औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी पुँजी बजारमा लगाएर साम्राज्यवादको रुप लियो- प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका छन् । माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए । अध्यक्ष प्रचण्डले सेयर बजार प्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए । उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैकहरुमा हुने गरेका बताए । ‘पुँजीको लगानी पुँजीमा हुनु सामराज्यवादको विकसित हुनु हो, उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विषेशता भएको छ, अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आई एम एफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ, हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं, तर, त्यस्तो होइन्, यसरी शेयर बजारमा लगानी गर्नु सामराज्यवादका विकसित रुप हुन, यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सिमित पुँजीपतिहरुको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना हो, उसरी विश्वको पैसा सिमित पुँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङगो राख्ने प्रणाली पुँजीबजार हो। पुँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्नु सक्नु पर्छ, पुँजीबजारबाट पुँजीपतिहरुले सिधै पुँजीबाट पुँजी लिने गर्दछ, अब पुँजीको लगानी उत्पादनमा हुँदैन, धितोपत्रमा र सत्ता बजारमा हुन्छ । बैंकहरुले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन्, घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ, थोरै लगानीमा छोटो समयमा अबौ कमाउने गरेका छन्, अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ,’ अध्यक्ष प्रचण्डले भने । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस् अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्वलेशण गर्नु जरुरी भएको बताए । उनले यस प्रकारमा विकृतीको विष्लेशण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओबादी आएको बताए । यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि नआउने बताए ।
एनबी बैंकमा ६ अर्बको डिलः दुगड, गोल्छा र मुरारकाको ‘इन्ट्री’ प्रयास
काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको प्रमोटर सेयर खरिद प्रक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकाको ‘इन्ट्री’ भएको छ । आईएफआईसीको स्वामित्वमा रहेको एनबी बैंकको ४२ प्रतिशत प्रमोटर सेयर खरिदका लागि गोल्छा र मुरारका सहित हिमालयन रिइन्स्योरेन्स कम्पनीका करिब २ दर्जन प्रमोटर सहभागी भएका छन् । गोल्छा हिमालयन रिइन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष हुन भने मुरारका सो कम्पनीको प्रमोटर छन् । गोल्छा र मुरारकालाई एनबी बैंकमा रहेको आईएफआईसीको सेयर खरिदको प्रबन्ध भने सनराइज बैंकको संचालक समिति अध्यक्ष मोतिलाल दुगडले मिलाइदिएका हुन् । स्रोतका अनुसार सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेका छन् । सो इच्छापत्र अनुसार आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा विक्री गर्न सहमत भएको छ । इच्छापत्रको मूल्यका आधारमा आईएफआईसीले एनबी बैंकमा रहेको प्रमोटर सेयर विक्री गरेर ६ अर्ब रुपैयाँ प्राप्त गर्नेछ । गत अप्रिल २ मा नै इच्छापत्रमा हस्ताक्षर भइसकेको स्रोतको दाबी छ । दुगडलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकाले साथ दिएका छन् । एनबी बैंकको प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा खरिद गर्नको लागि गोल्छा र मुरारकाको टीम पनि तयार रहेको स्रोतले जानकारी दियो । आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर भएको र सोअनुसार नै सेयर खरिद विक्रीको लागि सहजीकरण गरिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंक र एनबी बैंकमा दुगडले पत्राचार गरिसकेका स्रोतले जानकारी दियो । एनबीकै प्रमोटर विपक्षमा एनबी बैंकमा रहेको आईएफआईसीको प्रमोटर सेयर खरिदका लागि एनबी समूहले तत्परता देखाएको थियो । तर, नेपाल राष्ट्र बैंकले ‘फिट एण्ड प्रपर टेष्ट’ गर्दा एनबी समूह आईएफआईसीको सेयर हिस्सा खरिद गर्नका लागि ‘अयोग्य’ देखिएको थियो । एनबी बैंकमा एनबी समुहको ८ प्रतिशत प्रमोटर सेयर छ । एनबी समूह आफूले सेयर किन्न नपाएपछि सकेसम्म आफू अनुकूल लगानीकर्ता भित्र्याउन चाहन्छ । यो समूह विनोद चौधरीको हातमा आईएफआईसीको सेयर पर्न नदिन सक्रिय रुपमा लागेको छ । एनबी बैंकमा रहेको आईएफआईसीको सेयर खरिद गर्नका लागि विनोद चौधरीले पनि चासो देखाएको समाचारहरु सार्वजनिक भएका थिए । तर एनबी बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु आईएफआईसीको सेयर विनोद चौधरीले किनिदिउन र नविल बैंकमा मर्ज गर्न पाइयोस् भन्ने चाहन्छन् । ‘नविल बैंकको विजनेश राम्रो छ, नाफा राम्रो छ, सुशासन राम्रो छ, ब्राण्ड इमेज राम्रो छ, नविलसँग मर्ज हुँदा हाम्रो लगानी बढी सुरक्षित हुन्छ, त्यसले बढी प्रतिफल दिन्छ,’ एनबी बैंकका एक संचालकले भने । चौधरीले नै आईएफआईसीको सेयर खरिद गरिदेओस भन्ने समूहले गत साता मात्रै बंगलादेश पुगेर आईएफआईसीको नेतृत्वसँग छलफल समेत गरेको छ । सो छलफलमा सेयर बिक्रीपछि पनि संस्थाको हितलाई ध्यान दिन आईएफआईसीलाई अनुरोध गरिएको स्रोतले बतायो । उक्त समूह दुगड ग्रुपले आईएफआईसीको सेयर किन्न लागेको र सनराईजसँग आफूहरुलाई मर्जमा लैजान लागेकोमा असन्तुष्ट देखिएको छ । ‘हामी बहुमत सेयरधनी सनराईजसँगको मर्जको पक्षमा छैनौं, बंगालीको सेयर उनीहरुले किने भने पनि मर्ज सफल हुँदैन,’ ती संचालकले भने । एनबी समूह पनि आईएफआईसीको सेयर बिक्री प्रक्रियामा अवरोध गर्दै अन्तिममा आफै किन्न कसरतमा छ । ‘आईएफआईसीले संस्थापक समूहलाई सेयर बिक्री गर्न सूचना जारी गरेको ३ महिना नाघिसक्यो । ३ महिनाभित्र उसले सर्बसाधारणलाई सेयर बिक्री गर्न सूचना दिन सकेन । अब फेरि संस्थापक समूहलाई नै बिक्री गर्ने सूचना उसले जारी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ,’ ती संचालकले भने । आईएफआईसीले एनबी बैंकको सेयर मूल्य प्रतिकित्ता ४६० नाघेको बेलामा बिक्रीको प्रयास गरेको थियो । अहिले प्रतिकित्ता ३३० रुपैयाँको हाराहारीमा मूल्य झरेको छ ।
लाभांश पारित गर्न मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारणसभा
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आगामी पुस १९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन दिउँसो रुपन्देहीको होटल पौवामा चौंथो वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभाले लाभांश प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । त्यस्तै, सभामा जान संस्थाले पुस ४ गतेबाट पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस ३ गतेसम्म कायम सेयरधनीले मात्रै संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।