५ कम्पनीले नविकरण शुल्क बुझाएनन, सेयर कारोबार रोक्का

काठमाडौं । विभिन्न ५ कम्पनीले वार्षिक सुचिकरण नविकरण शुल्क नबुझाएपछि कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचिकृत मध्ये ५ कम्पनीको कारोबार एक सातादेखि रोक्का गरेको छ । कारोबार रोक्का भएका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, महिला सहयात्र माइक्रोफाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक र साझा विकास बैंकले शुल्क नबुझाएपछि कारोबार रोक्का गरिएको हो । शुल्क नबुझाएसम्म कारोबार रोक्का हुने नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले जानकारी दिए । शुल्क नबुझाएपछि नेप्सेले ४२ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । त्यसमध्ये १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो । धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो ।१९ वटा कम्पनीहरुले भने अघिल्ला वर्षदेखि नै सूचिकरण नविकरण गरेका छैनन् । उनीहरुको सेयर कारोबार पनि लामो समयदेखि बन्द छ । लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड, हिमालयन फाइनान्स लिमिटेड, अरुण बनस्पती उद्योग लिमिटेड, विराट शुज लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, फ्यूर हिमालयन लिमिटेड, गोरखकाली रवर उद्योग लिमिटेड, हरिसिद्धि ईटा तथा टायल कारखाना लिमिटेड, ज्योति स्पीनिङ मिल्स लिमिटेड, नेपाल विटुमिन तथा व्यारेल उद्योग लिमिटेड, भृकुटी कागज उद्योग लिमिटेड, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी लिमिटेड रहेका छन् ।  

प्रोग्रेशिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख एक हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले असोज ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएर ५९ करोड एक लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने अनुमति मागेको हो ।  बोर्डको अनुमति पाए पश्चात कम्पनीले सनराइज क्यापिटल मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको छ ।

सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई कात्तिक १ गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।