लगानीकर्ताले पाँच दिनमै गुमाए १ खर्ब रुपैयाँ बढी सम्पत्ति

काठमाडौं । पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक ७३.२३ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार बिहिबार नेप्से ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा रोकिएको थियो । साताको पाँचौं दिन भएको कारोबारमा ७३.२३ अंकले ओरालो लागेर २ हजार ३७६.७४ विन्दुमा रोकिएको छ । यो साता नेप्से परिसूचकमा निकै ठूलो उतारचढाव आएको छ । मौद्रिक नीतिको समिक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से यो साता प्रचण्डको अभिव्यक्तिका कारण बजारमा धेरै विचलन आएको छ । गत शनिवार प्रचण्डले एक कार्यक्रममा सेयर बजार साम्राज्यबादको उन्नत रुप भएको टिप्पणी गरेका थिए । उनको उक्त टिप्पणी कै कारण साताको चार दिन बजारले गति लिन सकेन । तर, मंगलबार भने सेयर बजार ६ प्रतिशतले बढ्दा ४० मिनेटको लागि कारोबार नै बन्द भएको थियो । नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ८८.७० अंकले घटेर २ हजार ३६१.२७ विन्दुमा झरेको थियो । आइतबार ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकियो ।त्यस्तै सोमबार ७९.२३ अंकले घटेर नेप्से २ हजार २८२.०१ बिन्दुमा रोकिएको थियो । आइतबार २३ सय बिन्दुमा रोकिएको नेप्से सोमबार २२ सयको बिन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचकमा हरियाली छाएको थियो । प्रचण्डको भाषणपछि घटेको सेयर बजार मंगलबार ६ प्रतिशतले बढेर १ बजेर ३५ मिनेटमा नै कारोबार बन्द भएको थियो । मंगलबार १३७ अंकले बढेको थियो । यसरी नेप्से १३७ अंकले बढेर २ हजार ४१८ अंकमा उक्लिसकेको थियो । उक्त दिन १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार भने नेप्से परिसूचक ४.२३ अंकले घटेर २ हजार ४१४.६२ मा ओर्लिएको थियो । त्यस्तै,साताको अन्तिम कारोबारका दिन विहिबार पनि ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा झरेको छ । यो साता बजार पुँजीकरणका हिसाबले ५ दिनमा कगानीकर्ताले १ खर्ब २ अर्ब रुपैयाँ सम्पत्ति गुमाएका छन् । पछिल्लो एक सातामा लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्बले घटेर कुल बजार पुँजीकरण ३३ खर्ब ४१ अर्ब ४४ करोड रुर्पैयाँमा संकुचित बनेको छ । गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, प्रचण्डको अभिव्यक्तिका कारण आइतबार र सोमबार दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका थिए । ३४ खर्ब रहेको पुँजीबजार सोमबारको पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको थियो । नेप्से परिसूचकको बजार पुँजीकरण ४५ खर्ब रुपैयाँ पुगेको थियो । तर, पछिल्लो समय निरन्तर रुपमा बजार घट्दै अहिले ३३ खर्बमा सीमित भएको छ । पुँजी करिब ४५ खर्ब रुपैयाँ पुगेको बजारले यो बीचमा करिब १२ खर्ब रुपैयाँ गुमाइ सकेको छ । यसरी बजार निरन्तर रुपमा घट्दा सरकारले समेत अर्बौं रुपैयाँको राजस्व गुमाएको छ । करिव पाँच महिनादेखि सेयर बजार बियरिस ट्रेन्डमा रहेको छ । यसरी बियरिस ट्रेन्डमा रहेको बजारमा पछिल्लो एक सातामा माथिल्लो तहका व्यक्तिहरुको अभिव्यक्तिका कारण बजारमा पहिरो जान साथ दिएको देखिन्छ । नेताहरुले सेयर बजारको विषयमा भएका अभिव्यक्तिले गर्दा अहिले ४६ लाख सेयर लगानीकर्ता त्रसित बन्दै गएका छन् ।

एनसीसी बैंकले तोक्यो बुक क्लोज र साधारण सभाको मिति

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आगामी पुस १२ गते बुक क्लोज गर्दै छ । बैंकले वार्षिक साधारण सभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस ११ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको आर्थिक वर्ष २०७७/७६ को लाभांश पाउने छन् । बैंकले आफ्नो २४औं वार्षिक साधारण सभा आगामी पुस २९ गते बिहान ११ बजे काठमाडौंको बागबजारस्थित रहेको होटल हार्दिकमा गर्दै छ । सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

रिलायन्स फाइनान्सले घोषणा गर्यो चार वर्षयताकै उच्च लाभांश

काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै संस्थाले सो मात्राको लाभांश वितरण गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । प्रस्तावित १५.७९ प्रतिशत लाभांश अघिल्लो ४ वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६.५८, २०७४/७५ को नाफाबाट २.६३ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, संस्थाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट पनि सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।