राष्ट्रिय वाणिज्य बैंकमार्फत स्टार्टअप कर्जामा सुरक्षण सुविधा सुरु

काठमाडौं । स्टार्टअप उद्यमलाई कर्जा सुरक्षण उपलब्ध गराउने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सोमबार मन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक उमेश कुमार गुप्ता तथा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी, डा. रामप्रसाद घिमिरे, सहसचिव जितेन्द्र बस्तेतलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो । सम्झौतापछि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार बैंकले नविन प्रविधि तथा सिर्जनशील सोचमा आधारित स्टार्टअप उद्यमलाई प्रवाह गरेको कर्जाको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषको स्टार्टअप उद्यम कर्जा सुरक्षण कार्यक्रमअन्तर्गत हुने व्यवस्था गरिएको छ । प्रतिष्ठानले स्वीकृत बजेटको सीमाभित्र कोषमा खडा गरेको छुट्टै स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषबाट बैंकले प्रवाह गरेको कर्जाको सुरक्षण गरिनेछ । कार्यविधिअनुसार चालू आर्थिक वर्षमा बैंकले प्रति उद्यमी न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा प्रवाह गर्नेछ । कर्जा कृषि, वन तथा उत्पादनमूलक, सूचना प्रविधि तथा डिजिटल, पूर्वाधार तथा यातायात, सामाजिक सेवा र पर्यटन तथा परम्परागत तथा स्थानीय स्रोतसहित पाँच क्षेत्रअन्तर्गतका १९ उपक्षेत्रमा प्रवाह गरिने व्यवस्था गरिएको छ । अधिकतम पाँच वर्ष अवधिको स्टार्टअप उद्यम कर्जाको ब्याजदर वार्षिक ३ प्रतिशत रहने कार्यविधिमा उल्लेख छ ।

कस्मेटिका एक्स्पो आजदेखि सुरु : सौन्दर्य, व्यक्तिगत हेरचाह र वेलनेस क्षेत्रका उत्पादन देखाइने

काठमाडौं । नेपालमा सौन्दर्य, व्यक्तिगत हेरचाह (पर्सनल केयर) र वेलनेस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले हाउस अफ राज कर्णिकारद्वारा आयोजित कस्मेटिका २०२५ एक्स्पो शुक्रबार (आज)देखि काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने यो एक्स्पो मंसिर १३ गतेसम्म जारी रहनेछ ।  एक्स्पोको उद्घाटनका अवसरमा हाउस अफ राज कर्णिकारका प्रबन्ध निर्देशक मीनुराज कर्णिकारले यो एक्स्पोको मुख्य उद्देश्य ब्युटि, पर्सनल केयर र वेलनेस क्षेत्रमा आइरहेका नयाँ उत्पादन, प्रविधि, सेवा र उपकरणहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्नु रहेको बताइन् ।  उनका अनुसार यो क्षेत्रका व्यावसायिकहरू र आम उपभोक्ताहरूलाई ज्ञान प्रदान गर्ने, उनीहरूको जिज्ञासा मेटाउने र निःशुल्क परामर्श सेवा उपलब्ध गराउने एक्स्पोको अर्को लक्ष्य हो ।  कर्णिकारले भनिन्, ‘हामीले यो कस्मेटिकालाई एउटा प्याकेजको रूपमा अफर गर्न खोजेका छौं । जहाँ कुनै पनि व्यक्ति जसले यो व्यवसाय सुरु गर्न चाहन्छन् वा पहिले नै स्थापित भइसकेका छन् । उनीहरूले कच्चा पदार्थ, प्याकेजिङ, सम्पूर्ण उपकरण, नयाँ प्रविधि, ट्रेन्ड र तयारी उत्पादनहरू एकै ठाउँमा पाउन सक्नेछन् ।’ कर्णिकारका अनुसार हाउस अफ राज कर्णिकारले सन् १९९० मा नेपालमा प्रदर्शनी आयोजनाको सुरुवात गरे पनि ब्युटी, पर्सनल केयर र वेलनेस सेक्टरको लागि आयोजना गरिएको यो पहिलो वृहत् एक्स्पो हो । यद्यपि कम्पनीले विभिन्न क्षेत्रका धेरै एक्स्पोहरू सफलतापूर्वक आयोजना गरिसकेको छ ।  एक्स्पोमा स्वदेशी तथा विदेशी गरी करिब ४० वटा स्टलहरू रहेका छन् । भारतबाट पनि थुप्रै कम्पनीहरूले सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय ब्रान्डहरूमा रेब्लन, पियर कार्डिन जस्ता चर्चित नामहरू छन् भने नेपाली ब्रान्डहरूमा टुडर्मा, क्लिनिक्स ब्युटिलगायतका उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।  कच्चा पदार्थदेखि प्याकेजिङ, उपकरण, प्रविधि र तयार कस्मेटिक तथा पर्सनल केयर उत्पादनहरूका साथै ब्युटि एकेडेमीका सेवाहरू पनि उपलब्ध छन् ।  एक्स्पोको प्रमुख आकर्षण भनेको यहाँ आयोजना हुने विभिन्न वर्कसप, टक प्रोग्राम र लाइभ डेमोहरू हुन् । ब्युटि प्रोफेशनलहरू र आम उपभोक्ताहरूले यी कार्यक्रमहरूबाट नयाँ जानकारी सिक्न र आफ्नो ज्ञान अभिवृद्धि गर्न सक्नेछन् । छाला, कपाल, नङको हेरचाह लगायतका विषयमा विज्ञहरूबाट निःशुल्क परामर्श र एक्सपर्ट कन्सल्टेसनको व्यवस्था पनि मिलाइएको छ ।  आज चर्चित ब्युटि एक्सपर्ट सुनिता श्रेष्ठद्वारा लाइभ मेकअप डेमो आयोजना गरिएको छ । जहाँ सहभागीहरूले मेकअपका नवीनतम प्रविधिहरू प्रत्यक्ष रूपमा सिक्न सक्नेछन् ।  भोलि हल अफ फेम नामक कार्यक्रम पनि रहेको छ । जहाँ सौन्दर्य क्षेत्रमा विशेष योगदान पु¥याउने पाँच जना व्यक्तित्वहरूलाई सम्मान गरिनेछ ।  एक्स्पोमा प्रवेशका लागि कुनै शुल्क लाग्दैन । आगन्तुकहरूले हाउस अफ राज कनिकारको वेबसाइट वा सामाजिक सञ्जालमा उपलब्ध क्यूआर कोड स्क्यान गरी अनलाइन निःशुल्क दर्ता गर्न सक्नेछन् ।  यसले गर्दा बिजनेस भिजिटरहरूका लागि प्रि-प्रिन्टेड कार्डको व्यवस्था गरिएको छ । जसले प्रवेश प्रक्रियालाई सहज बनाउँछ ।  प्रबन्ध निर्देशक कनिकारले यस वर्षको एक्स्पोलाई एउटा सुरुवाती प्ल्याटफर्मको रूपमा हेरिएको र आगामी वर्ष यसलाई अझ ठूलो र विस्तृत स्वरूपमा आयोजना गर्ने योजना रहेको बताइन् ।  ‘अर्को वर्ष डिसेम्बर १८ देखि २१ तारिखसम्म हामीले यो एक्स्पोलाई धेरै ठूलो रूपमा ल्याउने प्रयास गर्दैछौं, जसमा नेपालभरका र अन्तर्राष्ट्रिय स्टेकहोल्डरहरूको पनि जमघट होस् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन् । यस एक्स्पोलाई नेपाल कस्मेटिक व्यवसायी संघ र ब्युटी प्रोफेशनल्स एसोसिएसन नेपालले पनि सहयोग गरेका छन् । कनिकारले यो एक्स्पो नाफामुखी नभई यस क्षेत्रका सबै सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर फाइदा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको बताइन् । 

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ । पुस ७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गगरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोष, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरुलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको हो ।  अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।