ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३५४ रुपैयाँ मात्र
काठमाडौं । बुधबार ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३७१ रुपैयाँ रहेको थियो ।
गुरु न्यौपानेको जफत गरिएको २ करोड १९ लाखको सेयर लिलामी कात्तिक २१ गते
काठमाडौं । जनता बैंकले सञ्चालक गुरुप्रसाद न्यौपानेबाट जफत गरेको साधारण सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले जफत गरेको ८५ हजार १ कित्ता साधारण सेयर खरिदका लागि बोलपत्र पेश गर्ने भनेको छ । हाल जनता बैंकको सेयर प्रति कित्ता २५८ रुपैंयाँमा कारोबार भैरहेको छ । सोही मूल्यलाई आधार मान्दा न्यौपानेसँग जफत गरिएको ८५ हजार १ कित्ता सेयरको मूल्य २ करोड १९ लाख हुन आउँछ । बैंकले कात्तिक २१ गतेलाई लिलामीको मिति तोकेको छ । न्युनतम मूल्य भन्दा बढी दर प्रस्ताव गर्नेलाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत सुशासन विपरित खरिद गरेको शेयर जफत गर्न निर्देशन दिएको थियो । न्यौपानेले जनता बैंकको संञ्चालक रहेकै बेला श्रीमती सुमित्रादेवीका नाममा शेयर किनेको भेटिएपछि राष्ट्र बैंकले सबै शेयर जफत गर्न निर्देशन दिएको हो । न्यौपानेकी श्रीमति सुमित्राको नाममा रहेको ५२ हजार ४७० कित्ता, त्यसबाट प्राप्त बोनस र हकप्रद शेयरसमेत जफत गरेको थियो । नेपालको कर्पोरेट इतिहासमा सेयर जफत भएको पहिलो घटना हो । न्यौपाने बैंक सञ्चालक रहेका बेला श्रीमती सुमित्रादेवीको नाममा ५२ हजार ४७० कित्ता सर्वसाधारण दोस्रो बजारबाट खरीद गरेका थिए । त्यसपछि ५० प्रतिशत हकप्रदबाट २६ हजार २३५ कित्ता र १२ प्रतिशत बोनसबाट ६ हजार २९६ कित्ता गरी न्यौपानेको कुल शेयर संख्या ८५ हजार १ कित्ता पुगेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ । आफनै फटाइले गर्दा न्यौपानेले २ करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम गुमाएका छन् ।
प्रुडेन्सियल इन्स्योरेन्सको कात्तिक १७ गतेदेखि बुक क्लोज
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आगामी कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यस इन्स्योरेन्स आगामी मंसिर १ गते वार्षिक साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि कम्पनीले १५ दिनसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्नको लागि कम्पनीको बैठकले मंसिर १ गते वार्षिक सधारणसभा बोलाएको हो ।