कम्युनिष्टले राजनीति छिराए सेयर बजारमा, ओली बढाउने, प्रचण्ड घटाउने
काठमाडौं । गत शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजार सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रचण्डको सो अभिव्यक्ति अहिले सेयर बजारमा मात्रै सिमित छैन । राजनीतिक विषय नै बनेको छ । प्रचण्डले गत शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै पूँजी बजारलाई साम्राज्यवादीको विस्तारित रुप भन्दै औद्योगिक क्षेत्रमा जानुपर्ने पुँजी सेयर बजारमा गएकोप्रति चिन्ता पनि व्यक्त गरेका थिए । प्रचण्डको सो भनाई पुँजीबजारबाट बाहिर निस्केर राजनीतिक विषय बनेको छ । प्रचण्डाको अभिव्यक्तिलाई प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक लाभ प्राप्त हुने गरी प्रतिक्रिया दिएका छन् । ओलीले बुधबार प्रचण्डको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भनेका थिए– प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा दिएनछ, अनि सेयर बजार नै ध्वस्त पार्छु भन्दै अभिव्यक्ति दिए । ओलीले प्रचण्डलाई लेलिनभन्दा पनि जान्ने भएर बोलेको आरोप पनि लगाए । ‘लेनिनले पूँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए, प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए, त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन, कुन सेयर कारोबारीले चन्दा दिएन होला, अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए,’ ओलीले भनेका थिए । प्रचण्डको यस्तो अभिव्यक्तिपछि आइतबार सेयर बजारमा ठूलो गिरावट आएको थियो । प्रचण्डको अभिव्यक्तिपछिको पहिलो कारोबारको दिन अर्थात गत आइतबार सेयर बजार ८८.७० अंकले घटेको थियो । दोस्रो कारोबार दिन अर्थात गत सोमबार पनि ७९.२३ अंकले सेयर बजार ओरालो लागेको थियो । तर, मंगलबार भने सेयर बजार १३७ अंकले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको थियो । अध्यक्ष ओलीले प्रचण्डको अभिव्यक्तिको आलोचना गरेको दिन बुधबार सेयर बजारमा ४.२३ ले घट्यो । ओलीको आशय बजार बढ्ने प्रकारको थियो । आज (बिहीबार) ओलीको उक्त अभिव्यक्तिलाई कडा शब्दमा आलोचना गर्दै प्रचण्डले पुनः आफू सेयर बजारका लाखौं लगानीकर्ताहरुको पक्षमा रहेको र आफ्नो पुरानो धारणा तथा विश्लेषण सही भएको भन्दै विज्ञप्ति नै जारी गरे । उनको त्यो अभिव्यक्तिपछि पनि (यो समाचार तयार पार्दासम्म) सेयर बजार ३० अंकले घटिसकेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रका अध्यक्षहरुको एक सातासम्मको आरोप–प्रत्यारोप सहितको वहस सेयर बजार केन्द्रित भएपछि दुई कम्युनिष्ट पार्टीका नेताहरुले सेयर बजारमा राजनीति छिराएको कतिपय विश्लेषकहरुले बताउन थालेका छन् । उनीहरुले सेयर बजारप्रति अनेकन अभिव्यक्तिहरु दिएर सेयर बजारमा राजनीति छिराउन खोजेको पनि प्रष्ट हुन्छ । नेप्सेका अनुसार हाल ४८ लाख मानिस सेयर बजारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेयर बजारसँग जोडिएका छन् । सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढी भएकै देखेर ओली र प्रचण्ड सेयर बजारबाट राजनीतिक लाभ लिने प्रयासमा लागेका पनि देखिन्छ ।
तीन लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस १ गते मात्रै सर्पोट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सपोर्ट लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । बुधबार प्रतिकित्ता २३०० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १७६९ रुपैयाँ कायम भएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको २० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४२७.५० रुपैयाँ तय भएको छ । त्यसैगरी, वोमी लघुवित्तको समायोजित मूल्य प्रतिकित्ता १३४०.८३ रुपैयाँ कायम भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । यससँगै आजदेखि यी तीन संस्थाको सेयर किन्नेले गत आर्थिक वर्षको लाभांश पाउने छैनन् ।
सेन्ट्रल फाइनान्सको लाभांश घोषणा
काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । ७.७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख रुपैयाँ नाघ्ने छ ।