जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा, एसएमएस​​​​​​​ भोटिङबाट २५ प्रतिशत मूल्याङ्कन

काठमाडौं । म्याग्दीको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धि मुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिका भित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्ये उनीहरुको उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मूल्याङ्कनबाट उत्कृष्ट १० उद्यम घोषणा गरी मङ्गलबार सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिए । उनका अनुसार, उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरी प्रविधि खरिदका लागि जनही नगद १ लाख रुपैयाँ नगद सहयोगसमेत गरिएको छ । उत्कृष्ट उद्यमीको रुपमा टपरी एग्रो प्रालिकी जमूना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री,पाईजा अर्गानिक फलफूल तथा पशुपंक्षी फर्मकी बसन्ती पाइजा, पाइजा नर्सरी फर्मका नरबहादुर पाइजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनौट भएका हुन् ।  गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम लगायतले उत्कृष्ट उद्यमीलाई सम्मान गरे । उद्यमी सम्मान गर्दै पर्यटन मन्त्री बस्यालले जलजला तरकारी, फलफूल, पशुपालन र लघुउद्यममा सम्भावना युक्त रहेको बताए । ‘अहिले गाउँमा युवापुस्ता पाउनै मुस्किल छ, स्थानीय स्रोतसाधनमा आधारित उद्यमशिलतालाई बढावा दिनुपर्छ, स्वदेशमै स्वरोजगार र आत्मनिर्भरतासँगै रोजगारका अवसर सिर्जना गर्नेतर्फ प्रदेश सरकारले जोड दिएको छ,’ मन्त्री बस्यालले भने ।  यस कार्यक्रममार्फत  गत आव २०८१/२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरुलाई न्यूनतम् ५० हजार रुपैयाँ बराबरको प्रविधि खरिदका लागि जनही नगद २५ हजार रुपैयाँ पुरक अनुदान प्रदान गरी सकिएको छ भने ४० भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उद्ययमीलाई यो आर्थिक वर्षमा ३४ हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद २० हजार रुपैयाँ बराबरको पुरक अनुदान प्रदान गरिने भएको छ । उत्कृष्ट २० बाट छानिएर आएका १० जना उद्यमीमध्ये एक जनालाई पालिकाको सर्वोकृष्ट उद्यमी घोषणा गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिइन् । सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप १ लाख ५० हजार रुपैयाँको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस कार्यक्रमले उद्यमीहरुलाई उद्यमको योजना निर्माण, उद्यमीलाई वृद्धिमुखी योजनासम्बन्धी तालिम दिने, नव प्रवर्द्धनसम्बन्धी प्रविधि सहयोगमा सहयोग गरेको छ । जलजलामा प्रदेश सरकारको ४० लाख रुपैयाँ, पालिकाको २० लाख रुपैयाँ र  दायित्व संस्थाको १५ लाख रुपैयाँ बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रम जलजलासँगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा सञ्चालित छ । 

अर्थतन्त्र सुधारका लागि ‘राइट टाइम’ आएको छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै वर्तमान सरकारलाई नीतिगत सुधार गर्न सहज हुने बताए ।  सोमबार अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विगतमा नीतिगत निर्णय गर्न मन्त्रीलाई विषयगत जानकारी समेत नहुने गर्दा अलमलमा समेत पर्ने भएकाले विज्ञ अर्थमन्त्री भएकाले नीतिगत सुधारमा लाग्न उनले आग्रह गरे ।  अध्यक्ष ढकालले भने–‘पोलिसिहरु सुधारका लागि यो एकदमै राइट टाइम हो । कतिपय विषयमा मन्त्री नै गर्न खोजेको के भन्नेमै जानकारी नहुने गरेको छ । तालमेल नमिलेर कतिपय गर्नैपर्ने कामहरु नहुने गरेको थियो । अहिले अर्थमन्त्रीको नेतृत्वमा जुन कामहरु भइरहेको छ, त्यो धेरै राम्रो छ ।’ अध्यक्ष ढकालले भन्सारबाट आउने रेभिन्यूलाई सरकारले प्राथमिकतामा राख्दा उद्यमशीलताको विकासमा कुनै असर नगर्ने गरी अघि बढ्नुपर्ने बताए । उद्यमशीलताको विकास गर्ने खालको पोलिसिहरु ल्याउन जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष ढकालले होटल र पर्यटनलाई उद्योगका रुपमा सरकारले मान्यता दिएपनि उद्योगहरुले पाउने सुविधा ती होटल, पर्यटनले नपाएको गुनासो समेत गरे । यसलाई तुरुन्त कार्यान्वयन गर्ने हो भने उद्यमशीलता विकास हुनेछ । अध्यक्ष ढकालले कतिपय विषयलाई अहिले धितोपत्र बोर्डले इस्यु बनाएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराए ।    

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ । पुस २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरिनेछ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले उद्योगसँगै नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैँडाकोट, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी, बेलातारी, सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् ।