१४५ कम्पनीको ६१ अर्ब रुपैयाँको बोनस सेयर दर्ता, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा एक वर्षको अवधिमा ६१ अर्ब रुपैयाँ बराबरको सेयर दर्ता भएको छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ६१ अर्ब ७९ करोड ४३ हजार १३१ रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको हो । बोर्डका अनुसार २०७८ साल साउन ३ गतेदेखि २०७९ अषाढ ३१ गतेसम्ममा १४५ कम्पनीको ६१ करोड ७९ लाख ४३१ कित्ता शेयर बोर्डमा भएको हो । कम्पनीहरुले आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा वितरण गरेको बोनस सेयर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ३३.८० प्रतिशत अर्थात् साढे १५ अर्ब रुपैयाँ बढी हो । यसअघि २०७७ साउन २ गतेदेखि २०७८ अषाढ २९ गतेसम्ममा १३४ कम्पनीको ४६ अर्ब १७ करोड ८१ लाख ३८ हजार ६६२ रुपैयाँ बराबरको ४६ करोड १७ लाख ८१ हजार ३८६ कित्ता बोसन सेयर दर्ता भएको थियो । गत वर्ष भने सबैभन्दा धेरै जीवन विकास लघुवित्तको बोनस सेयर दर्ता भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/०७८ मा ७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै, मञ्जुश्री फाइनान्स र नेशनल माइक्रोफाइनान्सले समान ४० प्रतिशत बोनस सेयर वितरण गरेका थिए । महिला लघुवित्तले भने ४७ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता भएको छ भने हिमालयन डिस्टिलरी कम्पनीले ७५ प्रतिशत बोनस दर्ता भएको हो । यसअघि आर्थिक वर्ष २०७६/०७७ मा भने जनउत्थान सामुदायिक लघुवित्तको ४९.४० प्रतिशत बोनस बोर्डमा दर्ता भएको देखिन्छ । गत वर्ष बोर्डमा ५० वटा माइक्रोफाइनान्स कम्पनी, २६ इन्स्योरेन्स कम्पनी, १२ वटा फाइनान्स कम्पनी, २५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ९ वटा हाइड्रोपावर कम्पनी गरी १४५ वटा कम्पनीको बोनस दर्ता भएको हो । [pdf id=340449]

श्वेत गंगा हाइड्रोको आईपीओ खुल्यो, कति दिने आवेदन ?

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन ८ गतेसम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोशेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीहरुका लागि र बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । कम्पनीको आईपीओमा छिटोमा साउन १७ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।