पर्सामा महिलाको नाममा तीन सय ६३ घरेलु उद्योग सञ्चालन
वीरगञ्ज । सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने प्रावधानले यहाँका महिला उद्यमशीलतातर्फ आकर्षण बढिरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका अनुसार पछिल्ला वर्षमा महिला उद्यमी सञ्चालक भएर नयाँ उद्योग स्थापना गर्ने क्रम ह्वात्तै बढ्दै आइरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले गत आर्थिक वर्षमा नौ सय ६३ वटा नयाँ उद्योग दर्ता भएकामध्ये महिला उद्यमी सञ्चालक भएको उद्योगको सङ्ख्या भने तीन सय ६३ रहेको जानकारी दिए । ‘विगतमा यहाँका महिला आफ्नो नाममा उद्योग खोल्ने र सञ्चालन गर्ने कुरामा धेरै हिच्किचाउने गर्थे । तर,पछिल्लो समय सरकारले महिला उद्यमीको नाममा घरेलु उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने र महिला पनि आफैं पनि उद्यम गर्नेतर्फ अग्रसर हुँदा पनि सो सङ्ख्यामा वृद्धि भइरहेको छ,’ उनले भने, ‘विगतको तुलनामा अहिले महिला उद्यमी भएर घरेलु तथा साना उद्योग खोल्ने क्रममा भने निकै सुधार आएको छ ।’ कार्यालयका अनुसार गत आवमा छ सय ३५ पुरुष उद्यमीले नयाँ उद्योग दर्ता गरेका छन् । कार्यालयका अनुसार गत आर्थिक वर्षमा पर्सामा नयाँ दर्ता भएका उद्योगले एक हजार सात सय ३७ जना पुरुषलाई रोजगारी दिइरहेका छन्, भने एक हजार एक सय ६१ महिलालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । प्रमुख पञ्जीयारले तराई–मधेस जस्तो ठाउँमा महिला उद्यमी सञ्चालक भएर नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्ने प्रवृत्तिमा क्रमशः सुधार आइरहेको बताए । 'एक दशकअघिसम्म महिला उद्यमी सञ्चालक भएर खासै धेरै उद्योग दर्ता हुँदैन्थे, सबैजसो पुरुष उद्यमी सञ्चालक भएका नयाँ उद्योग दर्ता गर्नुहुन्थ्यो,’ उनले भने, ‘सरकारले महिला उद्यमी सञ्चालक भएको नयाँ उद्योग दर्ता गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत छुट दिने व्यवस्था गरेसँगै अहिले महिला उद्यमी सञ्चालक भएका उद्योग दर्ता हुनेक्रम बढेको छ ।’ रासस
सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न सम्बद्ध सबैमा पुनः ध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा/चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ । विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख गरेको छ । त्यसका लागि व्यापारिक सङ्घ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी सङ्घ, सङ्गठन र उपभोक्ताको उत्तिकै महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ । उपभोक्ता वर्गले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु खरिद गर्न हुन विभागले स्मरण गराएको छ । उपभोक्ताहरूको कुनै गुनासो भए विभागको टोलफ्री नम्बर ११३७ मा जानकारी गराउन समेत अनुरोध गरेको छ ।
मुक्तिनाथ कृषि कम्पनीको ८.४२ प्रतिशत लाभांश घोषणा, ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम र प्रस्तावित बोनस सेयर वितरण पश्चात हुने जम्मा चुक्ता पुँजी ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । लाभांश र हकप्रद सेयर प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनार्थ कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाएर लाभांश प्राप्त गर्न सक्नेछन् ।