४ दिनमै बिक्यो महालक्ष्मी विकास बैंकको ऋणपत्र

काठमाडौं । महालक्ष्मी विकास बैंक निष्काशन गरेको ‘११% महालक्ष्मी डिवेन्चर –२०८९’ चार दिनमै बिक्री भएको छ । बैंकले चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको डिबेन्चर तोकिएको समय अुनसार चार दिनमै बिक्री भएको हो । दश वर्ष अवधि तथा वार्षिक ब्याजदर ११ प्रतिशत भएको यस ऋणपत्र जम्मा एक अर्ब रुपैंयाँको ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो । इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरमा सर्किट

काठमाडाैं । पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार नौ सय २० कित्ता सेयर ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन् । होटल तथा पर्यटन समूह ४० दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह पाँच दशमलव ४३ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४९ दशमलव ६१ र लघुवित्त समूहको उपसूचक २० दशमलव ६५ अंकले घटेको छ । बैंकिङ समूह शून्य दशमलव ०१, विकास बैंक समूह १२ दशमलव २७, वित्त समूह छ दशमलव ८६, जलविद्युत् समूह दुई दशमलव ४९ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । त्यसैगरी, आज जीवन बीमा समूह ११ दशमलव ३०, व्यापार समूह १८ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ३६ अङ्कले घटेको छ । आल कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्य बढी घट्नेमा भने सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव ०५ प्रतिशतले घटेको छ । आज कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर सेयर पाँच करोड २६ लाख ३२ हजार बराबरको पाँच लाख १६ हजार कित्ता किनबेच भएको छ । रासस

नेष्डो लघुवित्तको लाभांश पारिमार्जन, तत्काल कार्यान्वन नगर्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत लाभांश वितरण गर्नुपर्ने भएको छ । नेष्डोले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । यद्दपि, राष्ट्र बैंकको निर्णयलाई तत्काल कार्यान्वन नगर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको उक्त निर्णय २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको बताएको छ ।