प्रहरी प्रधान कार्यालयमा पुगे जगतगुरू शंकराचार्य
काठमाडौं । जगतगुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन गरेका छन् । सोमबार जगतगुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्लाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपणसमेत गरेका थिए । अवलोकन पश्चात आयोजित कार्यक्रममा जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा निर्मित ‘शिव शम्भू’ (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गरेका थिए । सो अवसरमा जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिएका थिए । उनले सत्य, सेवा, सुरक्षणम्को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीउ धनको सुरक्षा दिने कार्यमा अझ पूर्णसफलताको कामना समेत व्यक्त गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्को नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा कृतज्ञता व्यक्त गरे । प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्बाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरीलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नवऊर्जा सञ्चालित गराएको बताउँदै उनको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताए । आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सहिमार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास उनले व्यक्त गरे । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानुनी धर्मको पालकका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै पेशागत त्रुटी र मानसिक दबाबका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताए ।
दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीको ब्राण्ड एम्बेसडर, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक
काठमाडौं । एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आधिकारिक ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले यससँगै ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रिहरू पनि सार्वजनिक गरेको छ । काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा देशभरका ४०० भन्दा बढी डिलर, रिटेलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो । कम्पनीले कार्यक्रमलाई ब्राण्ड विस्तार र नयाँ रणनीतिक यात्राको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार ‘भोल्टेक्स’ सिरिज उत्पादनमा एकरूपता कायम गर्ने, ब्राण्डिङ सुदृढ बनाउने तथा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित बजारमा ल्याइएको हो । आधुनिक प्रविधि, टिकाउपन र उच्च प्रदर्शनलाई प्राथमिकतामा राखिएको यस सिरिजले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै दिपेन्द्र सिंह ऐरीले गुणस्तरीय नेपाली ब्राण्डसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । उनले नेपाली उत्पादनप्रतिको उपभोक्ता विश्वास बढ्दै गएको उल्लेख गर्दै एशियन ब्याट्रीले उद्योग क्षेत्रमा बनाएको पहिचान प्रशंसनीय रहेको धारणा राखे । कार्यक्रमका क्रममा कम्पनीको ब्राण्ड विकास, बजार विस्तार तथा बिक्री प्रवर्द्धनमा योगदान पुर्याउने रिटेलर तथा डिष्ट्रिब्युटरलाई सम्मानसमेत गरिएको थियो । कम्पनीले आफ्ना व्यावसायिक साझेदारलाई सफलताको प्रमुख आधारका रूपमा व्याख्या गरेको छ । कम्पनीका अध्यक्ष सुरेश लोहनीले एशियन ब्याट्रीले नेपाली अटोमोबाइल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए । गुणस्तर, विश्वसनीयता र बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताका कारण बजारमा कम्पनीको उपस्थिति सुदृढ भएको उनको भनाइ छ । एशियन ब्याट्रीले बजाज, हिरो, सेभ्रोले, फोर्ड, होण्डा र इसुजुजस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ । विराटनगरस्थित उत्पादन केन्द्र र काठमाडौंस्थित कर्पोरेट कार्यालयमार्फत कम्पनीले अन्तर्राष्ट्रियस्तरको उत्पादन प्रणाली अपनाउँदै आएको छ । कम्पनीका अनुसार प्रत्येक ब्याट्री कडा परीक्षणपछि मात्र बजारमा ल्याइने भएकाले उत्पादन टिकाउ, भरपर्दो र उच्च प्रदर्शनयुक्त हुने गरेका छन् । देशभर फैलिएको सेवा सञ्जालमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा र प्राविधिक सहयोग पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । स्वदेशी उद्योगका रूपमा सुरु भएको एशियन ब्याट्रीले हाल अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो उपस्थिति विस्तार गर्दै ‘मेड इन नेपाल’ उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।
काठमाडौंमा ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ हुँदै, विश्व चर्चित लेखकको जमघट
काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’को औपचारिक घोषणा गरिएको छ । दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिने यस महोत्सव आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा हुने आठदिने कार्यक्रम यस वर्ष नेपाली साहित्यका अग्रज व्यक्तित्व गुरु प्रसाद मैनालीप्रति समर्पित गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा नेपालसहित विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रम हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादजस्ता विषयमा केन्द्रित रहनेछ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा अन्तरविषयक छलफलहरू समावेश गरिएका छन् । यस वर्षको महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, साहित्यिक सम्पादक मार्टिन डोयल तथा ‘पोएट लौरिएट’ टिना चाङ लगायत विभिन्न देशका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ । महोत्सवको उद्घाटन विशेष समारोहमार्फत गरिनेछ भने कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, अनुवाद तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विषयमा सत्र सञ्चालन गरिनेछन् । आयोजक युयुत्सु शर्माले साहित्यलाई मानव सभ्यतासँग जोडिएको हिलिङको माध्यमका रूपमा व्याख्या गर्दै महोत्सवले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा उजागर गर्ने बताए । महोत्सवले युवा साहित्यिक प्रतिभाको प्रवर्द्धनमा पनि जोड दिनेछ । कार्यशाला, मार्गदर्शन कार्यक्रम र अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ पुस्ताका लेखकहरूलाई अवसर प्रदान गरिनेछ । यसैगरी, महोत्सवअन्तर्गत कवितामा आधारित अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनसँगै काठमाडौं दरबार स्क्वायर, पाटन, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोटलगायतका सांस्कृतिक स्थलको भ्रमण कार्यक्रम पनि समावेश गरिएको छ । आयोजकका अनुसार यस महोत्सवले काठमाडौंलाई विश्व साहित्यिक गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।