तिहार पछिको सेयर बजार हरियो, ३६ करोडको कारोबार

काठमाडौं । तिहार पछि लगत्तै खुलेको पहिलो दिनको सेयर बजार हरियो भएको छ । तीन दिन पछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक सामान्य ३.५७ अंकले उकालो लागेर १५७१.९२ अंकमा पुगेको छ । सो दिन ३६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी चिलिमे हाइड्रो पावरको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०६ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी हाइड्रो समूहको सेयर मूल्य १३ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूह,फाइनान्स र विकास बैंक समूहको पनि परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।

सोल्टी होटलले १५ प्रतिशत बोनस र ६ प्रतिशत नगद लभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले चुक्ता पुँजीको ६.०५ प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको ४३औँ वार्षिक साधारणसभा आगामी मंसिर २८ गते हुने भएको छ । सो प्रयोजनको लागि मंसिर ४ गतेदेखि मंसिर २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । उक्त पुँजीको ९ प्रतिशतका दरले ६६ करोड ५१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । बाेनस सेयर वितरणपछि बैंककाे चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने बैंकले जनाएकाे छ । साथै, चुक्ता पुँजीको ६ प्रतिशतका दरले ४४ करोड ३४ लाख रुपैयाँ नगद लभांश दिने भएको छ ।