेयर समाधान विकास गर्न नसक्नु लज्जास्पदका साथै चकित पार्ने कुरा हो ।’ आन्तरिक सफ्टवेयर इकाइ क्यारियाडमा वर्षौंदेखिका समस्यापछि ब्लुमेले बाह्य सहयोग लिँदै रिभियनसँग ५ अर्ब डलरको संयुक्त लगानी गरेका हुन् । उनीहरू फक्सवागनका परम्परागत पश्चिमी बजारमा बेचिने भविष्यका उन्नत मोडेलका लागि नयाँ इलेक्ट्रोनिक प्लेटफर्म विकासमा सहकार्य गरिरहेका छन् । भविष्यका मोडेलका लागि नयाँ सफ्टवेयर प्रणालीको परीक्षण निर्णायक चरणमा छ, जसमा थप लगानी निर्भर रहने जनाइएको छ ।  विगतमा सफ्टवेयर ढिलाइकै कारण सीईओ हटाइएकाले पनि यो विषय फक्सवागनका लागि अत्यन्त संवेदनशील बनेको छ । अहिले सेयरधनी परिवारहरूको समर्थन भए पनि नेतृत्वले ठोस नतिजा देखाउनुपर्ने दबाब कायमै छ ।

बैंकहरूको नाफा साढे ३० अर्ब रुपैयाँ, कुमारीले ८८६.५० प्रतिशत बढायो, नबिलको सबैभन्दा धेरै

काठमाडौं । वाणिज्य बैंकहरुले ६ महिनामा साढे ३० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा गरेका हुन् ।  यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११.५० प्रतिशत अर्थात् ३ अर्ब १५ करोड ६९ लाख रुपैयाँ बढी हो । गत वर्षको पुसमा बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको पुसमा सबैभन्दा धेरै नाफा कुमारी बैंकको वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासमा कुमारी बैंकको ८८६.५० प्रतिशत बढेर २ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो ।  चालु आवको ६ महिनामा नेपाल बैंकको १८३ प्रतिशत बढेर १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ, सिद्धार्थ बैंकको  १ अर्ब ३२ करोड ६६ लाख ५३ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशत बढेर १ अर्ब ७७ करोड ५ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  यस्तै, पुस मसान्तमा नबिल बैंकको ४६.७० प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल नम्बर वान बनेको छ । गत वर्षको पुसमा नबिलको नाफा ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ थियो ।  समीक्षा अवधिमा माछापुच्छ«े बैंकको ११ करोड ११ लाख ७३ हजार रुपैयाँ, सानिमा बैंकको १६.६७ प्रतिशत बढेर १ अर्ब ३९ करोड १० लाख ७५ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको १४.५५ प्रतिशत बढेर १ अर्ब ३ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, प्राइम बैंकको ९.२७ प्रतिशत बढेर २ अर्ब ४ करोड ३३ लाख ७८ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६.५० प्रतिशत बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको २.०४ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा गरेका छन् ।  समीक्षा अवधिमा विभिन्न ८ बैंकको नाफा घटेको छ । सिटिजन्स बैंकको ४५.७७ प्रतिशत घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ४३.०४ प्रतिशत घटेर १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ, कृषि विकास बैंकको २६.१२ प्रतिशत घटेर ७० करोड ७४ लाख २६ हजार रुपैयाँ, प्रभु बैंकको २४.०७ प्रतिशत घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  एनएमबि बैंकको १७.७१ प्रतिशत घटेर १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.२८९ प्रतिशत घटेर १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ, हिमालयन बैंकको १४.८८ प्रतिशत घटेर १ अर्ब २९ करोड २६ लाख ८१ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको १३.५३ प्रतिशत घटेर १३ करोड ११ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् ।  तर, समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक रहेको छ । पुस मसान्तमा लक्ष्मी सनराइजको नाफा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।