यी हुन् सुनसरी घटनामा मृत्यु भई घोषणा गरिएका चार शहिद

काठमाडौं । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सरकारले प्रदर्शनका क्रममा ज्यान गुमाएका उनीहरूलाई सहिदको सम्मान दिने निर्णय गरेको हो ।

शेखर गोल्छाले बयानमा के–के भने ?

काठमाडौं । सेयर ‘कर्नरिङ’ तथा मिलेमतोमा सेयर कारोबार गरेको आरोप लागेका प्रतिवादी शेखर गोल्छाले आफूले कुनै कसुर नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेका छन् । मंगलबार (आज) बयानका लागि इजलाससमक्ष उपस्थित गोल्छाले अनुसन्धान अधिकारी र अदालतलाई दिएको बयानमा हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षका रूपमा आफूले कुनै कार्यकारी अधिकार प्रयोग नगरेको बताएका छन् ।  कम्पनीको तर्फबाट व्यावसायिक प्रयोजनका लागि कति रकम कहाँ परिचालन भयो भन्ने विषय कार्यकारी तहको जानकारीको विषय भएको उनले बयानका क्रममा उल्लेख गरेका छन् । गोल्छाले आफ्नो भूमिका कार्यकारी प्रकृतिको नभएको स्पष्ट पार्दै आफूलाई सेयर ‘कर्नरिङ’ गरेको तथा दीपक भट्टलगायतका प्रतिवादीसँग मिलेमतो गरेको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । उनले आफूले कुनै सेयर खरिद–बिक्रीसमेत नगरेको बयान दिएका छन् । ब्रोकर नम्बर ५५ लाई पठाइएको ५२ करोड ५० लाख रुपैयाँ भने प्रतिवादी सुलभ अग्रवालको विश्वासमा परेर बैंकिङ माध्यमबाट पठाएको उनको दाबी छ । बजारको अवस्था अनुकूल नभएको र थप जोखिम हुनसक्ने महसुस भएपछि आफूले सेयर कारोबार नगर्ने मनसाय बनाएर उक्त रकम फिर्ता मागेको गोल्छाले बयानमा उल्लेख गरेका छन् । अरू व्यक्तिले कति सेयर खरिद गरे वा नगरेको विषयमा आफूलाई कुनै जानकारी नभएको पनि उनले बताएका छन् । सुलभ अग्रवालसँग सेयर कारोबार गर्ने विषयमा कुनै कम्पनीको सेयर ‘कर्नरिङ’ गर्ने वा मिलेमतोमा कारोबार गर्ने आफ्नो मनसाय नरहेको उनको जिकिर छ ।   आफूमाथि लगाइएको आरोप पुष्टि हुने कुनै आधार नरहेको दाबी गर्दै गोल्छाले अभियोगपत्रबमोजिम आफूलाई सजाय दिनुपर्ने अवस्था नरहेको बताएका छन् ।  आफ्नो कुनै सेयर जफतसमेत गर्नुपर्ने अवस्था नरहेको भन्दै उनले अदालतसमक्ष आरोपदाबीबाट सफाइ माग गरेका हुन् । गोल्छाले बयानका क्रममा आफूले अभियोगमा उल्लेख गरिएका कसुर नगरेको भन्दै आरोपदाबी पूर्ण रूपमा इन्कार गरेका छन् । गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

अब एम्बुलेन्स र शव वाहनमा कर छुट

काठमाडौं । सरकारले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनलाई कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै विद्युतीय एम्बुलेन्स तथा शव वाहन आयात वा उत्पादन गर्दा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र भ्याटमा पूर्ण छुट हुनेछ। निर्णयले स्वास्थ्य तथा सामाजिक सेवाका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।