मत्स्य विकास केन्द्र कुलेखानीको दुई हजार ५२४ किलो माछा उत्पादन, ६ लाख बढी आम्दानी
बागमती । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेको छ । कार्यालय प्रमुख मनिता पौडेललका अनुसार आव २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेर बिक्री गरी ६ लाख १७ हजार २१६ राजस्व संकलन गरेको छ । अघिल्लो आव २०८०/८१ मा सो कार्यालयले दुई हजार ५१८ किलो माछा उत्पादन गरेर ६ लाख १७ हजार ५०० राजस्व संकलन गरेको थियो । कार्यालयको आव २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत इन्द्रसरोवर रिजरभ्वायरको जलिय जैविक विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सिल्भर तथा बिगहेड कार्प माछाको सात लाख ३० हजार भुरा छोडिएको प्रमुख पौडेलले बताए । मकवानपुरको इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको छ। केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ । यस्तै माछापालनलाई प्रोत्साहन गर्न सो कार्यालयले विद्यार्थी र कृषकलाई लक्षित गरी मत्स्य घुम्ती शिविर र स्कुल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यालयले आव २०८१/८२ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्र कुलेखानीले माछापालनसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। कार्यालय प्रमुख पौडेललका अनुसार कालिका मावि फाखेलमा स्कुल शिक्षा कार्याक्रमअन्तर्गत २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, नेपालमा मत्स्यपालनको अवस्था, पालनको लागि सिफारिस माछाको जातलगायत माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षण विषयमा प्रशिक्षण दिइएको छ । त्यस्तै सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा माछापालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा स्कुल शिक्षा कार्यक्रम सम्पन्न गरिएको प्रमुख पौडेलले बताए । कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा मत्स्यपालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । सो कार्यक्रमबाट विद्यार्थीमा मत्स्य क्षेत्रको महत्त्वपूर्ण ज्ञान र जानकारी वृद्धि हुनुको साथै मत्स्यपालनका विभिन्न पक्ष र माछाको महत्वलाई अझ स्पष्ट रूपमा बुझ्न पाएको प्रमुख पौडेलको भनाइ छ । माछापालनलाई प्रोत्साहन गर्ने उद्देश्यले मत्स्य विकास केन्द्र कुलेखानीले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर समेत सञ्चालन गरेको छ। चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो । यसैगरी सिन्धुलीको मरिण ४ सहान र नुवाकोटको ककनीमा सञ्चालित मत्स्य घुम्ती शिविरमा सहभागी ६० जना कृषकलाई मत्स्यपालनसम्बन्धी सैद्धान्तिक विषयवस्तुका विषयमा जानकारी दिँदै कृषकको पोखरी अवलोकन तथा अनुगमन गरी पोखरीको पानीको गुणस्तर मापन समेत गरिएको प्रमुख पौडेलले बताए । साथै विभिन्न गुणस्तरको उचितस्तर, माछामा लाग्ने विभिन्न रोग र तिनको नियन्त्रणको उपाय, पोखरीमा हुने सूक्ष्म जीव तथा जलीय वनस्पतिको भूमिकाजस्ता अन्य विषयवस्तुका बारेमा किसानसँग छलफलसमेत गरिएको प्रमुख पौडेलको भनाइ छ । कृषकलाई पोखरी व्यवस्थापनको लागि आवश्यक पर्ने विभिन्न रसायनहरूमध्ये चुना, टक्सिमार र मिनरल मिक्स्चर वितरण गर्नुको साथै ती सामग्रीको प्रयोग गर्ने विधिबारे समेत सहजीकरण गरिएको जनाएको छ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ
पोखरा । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ) को अध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन्। शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५/२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । काजी स्टुडीयोका संस्थापक श्रेष्ठ विगत चार वर्षदेखि मञ्चमा आबद्ध छन् । मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे । श्रेष्ठको कार्यसमितिमा सुगम घिमिरे (लर्निङ चेयर), पुनित अग्रवाल (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (ग्रोथ एण्ड एक्सपान्सन चेयर), यश अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (ईन्टरनेश्नल रिलेसन्स चेयर), चिराग सरावागी (स्टार्टअप चेयर), साइनी खेतान (नेटवर्क एण्ड कम्यूनिकेसन चेयर) र सुजीत रेग्मी (स्टार्टअप को–चेयर) चयन भएका छन्। मञ्चको वार्षिक साधारण सभामा सबैभन्दा सक्रिय सदस्यको अवार्ड सुदयकान्त झाले प्राप्त गरे । सबैभन्दा बढी सदस्यता बढाउने सीएनआईवाईफ लुम्बिनीलाई अवार्ड प्रदान गरिएको छ भने मञ्चबाट सार्क ट्याङ्क नेपालमा सहभागी हुने मनिष श्रेष्ठ, सुजीत रेग्मी र अरुण अग्रवाललाई टोकन अफ लभ प्रदान गरिएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।
पर्सा जिल्लामा नयाँ उद्योग दर्ताको संख्या २२ प्रतिशतले वृद्धि
काठमाडौं । नेपालको मुख्य व्यापारिक नाका पर्सा जिल्लामा पुराना उद्योगको लगत कट्टा गराउने भन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । देशको अर्थतन्त्रमा सुधार भई व्यापारको वातावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो । लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ । पहिले कोरोना महामारी र त्यसपछि आएको वैश्विक आर्थिक मन्दीले थला परेकोे राष्ट्रिय अर्थतन्त्रमा क्रमिक सुधार हुँदै देशमा उद्योग व्यापारको वातावरण निर्माण भएपछि पर्सामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढेको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा नयाँ उद्योग दर्ताको संख्या २२ प्रतिशले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार अघिलो आर्थिक वर्षमा उद्योगतर्फ ८ सय ९७ वटा र वाणिज्य तर्फ ५ सय १५ वटा गरी १ हजार ४ सय १२ वटा नयाँ उद्योग दर्ता भएको तुलनामा गत आवमा उद्योगतर्फ ९ सय ६३ वटा र वाणिज्यतर्फ ७ सय ५८ वटा नयाँ उदोग दर्ता भएका छन् । समीक्षा अवधिको तुलनामा गत आवमा २१.८८ प्रतिशत बढी अर्थात ३ सय ९ वटा उद्योग बढी दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पञ्जियारले जानकारी दिए । उनले आर्थिक मन्दीको प्रभाव घट्दै गएकाले मुलुकमा उद्योग व्यापारको वातावरण बन्दै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउने क्रम बढ्दै गएको बताए । पर्सामा नयाँ उद्योग दर्ता गराउने क्रम बढेसँगै दर्ता रहेको उद्योगको नवीकरण गरउनेको संख्यामा समेत ३७ प्रतिशले वृद्धि भएको छ । अघिलो आर्थिक वर्षमा २ हजार १ सय ९२ वटा उद्योगले नवीकरण गराएको तुलनामा गत आवमा नवीकरण गराउने संख्या २ हजार ९ सय ९० पुगेको प्रमुख पञ्जियारले बताए । नयाँ उद्योग दर्ता र नवीकरण गरउनेको संख्यामा वृद्धि देखिएपनि पुराना उद्योगको लगत कट्टा गराउनेको संख्या समेत उच्चरहेको प्रमुख पञ्जियारले जानकारी दिए । उनले अघिलो आर्थिक वर्षमा लगत कट्टा गराउने उद्योगको संख्या ४ सय १३ रहेको तुलनामा गत आवमा उक्त संख्या ४ सय ६५ पुगेको बताए । समीक्षा अवधिको तुलनामा लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । अघिलो आर्थिक वर्षमा दर्ता भएको उद्योगले ३ हजार ९ सय ४१ जना महिला र पुरुषलाई रोजगारी प्रदान गरेकाे तुलनामा गत आवमा दर्ता भएका उद्योगले २ हजार ८ सय ९८ जना महिला र पुरुषलाई रोजगारी प्रदान गरेको कार्यालयका प्रमुख पञ्जियारले जानकारी दिए ।