३० हजार बढीले पाए धौलागिरी लघुवित्तको आईपीओ, पौने लाख बढी आवेदन रद्द

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बुधबार बिहान सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको केन्द्रिय कार्यालयमा भएको हो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएकामध्ये ३० हजार ९ सय २९ जनालाई गोलाप्रथा विधिमार्फत ३ लाख ९ हजार २९० कित्ता सेयर बाँडफाँड गरिएको छ । उनीहरुले पहिलो लटमा १० कित्ताको दरले सेयर पाएका हुन् । र, बाँकी रहेको ५ कित्ता सेयर भने त्यसमध्ये पनि ५ जनाले थप एक एक कित्ताको दरले कूल ११ कित्ता सेयर पाएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १८ लाख ६४ हजार ६४० वटा आवेदन रितपूर्वक रहेको क्यापिटलले जनाएको छ । यससँगै ८७ हजार ८२० वटा आवेदन भने रद्ध भएको छ । लघुत्तिले साउन २४ गतेदेखि साउन २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।

खप्तड लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर निष्काशन गरेको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी १ लाख २३ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सक्ने छ्न् । उनीहरुले न्यूनतम १० कित्ता र अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यससँगै आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

मंगलबारको सेयर बजारः ‘टप गेनर’ र ‘टप ट्रनओभर’ दुबैमा हाइड्रो अगाडि

काठमाडौं । मंगलबारको बजारमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । सो दिन ‘टप गेनर’ र ‘टप ट्रनओभर’ दुबैमा हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेका छन् । दिनभरको कारोबारमा बढी कारोबार गर्नेको शीर्ष तीन स्थानमा हाइड्रो कम्पनी रहेका छन् । त्यस्तै, बढी प्रतिशतले सेयर मूल्य बढ्नेको सूचीमा पनि तीन वटै हाइड्रोका कम्पनी रहेका छन् । सबैभन्दा बढी कारोबार गर्नेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन १४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ३ रुपैयाँले घटेर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा रिडी र तेश्रोमा अपि पावर कम्पनी रहेका छन् । यी दुई कम्पनीको क्रमशः ७ करोड ६५ लाख र अपि पावरको ५ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । यी दुबैको सेयर मूल्य भने बढेर क्रमशः प्रतिकित्ता ६१५ र २७६.९० रुपैयाँ पुगेको छ । मंगलबारको बजारमा रुरु जलविद्युत परियोजना, मन्दाकिनी हाइड्रोपावर र अपर हेवा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १० प्रतिशतले बढेर ९०९.७० रुपैयाँ, ९.९९ प्रतिशतले बढेर ३८२ रुपैयाँ र ९.९७ प्रतिशतले बढेर ३०१.२० रुपैयाँ पुगेको छ । प्रतिशतको आधारमा सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्ड घटेको छ । अघिल्लो दिनको तुलनामा उक्त फण्ड ६.८८ प्रतिशतले घटेर प्रतिइकाई ८.९४ रुपैयाँमा झरेको छ । समग्रमा मंगलबारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ भने कारोबार रकम भने घटेको छ । परिसूचक ०.०९ प्रतिशतले बढेर २०५४.९८ अंकमा पुगेको छ । त्यस्तै, अघिल्लो दिन १ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार घटेर १ अर्ब ३३ रुपैयाँमा झरेको छ ।