सीआईटीको ३० प्रतिशत बोनस समायोजन हुँदा ६६५ रुपैयाँ घट्यो सेयर मूल्य
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (सीआईटी) को बोनस सेयर समायोजन भएको छ । नेप्सेमा कोषको ३० प्रतिशत बोनस सेयर समायोजन भएको हो । नेप्सले कोषको मंगलबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात् २ हजार २१४.६२ रुपैयाँ कायम भएको छ । मंगलबार कोषको अन्तिम कारोबार २ हजार ८७९ रुपैयाम भएको थियो । यस आधारमा कोषको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँले घटेको छ । कोषको मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको थियो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साउन २५ गते बुकक्लोज गर्ने भएकाले मूल्य समायोजन भएको हो । कोषले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत र १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोही लाभांश पारित गर्न भदौ ६ गते साधारण सभा बोलाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि खुल्ने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार सम्भवतः साउन २५ गते (भोलि) देखि खुल्ने भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार शुरु गरेको कम्पनीको सेयर कारोबार भोलिदेखि खुल्ने गरी अन्तिम तयारीमा पुगेको हो । इन्स्योरेन्सले दोश्रो बजारमा सेयर कारोबार खुलाउनको लागि कम्पनीको तर्फबाट सबै काम भइसकेको कम्पनीको प्रवक्ता धुर्व न्यौपानले बताए । ‘हामीले हाम्रो तर्फबाट सबै काम सम्पन्न गरिसक्यौं र नेप्सेमा पत्र पनि पठाइसकेका छौं,’ उनले विकासन्युजसँग भने । यता नेप्सेले पनि कम्पनीबाट चिठी पाइसकेको बताएको छ । ‘कारोबार खुलाउन इन्स्योरेन्सबाट चिठी आइसकेको छ, तर स्वीकृत भने पाइसकेको छैन, अब सीईओ सरबाट स्वीकृत भएपछि दोश्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्छ, सम्भवतः भोलि खुल्ला,’ उक्त श्रोतले विकासन्युजसँग भन्यो । नेपाली बीमा बजारमा पहिलो पटक मर्जरमा गएका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी । यी दुई कम्पनीले गत बैशाख २२ गते एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमति गरेका थिए । त्यसको भोलिपल्ट अर्थात बैशाख २३ गतेदेखि दुबैं कम्पनीको सेयर कारोबार रोक्का भएको थियो । हाल दुबै कम्पनीबीचको मर्जर प्रकृया सम्पन्न भइसकेको छ । र, साउन १ गतेदेखि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु भएको छ । एकीकृत कारोबार शुरु गरेको करिब एक महिना पछि दोश्रो बजारमा सेयर कारोबार खुल्ने भएको छ ।
अभियान लघुवित्तको आईपीओमा साढे २ अर्ब संकलन, ९१ हजार ३७५ ले १० कित्ता पाउने
काठमाडौं । अभियान लघुवित्तको आईपीओमा अन्तिम दिन मागभन्दा २९ गुणा बढी आवेदन परेको छ । लघुवित्तको आईपीओमा २० लाख ७९ ७८८ जनाले आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका अनुसार लगानीकर्ताले २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता सेयरका लागि २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद गरेका हुन् । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्नेछन् । आवेदन दिनएका बाँकी लगानीकर्ताको हात रित्तो हुने देखिन्छ । लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।