एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह बुधबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले उपभोक्तालाई सहज, सुरक्षित र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नीतिगत सुधारका कामहरू अगाडि बढिरहेको जानकारी दिए । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले समारोहमा ग्यास उद्योगले सामना गर्दै आएका व्यवहारिक समस्या र चुनौतीहरूबारे स्पष्ट धारणा राखे । साथै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा संघको तर्फबाट निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको जानकारी दिए । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण वस्तुगत संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई निर्वाचनमा सक्रिय सहयोग गर्न हार्दिक अपिल गरे । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहेको स्पष्ट पारे । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज, नियमित र व्यवस्थित बनाउन निगम निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो । सो अवसरमा नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट एलपी ग्यास आयातलाई दीर्घकालीन, सुरक्षित र लागत प्रभावी बनाउने उपायका रूपमा पाइपलाइन विस्तार आवश्यक रहेकोमा जोड दिए । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगको संस्थागत सुदृढीकरण, आपूर्ति प्रणालीको सुधार तथा निजी क्षेत्रको जिम्मेवार भूमिकाका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
हुलास वायरको आम्दानी ७.३५ अर्ब, बैंकमा ऋण पनि ७.२९ अर्ब रुपैयाँ
काठमाडौं । करिब पाँच दशकको औद्योगिक विरासत बोकेको हुलास वायर इन्डस्ट्रिजले एकै वर्ष साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । हुलास वायरका अनुसार सन् २०२५ मा ७ अर्ब ३५ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३.३५ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ७० लाख रुपैयाँ कम हो । कम्पनीले सन् २०२४ मा ८ अर्ब ५१ करोड २० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । स्वर्गीय महेन्द्रकुमार गोल्छाले सन् १९७९ मा मोरङको बुढीगंगा गाउँपालिकामा हुलास वायर इन्डस्ट्रिज स्थापना गरेका थिए । नेपालकै अग्रणी औद्योगिक संस्थामध्ये एकका रूपमा परिचित हुलास वायर इन्डस्ट्रिजले हाल मोरङ र सुनसरीमा गरी दुईवटा उत्पादन युनिटबाट आईएसओ ९००१ मान्यता प्राप्त विविध स्टिल तथा तारजन्य उत्पादनहरू उत्पादन गर्दै आएको छ । बुढीगंगा गाउँपालिका-३, बाँसबारीमा रहेको युनिट-१ बाट जीआई वायर ५५ हजार मेट्रिक टन, ग्याबिन बक्स १४ हजार ४०० मेट्रिक टन, एचबी वायर २ हजार ३७५ मेट्रिक टन, रिब्ड वायर ३ हजार ३०० मेट्रिक टन, बाब्र्ड वायर ४५० मेट्रिक टन, वायर नेल्स १ हजार २०० मेट्रिक टन उत्पादन हुँदै आएको छ । यसकासाथै, नन-फेरस धातुअन्तर्गत ब्रास ५ हजार ५६० मेट्रिक टन र कपर सिट २ हजार २०० मेट्रिक टन समेत सोही युनिटमा उत्पादन भइरहेको कम्पनीले जनाएको छ । यस्तै, सुनसरीको इटहरी उप-महानगरपालिका-१३, खनारस्थित युनिट-२ बाट टीएमटी तथा न्यारो स्ट्रिप क्वाइल १ लाख ७२ हजार ८०० मेट्रिक टन, एमएस बिलेट ८६ हजार ४०० मेट्रिक टन र एमएस ब्ल्याक पाइप (६ हजार ००० मेट्रिक टन उत्पादन हुँदै आएको छ । हुलास वायर इन्डस्ट्रिज गोल्छा परिवारका सदस्यहरूद्वारा प्रवर्द्धित कम्पनी हो । कम्पनीको सेयर संरचनाअनुसार पारस एम. गोल्छाको करिब ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको करिब १७ प्रतिशत सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक युक्ति गोल्छाले सम्हाल्दै आएकी छन् । उद्योग क्षेत्रमा एक दशकको अनुभव बोकेकी उनको नेतृत्वमा हुलास वायर इन्डस्ट्रिजले आफ्नो सञ्चालन क्षमता र व्यवस्थापन दक्षता अभिवृद्धि गर्दै आएको कम्पनीले जनाएको छ । उद्योग सञ्चालनका लागि हुलास वायरले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब २९ करोड २७ लाख रुपैयाँ कर्जा लिएको छ । जसमा कम्पनीले २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । यस्तो छ उद्योगको आम्दानी उद्योगले सन् २०१७ मा ६ अर्ब ९६ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ७ अर्ब ५१ करोड ९० लाख रुपैयाँ, सन् २०१९ मा ७ अर्ब ९० करोड १० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । उद्योगले सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ५ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।
स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने
वालिङ । स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् । सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार नयाँ संरचना सृजना भएसँगै गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत ‘एकीकृत सेवा कार्यालय’ राखिएको छ । पुतलीबजार नगरपालिकाका छुट्टै स्थानबाट सेवा दुई छुट्टाछुट्टै कार्यालय स्थापना गरी सेवा दिइरहेका कार्यालय गाभिएर बनेको एकीकृत सेवा कार्यालयले साविकको सामाजिक विकास कार्यालय र साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्ने सेवालाई निरन्तरता दिने कार्यालय प्रमुख जीवन पौडेलले बताए । 'दुई छुट्टाछुट्टै कामको प्रकृति भएका कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहजता हुनुका साथै खर्चमा मितव्ययिता हुन्छ', उनले भने, 'सेवाग्राहीलाई छिटो, छरितो र बढीभन्दा बढी सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा हामी प्रयत्नशील छौँ ।' दुई कार्यालय गाभिएर हाल बनेको एकीकृत सेवा कार्यालयले साविकको पर्यटन तथा उद्योग कार्यालय पुतलीबजार–१ अभियानपथबाट सेवा दिन थालेको हो । साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्दै आइरहेको उद्योग व्यवसाय दर्ता, नवीकरण, उद्यम तथा व्यवसायको प्रवर्द्धनात्मक कार्यक्रम, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, सीपमूलक तथा आयआर्जनमूलक तालिम निरन्तर रूपमा सञ्चालन हुने उनले बताए । त्यस्तै साविकको सामाजिक विकास कार्यालयले प्रदान गर्दै आएको लक्षित वर्गका लागि क्षमता अभिवृद्धि, सीपमूलक तालिम, शिक्षाका क्षेत्रमा पूर्वाधार निर्माण, सांस्कृतिक, धार्मिक क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रमलाई एकीकृत कार्यालयमार्फत निरन्तरता दिइने भएको हो । एकीकृत विकास कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेको छ । रासस