डिशहोम र द ट्राङक्विलिटी स्पाबीच सहकार्य, देशभरका स्पामा २५ प्रतिशतसम्म छुट

काठमाडौं । डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा द ट्राङक्विलिटी स्पा सँग सहकार्य गरी आफ्नो भर्चुअल विशेषाधिकार कार्ड (प्रिभिलेज कार्ड) मार्फत ग्राहकहरूका लागि नयाँ सुविधा सुरु गरेको छ । डिशहोमले सुरु गरेको यो सहकार्य कार्यक्रमले ग्राहकहरूको जीवनशैलीलाई अझ सहज र समृद्ध बनाउनका साथै उनीहरूलाई देशभर स्वास्थ्य र वेलनेस (आरामदायी स्वास्थ्य सेवा) का विशेष लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । यस योजनाअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट, सबै सलोन सेवामा २० प्रतिशत छुट, र ट्राङक्विलिटी अन्तर्राष्ट्रिय सौन्दर्य तथा स्पा प्रतिष्ठान (टिब्सा) मा सञ्चालन हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । लक्जरी वातावरण, अनुभवी उपचारकर्मी (थेरापिस्ट) तथा विश्वस्तरीय सेवाका लागि परिचित ट्राङक्विलिटी स्पा नेपालमा वेलनेस र विश्रामको पर्यायका रूपमा स्थापित छ । देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस संस्थाले अब डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्य दुवै क्षेत्रमा उत्कृष्ट सुविधा एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ । काठमाडौंमा अवस्थित ट्राङक्विलिटी अन्तर्राष्ट्रिय सौन्दर्य तथा स्पा प्रतिष्ठान (टिब्सा) ले सौन्दर्य उपचार, स्पा सेवा, मालिस उपचार तथा समग्र स्वास्थ्य र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रम सञ्चालन गर्दै आएको छ । व्यावहारिक तालिम र विज्ञ प्रशिक्षकद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायीहरू तयार पार्ने लक्ष्य राखेको छ । ग्राहकहरूले छुट प्राप्त गर्नका लागि आफ्नो माई डिशहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक परिचय नम्बर प्रयोग गरेर लगइन गर्नुपर्नेछ । त्यसपछि एपको गृहपृष्ठ वा व्यक्तिगत विवरण भागमा रहेको भर्चुअल विशेषाधिकार कार्ड खोल्न सकिनेछ । उक्त कार्ड कुनै पनि ट्राङक्विलिटी स्पा शाखामा देखाएर तुरुन्तै छुट प्राप्त गर्न सकिन्छ । यो सहकार्यलाई औपचारिकता दिन ट्राङक्विलिटी स्पा एण्ड सर्भिसेसका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका नयाँ उत्पादन विकास प्रमुख सबिन महर्जनबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भनिन्, 'यो सहकार्यले नेपालको अग्रणी स्पा र सौन्दर्य ब्रान्डलाई हाम्रो ग्राहकहरूका लागि थप मूल्य, सहजता र सन्तुष्टि प्रदान गर्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ ।' डिशहोमको भर्चुअल विशेषाधिकार कार्ड कम्पनीको ग्राहक सन्तुष्टि र जीवनशैली सुधार गर्ने दीर्घकालीन दृष्टिकोणको हिस्सा हो । यस पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, स्वास्थ्य, मनोरञ्जन तथा खुद्रा क्षेत्रमा विभिन्न ब्रान्डहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम (उच्चस्तरीय) अनुभव प्रदान गर्दै आएको छ । कम्पनीले आगामी महिनाहरूमा आफ्नो सहकार्य सञ्जाललाई अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप आकर्षक सुविधा र जीवनशैलीसँग सम्बन्धित लाभहरू ल्याउने तयारी गरेको जनाएको छ ।

काठमाडौं महानगरमा फोहोर वस्तु बालेमा १० हजार जरिवाना लाग्ने

काठमाडौं । काठमाडौंं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्न रोक लगाइएको हो ।  जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने वस्तुको महत्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्छिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’  वायु प्रदुषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ ।  ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा वस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ । राईले भनिन्, ‘महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’  यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।  

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो । हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टिकरलगायत छपाइका मेसिनहरु पुनःप्रयोगमा ल्याउन सरसफाइ एवं जडान गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन छ महिना लाग्ने जनाइएको छ । कतिपय मेसिन सञ्चालनमा ल्याउन विदेशबाट समेत जनशक्ति ल्याउनुपर्ने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार केन्द्र पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिए नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा, हुलाक टिकट, भिसा स्टिकरलगायत नौ प्रकारका कागजमा आधारित सेवा उपलब्ध गराउन सकिनेछ । 'कागजात, कार्ड र बैंक नोटमा आधारित सेवाका लागि केन्द्रले अलगअलग योजना निर्माण गरिरहेको छ', ढुङ्गानाले भने । केन्द्रमा हालसम्म भौतिक निर्माणलगायत उपकरण व्यवस्थापनमा तीन अर्बभन्दा धेरै लगानी भइसकेको जनाइएको छ । ढुङ्गानाका अनुसार केन्द्रमा ५० करोडका मेसिन जडान गरिसकिएको छ । जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न सकिए केन्द्र ११ प्रकारका सेवा उपलब्ध गराउन सक्षम रहेको ढुङ्गानाको भनाइ छ । उनले भने, 'खरिद नियमावली १४ औँ संशोधनले अवरुद्ध ठेक्काका लागि खुला भएको छ भने केन्द्रभित्रका सातवटा ठेक्का पनि भएका छन्, केन्द्रलाई नियमितता दिन सकिए छपाइका नाममा नेपाल सरकारबाट विदेसिने अर्बौं रकम जोगिने छ ।' यसैबीच केन्द्रमा शुक्रबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत शुक्रबार केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरेका छन् । सो अवसरमा खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद आवश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताएका थिए । हाल २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको मन्त्री खरेलको भनाइ थियो । उनले भने, 'लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको अवस्थामा पूर्वाधार र स्रोतसाधन भएर पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर लाइसेन्स छपाइ सुरु गरियो ।' उनले वर्षोंदेखि केन्द्रअन्तर्गतका मेसिन यतिकै थन्किएर पार्टपूर्जा सबै धुलाम्मे भई खण्डहरजस्तो बनेको केन्द्र धुलो टकटक्याएर छपाइ थालेको बताए । पहिलो चरणमा १२ लाख प्रति लाइसेन्स छपाइको सम्झौता भएअनुरुप शुक्रबारदेखि काम सुरु गरिएको केन्द्रले जनाएको छ । सुरुका दिनमा दैनिक ५०० छाप्ने र यसको मात्रा बढाउँदै लगिने कार्यकारी निर्देशक ढुङ्गानाले जानकारी दिए । उनका अनुसार आगामी पाँच वर्षभित्र केन्द्रबाट सरकारलाई वार्षिक लगानीको २३ दशमलव ७४ प्रतिशत मुनाफा दिन सकिनेछ । सरकारले सुरक्षण मुद्रण केन्द्रसम्बन्धी ऐन २०८१ जारी गरिसकेको छ । तत्कालीन सरकारको रु ३३ अर्ब लगानी गर्ने महत्वकांक्षी योजनालाई रु आठ अर्बमा सीमित गरिएको उनले बताए । केन्द्रका अनुसार ६२ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ । यसअघि २०८१ चैतमा बजेट अभावमा केन्द्रको भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम रोकिएको थियो । त्यतिबेला केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे पनि रङरोगन र झ्याल–ढोका हाल्ने कामसमेत रोकिएको थियो । सूचना–प्रविधि पार्क (आइटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही वर्षअघि मात्रै केन्द्रमा परिणत गरिएको हो । एक वर्षअघिसम्म केन्द्रको मुख्य भवनको अग्रभाग भने पुनः सजावट कार्य सकिएर केन्द्रमा आवश्यक गोदामघरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो । एक वर्षअघि निर्माण सम्पन्न ५० मिटर लम्बाई र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको गोदाम भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चा पदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ । उक्त भवनमा कच्चा पदार्थ र उत्पादित सुरक्षित मुद्रण भण्डारण गर्दा ‘पेपर स्रिन्क’ हुनबाट बच्ने र मसी सुकेर जाने समस्या रहने छैन । उक्त बहुउद्देश्यीय भवन भूकम्प्रतिरोधी, आगोबाट असर नगर्ने ‘स्टिल ट्रस सिष्टम’ गुणस्तरमा निर्माण भएको हो । भवनमा सुरक्षित मुद्रणको उपकरण जडान गर्नसमेत सकिने जनाइएको छ । केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमूना छपाइ गरिएको थियो । हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिनेछ । अघिल्लो आर्थिक वर्षको रु ७३ करोड बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरीद गरिएको थियो । केन्द्रमा एक थान ‘डाई कटिङ मेसिन’ रहेको छभने अन्य तीन थान मेसिन जडान कार्य गरिए पनि सञ्चालन भएका थिएनन् । प्रशासनिक प्रक्रियापछि अन्य मेसिन ल्याएर जनशक्ति र कच्चा पदार्थ व्यवस्थापनपछि आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालन गर्न केन्द्रले तयारी थालेको हो । केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि चार वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई आइटी पार्कमा प्रेसको काम सुरु गरिएको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्थानार्थ पनौती नपा–५ स्थित प्रयोगविहीन अवस्थामा रहेका उक्त पार्क छनोट गरी निर्णय गरेका थिए । प्रेसको काम थाल्न आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको सुरुआत गरिएको थियो । त्यतिबेला केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो । प्रेस निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमिन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम सम्पन्न भएको छ । खानेपानीका लागि एक÷एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङ्की निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको भूमिगत डिजेल ट्याङ्की निर्माण भएका छन् । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रुपमा बाहिरिने १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्ने बताइन्छ । तत्कालीन सरकारले सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न दुई वर्षअघि कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको थियो । सोहीअनुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिण–पूर्वी एसियाका राष्ट्रहरुलाई उपलब्ध गराउने छ । साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो । विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आइटी पार्क निर्माण कार्य सम्पन्न भई २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई वटा ठूला व्यापारिक/प्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन छन् । तत्कालीन समयमा दक्षिण एसियामै नमूना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । प्रयोगविहीन अवस्थामा रहँदा उक्त पार्कमा यसअघि चलचित्रको छायाङ्कन, जिल्लाका राजनीतिक तथा अन्य कार्यक्रम हुँदै आएका थिए । यसबीचमा केही सूचना–प्रविधिका संस्थाले पार्कमा बसेर काम थाले पनि छोटो समयमै छाडेर जाने गर्दथे । रासस