लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौं, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई, चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरको सब्जीमण्डबाट दुई, सप्तरीको तिरहुत गाउँपालिका-२ बडहराबाट दुई, कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाट दुई तथा पर्साको वीरगज महानगरपालिका-१४ गण्डक चोकबाट दुई जना पक्राउ परेका छन् ।  त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट, बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट, गोदावरी नगरपालिका-११ गौडीबजारबाट र कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट एकरएकजना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

काठमाडौं । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व संकलन गरेको हो ।  गत आवको सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो । समीक्षा अवधिमा भ्याट, अन्तःशुल्क भन्सार महसुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शीर्षकमा भने सरकारले राजश्व सोचेअनुसार उठाउन सकेको छैन ।  अर्थ मन्त्रालयका अनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजश्व उठाउन सकेको छैन ।  आयकरतर्फ फागुनसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ । गत आवको फागुनसम्म भने १ खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो । गत आवको फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख ब्याज कर संकलन भएको थियो । जबकि चालु आवमा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ ।  भन्सार महसुल चालु आवको फागुन मसान्तसम्ममा  १ खर्ब ५५ अर्ब ९० करोड संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब ५३ करोड संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।  सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो ।  आठ महिनामा कति भयो खर्च ? सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब २६ अर्ब कुल बजेट खर्च गरेको छ । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो ।  चालुतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये  सरकारले ६ खर्ब ४२ अर्ब खर्च गरेको छ । यता विकास बजेट भने सरकारले खर्च गर्न सकेको छैन ।  पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेटमध्ये सरकारले ७८ अर्ब खर्च गरेको छ  ।  सार्वजनिक ऋणको सावा ब्याजसहितको दायित्व व्यवस्थापनमा सरकारले ३ खर्ब ७५ अर्ब बजेट छुट्याएकोमा हालसम्म २ खर्ब ५ अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि सरकारलाई ऋण व्यवस्थापनमा चुनौती थप्दै गएको छ । 

श्रम संस्कृति पार्टीले चयन गर्‍यो समानुपातिक सांसद

काठमाडाैं। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । आइतबार (आज) धरानमा बसेको पार्टी बैठकले समानुपातिक प्रणालीअन्तर्गत चयन गरिने उम्मेदवारहरूको नाम तय गरी निर्वाचन आयोगमा सिफारिस गरेको भोजपुरबाट निर्वाचित सांसद ध्रुव राईले जानकारी दिए । राईका अनुसार समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट उम्मेदवार चयन गरिएको छ । सिफारिस गरिएकामध्ये आदिवासी जनजाति समूहबाट पूर्णप्रसाद लिम्बू, खस आर्य समूहबाट अम्बिकादेवी सङ्ग्रौला, दलित समूहबाट राधिका रम्तेल र मधेसी समूहबाट रुवीकुमारी ठाकुर रहेका छन् ।