६ लाख घुस लिएको आरोपमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले दुवै कर्मचारीले आपसी मिलेमतोमा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर खड्काले पुलको पुनःडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा पुलको डिजाइन, पुनःडिजाइन, तेस्रो पक्षबाट प्रमाणीकरण तथा भुक्तानी प्रक्रियासम्बन्धी काम सम्पन्न गर्न दुवै कर्मचारीले मिलेमतो गरेको खुलेको अख्तियारले जनाएको छ । ठेक्कासम्बन्धी काम सम्पन्न भएपछि पेस गरिएको बिलको रकम भुक्तानी गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेर लिएको अनुसन्धानबाट स्थापित भएको आयोगको दाबी छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरेको छ । आयोगले ६ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ । उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

विशेष अदालतमा गोल्छाको बयान लिइँदै

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि शेखर गोल्छा विशेष अदालत पुगेका छन् ।  मंगलबार (आज) गोल्छा विशेष अदालतमा बयानका लागि हाजिर भएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा यति बेला उनको बयान चलिरहेको छ ।  गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, सुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ ।  सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । त्यसैगरी, भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ।  त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ ।

देउवा समूहको भेलामा बद्री पाण्डे नजाने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री बद्री पाण्डे साउन २९ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको संस्थापनइतर समूहको भेलामा सहभागी नहुने भएका छन् । वरिष्ठ नेता डा. शेखर कोइराला भने उक्त भेलामा सहभागी भएर सम्बोधन गर्ने निश्चित भइसके पनि कोइराला समूहकै नेता पाण्डेले भेलामा सहभागी नहुने स्पष्ट पारेका हुन् । पाण्डेले आफू विगतदेखि नै पार्टीभित्रका कुनै पनि समूह वा गुटले आयोजना गर्ने छुट्टाछुट्टै भेला तथा कार्यक्रममा सहभागी नभएको बताए । त्यसैअनुसार साउन २९ गतेदेखि आयोजना हुने भेलामा पनि आफू सहभागी नहुने उनको भनाइ छ । विकास न्यूजसँग कुरा गर्दै पाण्डेले भने, ‘म कुनै समूहको भेला र कार्यक्रममा जाने गरेको छैन । त्यसैले २९ गते हुने भेलामा पनि जाँदिनँ ।’ वरिष्ठ नेता डा. कोइराला भने आफ्नो राजनीतिक धारणा राख्नका लागि उक्त फोरममा सहभागी हुनु उपयुक्त हुने पाण्डेको धारणा छ । पार्टीभित्र फरक विचार र दृष्टिकोण राख्ने नेताहरूले आफ्ना कुरा राख्ने अवसरलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । तर, आफू भने कांग्रेसलाई समूहगत विभाजनबाट बाहिर निकालेर एकीकृत र सग्लो पार्टी निर्माण गर्ने अभियानमा रहेको पाण्डेले बताए । पार्टीभित्र अहिले देखिएको गुटगत गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने भन्दै उनले सबै पक्षलाई एकताको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पाण्डे कुनै समूह विशेषको गतिविधिमा सहभागी हुनुभन्दा पार्टीको समग्र एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने पक्षमा छन् । त्यसैले पार्टीभित्रको पूर्ण एकतापछि आयोजना हुने भेलामा मात्र आफू सहभागी हुने उनले बताए । ‘मेरो प्राथमिकता कांग्रेसलाई एकीकृत र सग्लो बनाउने हो । पूर्ण एकतापछिको भेलामा मात्रै म सहभागी हुन्छु,’ पाण्डेले भने । नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना हुने भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, विशेष महाधिवेशनसँग जोडिएका विषय तथा आगामी रणनीतिबारे छलफल गर्ने तयारी छ । भेलामा संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहने नेताहरूले बताएका छन् । उक्त भेलालाई पूर्वसभापति देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पाण्डे भने आफू कुनै गुट वा समूहको भेलामा सहभागी नहुने पुरानै अडानमा कायम रहेको बताएका छन् । उनले पार्टीभित्र देखिएका मतभेदको समाधान समूहगत शक्ति प्रदर्शनबाट नभई संवाद र एकताबाट खोजिनुपर्ने धारणा राखेका छन् ।