नबिल एसएसईले दोहोर्याएको सफलताको बाटो
काठमाडौं । ‘यही कोठाबाट सुरु गरेको हो । यो कोठाको पनि आधा भागमात्रै प्रयोग गरेको थिएँ,’ नेपाकार्ट लजिस्टिक प्रालिका प्रबन्ध निर्देशक (एमडी) साजन ताम्राकारले एउटा कोठा देखाउँदै भने, ‘एकदमै कन्जस्टेड भएपछि अरू कोठाबाट डेलिभरी सेवा विस्तार गर्याैं । नबिल एसएसईमा सहभागीपछि भने अर्काे घरबाट पनि थप सेवा विस्तार गरिरहेका छौं ।’ उनले नयाँ बनेको घरतिर लैजाँदै भने, ‘आजबाट यो घरबाट पनि सेवा सुरु गरेका छौं । यसलाई हामीले पार्ट–पार्ट बनाएर राखेका छौं । यो डिस्प्याच सेन्टर हो । अनलाइनका सामान सबै ड्यासबोर्डमा हुन्छन् । राइडर हिरोजहरूले सामान लिएर आउनु हुन्छ । सामान कुन–कुन ठाउँ जानु पर्ने हो, त्यो डेस्टिनेसनअनुसार राखिएको हुन्छ ।’ कोठाभित्र सामानहरू छरिएका छन् । बौद्ध, जोरपाटी, बुढानीलकण्ठ, कपन, थानकोट, साँखु, भक्तपुर, ललितपुर लगायत विभिन्न ठाउँहरूको नाम भित्तामा टाँसिएका छन् । कर्मचारीहरूले सूची हेर्दै सामान कार्टुनमा प्याक गरिरहेका छन् । केही कर्मचारीहरू सामान ल्याइरहेका देखिन्छन् । ‘कुन-कुन ठाउँ जानुपर्ने हो, ती सामानहरू एउटा बोरा (झोला)मा राखिन्छन् । हामी २० जना छौं । केही साथीहरू सामान ल्याउन जानु भएको छ, उहाँहरूले सामान ल्याएपछि डेलिभरी हिरोहरूले सम्बन्धित ठाउँमा सामान पुर्याएर आउनु हुन्छ,’ ताम्राकारले भने, ‘भेण्डरबाट १२/१ बजेभित्र नेपाकार्टमा सामान आइपुग्छ भने २ बजेभित्र सम्बन्धित ग्राहक भएको ठाउँसम्म पुर्याउन डेलिभरीहरू निस्किन्छन् ।’ ताम्राकारका अनुसार ग्राहकहरूले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत अनलाइन माध्यमबाट सामानहरू खरिद गर्छन् । पसलबाट ग्राहकले अर्डर गरेका सामानहरू डेलिभरी हिरोजले नेपाकार्ट लजिस्टिकमा ल्याउँछन् । र, नेपाकार्ट लजिस्टिकबाट ग्राहकहरूले भनेको ठाउँमा सामान पुर्याइदिन्छन् । ग्राहक र भेण्डरले अर्डरदेखि सामान पाउँदासम्म सबै अनलाइनमा लाइभ देख्न सकिने सिस्टमको विकास गरेको उनले बताए । यसरी सुरु भयो नेपाकार्ट लजिस्टिक ललितपुरस्थित लगनखेलको नेवारी समुदायमा जन्मे हुर्केका ताम्राकार थप अध्ययनका लागि भारतको बैंगलरमा थिए । त्यहाँ रहँदा उनले त्यहाँको डिजिटलाइजेशन देखे र अनुभव पनि गरे । भारतमा देखेको डिजिटल क्रान्तिलाई नेपालमा सुरु गर्नु पर्छ भन्ने सोचसहित उनी सन् २०१६ मा नेपाल फर्किए । उनले एउटा कोठाभित्रैबाट लजिस्टिक सेवा सुरु गरे । ‘म भारतको बैंगलरमा रहँदा त्यहाँको डिजिटाइजेसन देखेको थिएँ । तत्कालीन समयमा भारतमा फ्लिपकार्ड, ईकार्ड धेरै नै चलेको थियो । जबकि नेपालमा अनलाइनको सुरुवात नै भएको थिएन । त्यो अवधारणालाई नेपाल आएर अनलाइन र लजिस्टिक सुरु गरेको हुँ । कोभिडको बेलामा अनलाइन चलाउन सकिएन । तर, लजिस्टिकमा भने सम्भावना देखियो,’ उनले विगत सम्झिँदै भने । योजनाअनुसार डेलिभरि गर्ने भनेर नेपाल फर्किएका ताम्राकारले एउटा सानो कोठाको आधि कोठाबाट एक्सल फर्म्याटमा लजिस्टिक व्यवसाय सुरु गरे । जतिबेला उनीसँग आफ्नै कम्पनीको झोला पनि थिएन । सामान्य झोलामा राखेर डेलिभरी गर्थे । ‘लजिस्टिक कम्पनी एउटा डेलिभरी कम्पनी जस्तो मात्रै देखिन्छ । तर, यहाँ ठूलो माध्यम हुन्छ,’ उनले भने, ‘सुरुवाती दिनमा १२/१४ घण्टा खट्थे । आफै म्यानेजर, आफै डेलिभरी ब्वाई, आफै भेण्डरसँग कुरा गर्थे । तर, कोरोना महामारीका कारण त्यति धेरै विस्तार गर्न सकिनँ । कोरोनापछि भने लजिस्टिक व्यवसाय फस्टाउन थाल्यो । त्यसपछि नेपाकार्ट लजिस्टिक कम्पनी दर्ता गरेर वेवसाइट बनाएर व्यवसाय थालनी गरे ।’ नेपाकार्ट लजिस्टिकको माध्यमबाट ताम्राकारले बिक्रेता (साहुजी) र खरिदकर्ता (ग्राहक) हरूलाई जोडिरहेका छन् । अनलाइन कारोबारलाई पारदर्शी र विश्वसनीय बनाउन उनी प्रयत्न गरिरहेका छन् । नेपाकार्ट लजिस्टिकको सेवा काठमाडौंमा मात्रै सीमित नराखी उनले देशभर विस्तार गरिरहेका छन् । नबिल एसएसईले मनोबल बढायो परिवारको सुझाव सल्लाहमा लजिस्टिक व्यवसाय सञ्चालन गरिरहेका ताम्राकारलाई विज्ञहरुको सुझाव आवश्यक महसुस हुन्थ्यो । उनलाई आफ्नो व्यवसायलाई कसरी थप व्यवस्थित र विस्तार गर्ने भन्ने ज्ञानको कमी भइरहन्थ्यो । उनलाई व्यवसाय विस्तारका लागि थप मेन्टरिङको आवश्यकता थियो । उनी इनोभेसनको खोजीमा थिए । नबिल बैंकको फेशबुक पेज र लिंक्डइनमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)को बारेमा जानकारी पाएपछि उनले आवेदन दिए । नबिल एसएसईमा सहभागी भएपछि भने उनलाई व्यवसाय सञ्चालन गर्दा हुने ज्ञानको अभाव हुन छाडेको छ । ‘नबिल एसएसईमा सहभागिता जनाएपछि बिजनेश कन्सेप्टमा एउटा स्पष्ट चित्र नै पाएँ । व्यवसाय गर्दा कसरी गर्ने, कति बेला कस्तो निर्णय गर्ने भन्ने विषयमा स्पष्ट हुन पाएँ । विगतमा धेरै दुविधा हुने गरेको थियो । तर, अहिले केही समस्या आयो भने यसरी गर्नुपर्छ है भनेर जान्न पाइयो,’ उनले भने, ‘पहिलो आफ्नै घर परिवारले सिकाउँथे भने अहिले एक्सपर्टहरूले नै सिकाउनु भएको छ । नबिल एसएसईको तालिम एकदमै फलदायी बनेको छ ।’ नबिल एसएसईमा सहभागी भएपछि ताम्राकारले आफ्नो व्यवसायलाई विस्तार गर्दै नयाँ घरबाट पनि सेवा दिन थालेका छन् । नबिल एसएसईमा आवद्ध हुनुभन्दा व्यवसाय सञ्चालन, व्यवस्थापन लगायतका चुनौती खेपिरहेका साजन अहिले ठूला-ठूला बिजनेश पनि सहजै डिल गर्न सक्ने भएका छन् । नबिल एसएसईबाट कम्पनीको मार्केटिङ, ब्राण्डिङदेखि हरेकमा सहयोग पुगेको उनको भनाइ छ । साथै कहिलेकाहीँ केही दुविधा वा समस्या उत्पन्न भयो भने कन्सल्टिङका लागि मेन्टरबाट सहयोग भइरहेको ताम्राकारले बताए । नबिल एसएसईबाट व्यवसायको अवधारणदेखि दर्ता, अकाउण्टिङ, मार्केटिङ, ब्राण्डिङसम्मको ज्ञान चरणवद्ध रूपमा सिक्न सकिने उनले सुनाए । ‘नबिल एसएसईमा जोडिनुभन्दा अगाडिसम्म हामी १० जना मात्रै थियौं । नबिलसँग जोडिएपछि २० जना पुगेका छौं । बिजनेश कन्सेप्टमा एउटा स्पष्ट चित्र नै कोर्न पाएँ । उहाँहरू (नबिल एसएसई)सँग जोडिएपछि नयाँ–नयाँ ब्राण्डसँग पनि टचअप हुन पाएका छौं,’ उनले भने, ‘अप्रेसनका काममा सहज भइरहेको छ । मुख्य विषय लिडरसिपका विषयमा बुझ्न पाइयो ।’ आफूजस्ता युवा उद्यमीहरूका लागि नबिल एसएसई महत्त्वपूर्ण रहेको उनले बताए । साथै यस्ता कार्यक्रम अन्य सरकारी तथा निजी संस्थाहरूले पनि सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ । आवेदन दिने अन्तिम दिन कात्तिक २८ गते नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि कात्तिक २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलता मार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्ने बैंकले जनाएको छ । नबिल एसएसई अन्तर्गत २ वटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन् । बैंकका अनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौं समूहका लागि आवेदन खुलाइएको हो । ६ महिना अवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँगको सहकार्यमा निःशुल्क सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् । फेलोसिपअन्तर्गत हालसम्म ७६ जना सहभागी भई ६२ उद्यम सञ्चालन भइरहेका छन् । त्यसैगरी, सर्टिफिकेट कोर्स ७ वटै प्रदेशमा सञ्चालित छ । ३ महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । बैंकका अनुसार हाल यो कोर्स कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेस प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्ड्री इङ्ग्लिस बोर्डिङ स्कुल र बागमती प्रदेशमा क्याम्पियन कलेजमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । साथै लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशको सुर्खेतस्थित सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालित छ । सामाजिक उद्यमीमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । हालसम्म सर्टिफिकेट कोर्समा आबद्ध भइ १ हजार ६९ जनाले लाभ लिइसकेका छन् । आवेदन दिने कसरी ? नबिल एसएसईका दुवै कार्यक्रमका लागि इच्छुकले नबिल बैंकको आधिकारिक वेबसाइट वा नबिल एसएसईका सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत आवेदन दिन सक्नेछन् । नबिल बैंकले नबिल एसएसईमार्फत हजारौं युवालाई उद्यमशील यात्रामा सहभागी गराउँदै देशको आर्थिक र सामाजिक संरचना सुदृढ बनाउने लक्ष्य लिएको छ। आवेदन याे लिङ्कमा क्लिक गरेर दिन सकिन्छ ।
१३ उद्योगले तिरे साढे ३ करोड विद्युत बक्यौता, यी हुन् अझै नतिर्ने उद्योग
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महसुल विवादका कारण नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन काटेका उद्योगहरूले धरौटीबापत पहिलो किस्ता तिर्न थालेपछि विद्युतको लाइन पनि जोडिन थालेको छ । प्राधिकरणका अनुसार आइतबारसम्म १३ उद्योगले पहिलो बक्यौता तिरेको छ । प्राधिकरणले कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको थियो । प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेसँगै २५ मध्ये दुई उद्योग तत्कालै बक्यौता महसुलको किस्ता तिरेका थिए । बाँकी २३ मध्ये १३ उद्योगले प्राधिकरणले दिएको किस्ताबन्दी र सरकारसँगको मध्यमार्गी प्रस्तावलाई स्वीकार गर्दै धरौटीका रूपमा पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स २ करोड ७५ लाख पहिलो किस्ता रकम बुझाएको छ । यस्तै, हिमाल आइरन एण्ड स्टिलले २४ लाख ५० हजार बुझाएको छ । बक्यौता पहिलो किस्ता तिरेर लाइन जोडिएका उद्योगहरू महसुल नबुझाउने १२ उद्योग प्राधिकरणका अनुसार महसुल नबुझाउने १२ उद्योग रहेका छन् जसमध्ये जगदम्बा स्टिल कम्पनीको बक्यौता १ अर्ब ६० करोड रहेको छ । अर्घाखाँची सिमेन्टको बक्यौता ४४ करोड ८४ लाख रुपैयाँ छ । शिवम् सिमेन्टको बक्यौता ६६ करोड ८८ लाख रुपैयाँ छ । यस्तै, घोरही सिमेन्ट ५० करोड ८५ लाख रुपैयाँ तथा कसमस सिमेन्टको ९ करोड ७७ लाख रुपैयाँ रहेको छ भने बुटवल सिमेन्टको १८ करोड ४५ लाख रुपैयाँ रहेको छ । गोयन्का फुड्सको १४ करोड ७६ लाख रुपैयाँ रहेको छ। निगालो सिमेन्टको ५ करोड ८१ लाख रुपैया, विशाल सिमेन्टको ३ करोड ३५ लाख रुपैयाँ रहेको छ । त्रिवेणी स्पिनिङ मिल्स ३२ करोड ९ लाख रुपैयाँ रहेको छ । सोनापुर मिनरल्स एण्ड आयलको बक्यौता २४ करोड २९ लाख रुपैयाँ रहेको छ । जगदम्बा सिन्थेटिक प्रालि २० करोड ५० लाख रुपैयाँ रहेको छ । भलवारी स्वाचालित चामलको २९ लाख ९३ हजार रुपैयाँ रहेको छ । बन्द रहेको एभरेस्ट पेपर मिलको ९ करोड ४४ लाख रहेको प्राधिकरणले जनाएको छ । नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई औपचारिक रूपमा आइतबार निर्देशन दिएको छ । १७ कात्तिक २०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिवको सहभागितामा भएको छलफलमा विवाद समाधानका प्रमुख बुँदामा मौखिक सहमति भएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार भुक्तानी महसुल सरलीकरण, पुनरावलोकन सुन्ने व्यवस्था तथा उद्योगीहरूले विवादित रकमलाई धरौटीका रूपमा बुझाएपछि विद्युत् आपूर्ति पुनः सुचारु गर्ने निर्णय भएको बताइएको छ । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत प्रिमियम रकम नबुझाउने २५ उद्योगको लाइन काटेको थियो । सहमतिअनुसार अब उद्योगहरूले विवादित रकम धरौटीका रूपमा बुझाएपछि तुरुन्त लाइन जडान गरिने र पुनरावलोकन तथा कानुनी उपचार खोज्ने अधिकार पाउने व्यवस्था गरिएको छ ।
आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद् : अध्यक्ष ढकाल
धुलिखेल । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आइतबार बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र भएकाले त्यसको सुरक्षाका लागि राज्यले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनको उद्देश्य आक्रमण नभएको उल्लेख गर्दै उनले आन्दोलनका नाममा घुसपैठ गर्नेलाई कारबाही हुनुपर्ने माग गरे । अध्यक्ष ढकालले अब नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा नेपालका घरेलु पुँजी परिचालन गरेर ठूला आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि सबै व्यवसायी सहभागी हुने गरी १० अर्ब रुपैयाँको लगानीमा नेपाल डेभेलपमेन्ट कम्पनी सञ्चालनमा ल्याएको बताएका छन् । जसबाट नेपालमा आफ्नै पुँजी परिचालन गरेर धेरै काम गर्न सकिने आत्मविश्वास बढाउने काममा टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे । 'नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गरेको अवस्थामा उद्योग वाणिज्य महासङ्घको पहलमा यसखालको काम अगाडि बढाइएको छ, कुनै पनि व्यक्तिले आफ्नो व्यवसाय अगाडि बढाउन खोजेको अवस्थामा पैसाको आवश्यक पर्दा उक्त कम्पनीले लगानी गरिदिन्छ', उनले भने । त्यस अवसरमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो व्यवसायहरु जलिरहेको अवस्थामा व्यवसायीहरु पीडा बोकेर हिँड्नुपरेको अवस्था दुःखद् भएको बताए । काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रताप वैद्यले जिल्लाको व्यापारिक नगरी बनेपा, पनौती, धुलिखेलमा हाल अरनिको राजमार्ग विस्तारका क्रममा व्यावसायिक कठिनाइ भोगिरहनु परेको बताउँदै व्यावसायिक वातावरण बनाइ राख्नका लागि छुट्टै व्यावसायिक स्थान, कृषि क्षेत्र, औद्योगिक क्षेत्र निर्माण गर्न राज्यलाई आग्रह गरे । उनले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) र मण्डनदेउपुरमा निर्माण भइरहेको औद्योगिक ग्रामलाई पर्याप्त बजेटको व्यवस्थापन गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई आग्रह गरे ।