लगातार बढेको बजारमा सामान्य करेक्सन, तीन शीर्षकमा शिवमको अग्रता
काठमाडौं । बिहीबारको सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागेको बजारमा बिहीबार घटेर सामान्य करेक्सन देखिएको हो । बजारमा नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटी हो । बुधबारको तुलनामा बिहीबारको सेयर बजार पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ७३ करोडको सेयर कारोबार भएको बजारमा बिहीबार १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । बजार सामान्य अंकले बढ्नु या घट्नुले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ । उनीहरु आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । सम्भवतः मोद्रिक नीति साउन ६ गते शुक्रबार आउने प्रबल सम्भावना छ । बिहीबारको बजारमा शिवम् सिमेन्ट विभिन्न तीन शीर्षकमा अगाडि छ । कारोबार रकम, कारोबार कित्ता र कारोबार संख्याको आधारमा कम्पनी सबैभन्दा टपमा छ । कम्पनीको एकैदिन २ लाख २० हजार २ कित्ता सेयर १७ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त कारोबार १ हजार ६२४ पटकमा भएको हो । कम्पनीको सेयर मूल्य भने ७.१० रुपैयाँले घटेर प्रतिकित्ता ८०७.९० रुपैयाँमा झरेको छ । त्यसैगरी, बढी कारोबार गर्नेको दोश्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको एकैदिन ११ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार टप गेनरको शीर्ष स्थानमा सेन्ट्रल फाइनान्स कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर प्रतिकित्ता ३२६ रुपैयाँ पुगेको छ । बजारमा बैंकिङ्ग र अन्य समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । बैंकिङ्ग समूह २.२९ र अन्य समूह १६.५५ अंकले बढेका छन् ।
सात अर्ब २० करोडको आइपीओ बिक्री, पाइपलाइनमा पनि ७ अर्बकै
काठमाडौं । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण सेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण सेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् । त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो सेयर अकाण्ट खुलेको छ । कूलरुपमा आठ अर्ब ५८ करोड ४३ लाख ५८ हजार ६६९ कित्ता सेयर अभौतिकीकरण भएको छ । यसैगरी ३५ वटा म्युचुअल फण्ड र ५९ वटा बण्ड र डिवेञ्चर पनि सूचीकृत भएका छन् । धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८÷७९ मा मात्रै सात अर्ब २० करोडभन्दा बढीको साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न स्वीकृत दिएको छ । यसबाट पनि नेपालको सेयर बजार विस्तार भएर गएको देखिन्छ । बोर्डले कूल सात करोड २० लाख ३६ हजार ४२५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्रीका लागि स्वीकृत दिएको पाइएको छ । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीले पाए अनुमति बोर्डका अनुसार सो आवमा कूल २८ कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएकामा सबैभन्दा धेरै जलविद्युत् समूहका कम्पनी छन् । सेयर निष्कासनको अनुमति पाउनेमा १९ जलविद्युत् कम्पनी छन् । आर्थिक वर्ष २०७८/७९ को पहिलो अनुमति गत वर्षको साउन ११ गते न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर विक्रीका लागि अनुमति पारएको थियो । कम्पनीले कूल ४० लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । यस अवधिमा साहस ऊर्जाले १०० अङ्कित मूल्यका एक करोड पाँच लाख कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ लाख कित्ता, बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रीन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता, रिभरफल्स पावरको ३४ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएका थिए । सर्वसाधारण र आयोजनाले प्रभाव पार्ने क्षेत्रका स्थानीय बासिन्दाका लागि ती कम्पनीले शेयर बिक्रीसमेत गरी सकेका छन् । त्यस्तै विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ लाख कित्ता, दोर्दी खोला जलविद्युत् कम्पनीको २९ लाख ५१ हजार ९२९ कित्ता, हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ लाख सात हजार ५०० कित्ता, अप्पर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता, राप्ती हाइड्रोको २९ लाख ४१ हजार ४१० कित्ता सेयर बिक्री गर्न अनुमति पाएका थिए । बोर्डले श्वेत गङ्गा हाइड्रोपावरको ३९ लाख ८२ हजार ५०० कित्ता, सयपत्री हाइड्रोपावरको नौ लाख कित्ता, मन्दाकिनी हाइड्रोपावरको १७ लाख ६४ हजार ११० कित्ता, पिपल्स पावरको ३१ लाख कित्ता, रसुवागडी हाइड्रोपावर(सर्वसाधारणका लागि)को ६८ लाख ४२ हजार १०० कित्ता, सान्जेन जलविद्युत् कम्पनी (सर्वसाधारणका लागि)को ३६ लाख पाँच हजार, सिक्लेस हाइड्रोपावरको २० लाख कित्ता सेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा अधिकांश कम्पनीले सेयरको निष्कासन तथा बिक्री गरिसकेका छन् भने केही कम्पनी शेयर बिक्रीका लागि आह्वान गर्ने क्रममा छन् । जसमा स्वेत गङ्गा हाइड्रोपावरको सेयर बिक्री खुला भएको छ भने सयपत्री हाइड्रोपावर, सिक्लेस हाइड्रोपावरको र मन्दाकिनी हाइड्रोपावरको सेयर बिक्री हुने क्रममा छन् । लगानी समूहको एकमात्रै कम्पनीले पायो अनुमति गत आवमा लगानी समूहबाट इमर्जिङ नेपाल लिमिटेडले मात्र शेयर बिक्रीका लागि अनुमति पाएको छ । इमर्जिङले १०० अङ्कित मूल्यमा पाँच लाख ५५ हजार ६०० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले सेयर सर्वसाधारणलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । गत आवमा कूल २८ कम्पनीमध्ये आठ लघुवित्त कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएको बोर्डले जनाएको छ । जसमा नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाँच लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आठ लाख ५० हजार कित्ता, उपकार लघुवित्त वित्तीय संस्थाले दुई लाख ३६ हजार २५० कित्ता, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले तीन लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीका लागि अनुमति पाएका थिए । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले ६७ हजार कित्ता, धौलागिरि लघुवित्त वित्तीय संस्थाले तीन लाख ३१ हजार कित्ता र अभियान लघुवित्त वित्तीय संस्थाले नौ लाख ७५ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएका थिए । अनुमति पाएका अधिकांस लघुवित्त संस्थाले सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेका छन । लघुवित्त कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा सेयर बिक्री गर्न बाँकी छ । बोर्डबाट गत आवमा चार करोड ७८ लाख ७१ हजार ८८२ कित्ताको रु चार अर्ब ७८ करोड ७१ लाख ८८ हजार २९४ मूल्य बराबरको राइट सेयर जारी गर्न ११ कम्पनीले अनुमति पाएका थिए । सात अर्बभन्दा रकमका सेयर पाइपलाइनमा त्यस्तै धितोपत्र बोर्डका अनुसार सात अर्ब १० करोडभन्दा बढी रकमका सेयर निष्कासनको अनुमतिको प्रतीक्षामा छन् । जसमा दुई कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर बिक्री गर्न पाउँ भन्दै बोर्डसमक्ष माग गरेका छन् । सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति मागेका छन् । रासस
फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने
मान्म । फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । ‘स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन,’ उनले भने । आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए । आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ । आयोजनाका संरचना सो गाउँपालिकाको वडा नं १, २ र ३ मा बन्ने छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए । आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रहेको छ । आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले जानकारी दिए । हालसम्म ५० करोडभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ ।