राप्ती हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओ सोमबार बिहान बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि र २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४ लाख ९१ हजार ७२२ जना आवेदकले १ करोड ६२ लाख ७६ हजार ६१० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार ४२४ जनाको आवेदन रद्द भएको छ भने १४ लाख ९० हजार २१८ जना आवेदकको मात्रै सदर भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख १७ हजार ६९४ जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी १२ लाख ७४ हजार २८ जना आवेदकको हात रित्तो भएको छ । कम्पनीको आईपीको नतिजा सिदार्थ क्यापिटलको वेवसाइट, सिडिएससीको मेरो सेयरको वेवसाइट, सिडिएसले आईपीओको नतिजा हेर्न संचालनमा ल्याएको वेवसाइट र कम्पनीको वेवसाइटबाट हेर्न सकिन्छ ।
मन्दाकिनी हाइड्रोको आईपीओ खुल्यो, १ लाख कित्ता आवेदन दिन पाइने
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज (साउन ९ गते) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आजदेखि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन १२ गते र ढिलोमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नेप्सेमा नेपाल इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयर वापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।