फूलबुट्टा भरेर आएको मौद्रिक नीति प्रभावकारी छैन : लगानीकर्ता पोखरेल
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई नेपाल पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले कोमाको अवस्थामा रहेको बजारमा मौद्रिक नीति सिटामोल मात्रै भएको आरोप लगाएकी छिन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई अध्यक्ष पोखरेलले यस्तो बताएकी हुन् । उनले ४/१२ को सेयर धितो कर्जा सीमालाई ४ हटाएर १२ यथावत राख्दा कसरी राम्रो भयो ? भनेर प्रश्न समेत गरेकी छिन् । ‘सेयर धितो कर्जाको सीमामा १२ करोड मात्र अचम्म, ४ करोडका दरले ३ बैंक धाउनु पर्नेमा झन्झट हटेर गए पनि अर्बाैको सेयर हुनेले के १२ करोडमै थान्को लाग्नु पर्ने हो र ?’ उनले भनिन्, ‘आफ्नो सम्पत्ति राखेर पनि पैसा लिन नपाइने ? ढिलो छिटो यो खारेज हुनै पर्छ । हाम्रो सम्पत्तिमा राष्ट्र बैंकले अंकुश लगाउन पाउँदैन ।’ उनले २५ लाखको ऋणमा जोखिम भार १०० प्रतिशतसम्म ठिक भएको तर साना लगानीकर्तालाई प्रोत्साहन गर्न खोजेको मान्नुपर्ने बताइन् । उनले मर्जर तथा एक्विजिसनमा जाँदा कारोबार नरोकिने भन्ने विषयलाई आफूहरूले उठाएको र सेयर लगानीकर्ताको लागी राम्रो भएको ठोकुवा गरेकी छिन् । मौद्रिक नीतिमा बैंकदर ७ प्रतिशतबाट १.५ प्रतिशत बढाएर ८.५ प्रतिशत पत्याउनु गलत भएको उनले बताइन् । उक्त व्यवस्थाले बैंकको मार्जिन कर्जाको ब्याज घट्न मद्दत नगर्ने दाबी गरिन् । सीडी रेसियो हटाएर सीसीडी कायम हुनुपर्नेमा त्यो नभएमा उनले आपत्ति जनाइन् । तर सीडी रेसियोमा २०८० असारसम्ममा ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गर्दा तरलताको चापलाई केही हदसम्म सहयोग गर्ने उनको बुझाई छ । समग्रमा मौद्रिक नीति फूलबुट्टा भरेर आएपनि खासै प्रभावकारी नभएको अध्यक्ष पोखरेलले बताइन् । सेयर बजारको लागि राष्ट्र बैंकको कसुवा नीति ज्यादिबिधि खुकुलो पनि आएको मान्न नसकिने उनको तर्क छ । तथापि राष्ट्र बैंकको नीति बजारलाई नियन्त्रण गरेर आफूले चाहेको बाटोमा हिँडाउन खोजेको प्रष्ट देखिएको बताइन् ।
सेयर बजारको लागि मौद्रिक नीति : साना लगानीकर्तालाई बढी फाइदा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारलाई राहात मिलेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका १३३ बुँदे मौद्रिक नीतिमध्ये विशेष गरी ३ वटा बुँदाले सेयर बजारलाई केही राहात मिल्ने जानकारहरू बताउँछन् । बजारका जानकार अनुसार बुँदा नम्बर ९८, ९९ र १०० ले सेयर बजारको लागि सकारात्मक रहेका छन् । जसमध्ये बुँदा नम्बर ९८ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ ।’ राष्ट्र बैंकले गरेको यो व्यवस्थाले मर्जर तथा एक्विजिशनको नाममा वर्षौंदेखि सम्बन्धित लगानीकर्ताको सम्पत्ति बन्धक हुने समस्या हट्ने सम्भावना बढी छ । यद्पि, सो व्यवस्था नेपाल धितोपत्र बोर्डमार्फत गरिने भनिएको छ । त्यसैगरी, एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिले ४ करोडको सीमालाई हटाएर अब एउटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्मको ऋण लिन पाउने व्यवस्था गरेको हो । उक्त व्यवस्था बुँदा नम्बर ९९ उल्लेख छ । ‘सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिनेछ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने ’ बुँदा नम्बर ९९ले भनेको छ । ‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।’ यसअघि उक्त सीमा १५० प्रतिशत थियो । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस् सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकाल यो वर्षको मौद्रिक नीतिले साना लगानीकर्ता तथा ऋणीलाई सहज हुने बताउँछन् । ‘गत मौद्रिक नीतिले कसेको सेयर बजारलाई यो वर्ष त्यस्तो भएन, कर्जाको जोखिम भार, धितो कर्जामा हटेको ४ करोडको सीमाले विशेष त साना लगानीकर्ता तथा साना ऋणीलाई सहज बनाएको छ र मर्जरमा गएका कम्पनीको कारोबार रोक्का हुने प्रावधान खारेज गरेको छ, अब पुसको समीक्षा कस्तो आउँछ, अहिलेलाई बजारलाई थोरै भएपनि राहात हुने खालको छ,’ उनले भने । नेपाल इन्भेष्टर्स फोरममा पूर्वअध्यक्ष छोटेलाल रौनियारले यो वर्षको मौद्रिक नीति लगानीकर्ताले खोजेको जस्तो नभएपनि समग्रमा ठिकै रहेको बताएका छन् । ‘मौद्रिक नीतिले बजारलाई राहात भयो,’ उनले भने ‘सेयरधितो कर्जामा ४ करोडको सीमा हटाइयो, साना लगानीकर्ताले लिने कर्जाको जोखिम भार २५ लाखसम्मको १०० प्रतिशतले गरेर त्योभन्दा बढी १५० प्रतिशत राखिएको छ र मर्जर तथा एक्विजिसनमा कारोबार नरोकिने नीति पनि राम्रो हो ।’ नयाँ मौद्रिक नीतिको बारेमा टीप्पणी गर्दै ब्रोकर्स एशोसिएशनका पूर्वअध्यक्ष नरेन्द्र सिजापति सामाजिक सञ्जालमा लेख्छन्, ‘आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले नीतिगत रुपमा सेयर बजारको साँढेको घाँटी र खुट्टामा बाधिएको दाम्लोमध्ये खुट्टाको दाम्लो खोलिएको छ, धन्यवाद !’
सेयरधितो कर्जामा ४ कराेडकाे नीति खारेज, अब १२ करोडको मात्रै सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोमा ४ करोडको सीमा नीति खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकल कर्जा सीमा खारेज गरेर १२ करोडको सीमा तोकेका हुन् । ‘सेयरधितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ’ गभर्नर अधिकारीले भने । शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ । तर शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए ।