गुल्मीको मीठास : ‘थोर्गेली गुड’ को देशभरि माग
गुल्मी । गुल्मीको रूरू क्षेत्र गाउँपालिका-३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भएपछि ‘थोर्गेली गुड’ ले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हो । रूरू बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालनमा रहेको गुड प्रशोधन केन्द्रले २०८१ सालको माघ २० गतेदेखि नियमित उत्पादन थालेको थियो । सहकारीका अध्यक्ष भेषराज ज्ञवालीका अनुसार हालसम्म उद्योगले करिब २४ लाख ६० हजार बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ । त्यस्तै, १० लाख ९५ हजारभन्दा बढीको पाँच हजार ४७२ लिटर खुदो र रु पाँच हजार दुई सय बराबरको १५ किलो चकलेट बेचिसकेको छ । विगतमा परम्परागत प्रविधिबाट गुड बनाउने र त्यसको प्रयोग पनि स्थानीय रुपमै हुने भएकाले थोरै सङ्ख्यामा किसानले सीमित जमिनमा उखुखेती गर्ने गरेका थिए । तर अहिले आधुनिक मेसिनसहितको उद्योग स्थापना भएपछि उखु किसान हौसिएका छन्। ‘खुदो उद्योग स्थापना भएपछि उखु किसानको सङ्ख्या पनि बढ्दै गएको छ । अहिले वडा नं ३ र ४ मा मात्र उखुखेती गर्ने कूल किसान सङ्ख्या करिब ४०० हाराहारी छ भने १०० हाराहारी किसानले सहकारीलाई उखु बिक्री गरिरहेका छन्,’ सहकारी अध्यक्ष ज्ञवालीले भने, ‘रूरू क्षेत्रमा अहिले तीन हजार २०० रोपनी क्षेत्रफल जमिनमा उखुखेती भइरहेको छ । जबकि २०७४ सालअघिसम्म त्यहाँ करिब आठ सय रोपनी हाराहारीमा मात्रै उखुखेती गरिन्थ्यो ।’ सहकारीका अनुसार गत माघयता ३१ लाख बराबरको उखु खरिद भइसकेको छ । बारीमै प्रतिकिलो १२ मा खरिद गरिएको उखु प्रशोधन गरी अहिले रू २६० प्रतिकिलो दरमा गुड बिक्री हुँदै आएको छ । उद्योगले स्थानीयलाई रोजगारी पनि दिएको छ । त्यहाँ हाल आठ जना कर्मचारी मासिक तलबमा कार्यरत छन् । अहिले पनि उद्योगसँग ५० देखि ५५ हजार लिटर खुदो मौज्दात छ । स्थानीय रिडी बजारसहित केही स्थानमा बिक्री प्रबन्धक राखिएका छन् । गाउँपालिकाको अनुदान सहयोग र हेफर इन्टरनेसनल नेपाललगायतका संस्थाको सहकार्यमा स्थापना गरिएको यो उद्योगमा भारतको गुजरातबाट आधुनिक क्रसर मेसिन, भट्टी र केही सङ्ख्यामा जनशक्तिसमेत ल्याइएको थियो । उद्योगको संरचना निर्माण तथा मेसिन जडानका लागि भारतबाटै मान्छे झिकाइएका थिए । उद्योगका व्यवस्थापक प्रकाश थापाका अनुसार दार्सिङबासस्थित जनप्रिय प्रावि विद्यार्थी सङ्ख्या कम भएपछि उनीहरुलाई अर्को विद्यालयमा सारेर त्यसैको भौतिक संरचना प्रयोग गरी उद्योग स्थापना गरियो । अहिले स्थानीय कामदारबाटै उद्योगका काम भइरहेका छन् भने व्यावसायिक उत्पादन पनि निरन्तर छ । ‘क्रसिङ क्षमतामा कुनै समस्या छैन, खुदो पकाउने क्षमता बढेको छ । प्याकेजिङ र बजारको कुनै समस्या छैन,’ थापा भन्छन् । उद्योगले चकलेट उत्पादनका लागि पनि ‘फ्रेम’ (खुदोलाई चकलेटको आकार दिने भाँडो) पनि ल्याइसकेको छ । विस्तारै चकलेट उत्पादनलाई पनि बढाउने योजना रहेको थापाले बताए । उखु प्रशोधन केन्द्र निर्माण तथा व्यवस्थापनका लागि गाउँपालिकाले चालु आथिक वर्षमा २० लाख अनुदान दिएको छ । त्यस्तै उखु प्रवर्द्धन कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रबाट तीन लाख अनुदान र हेफर इन्टरनेसनल नेपालले उद्योगका लागि चाहिने मेसिनरी तथा प्राविधिक पाटोमा सहयोग ग¥यो । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार गुड उत्पादनसँगै उखुखेतीलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । उखुको बीउ वितरण, जैविक मल उत्पादन, कीटनाशक व्यवस्थापनलगायत कार्यक्रमलाई अनुदानमा सञ्चालन गर्ने योजनामा गाउँपालिका जुटेको उनको भनाइ छ । ‘उखु नगदेबाली हो, पहिले धेरै जसो जमिन बाँझो र छिटपुट मकैखेती हुन्थ्यो । अहिले उखु उत्पादन हुँदैछ । यो आन्तरिक उत्पादनलाई उद्यमसँग जोड्ने र युवा पलायन रोक्ने पालिकाको प्रयास पनि हो,’ अध्यक्ष ज्ञवालीले भने, ‘गुणस्तरीय उत्पादन भएको कारण उपभोक्ताले मूल्यभन्दा पनि यसको उपयोगिता हेर्छन् । बजारको कुनै समस्या छैन । गुडलाई चकलेट बनाउनेसम्मको योजना छ ।’ मिसावटरहित स्थानीय उत्पादन र अर्गानिक गुण भएको भन्दै ‘थोर्गेली गुड’ को माग बढ्दो छ । अध्यक्ष ज्ञवालीका अनुसार केही उच्चपदस्थ व्यक्तिहरु थोर्गेली गुडका नियमित ग्राहक बनेका छन् । ‘यहाँ उत्पादित गुड राम्रा लागेर नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पछिल्लोपटक १० किलो मगाउनुभयो, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नातिनीको बिहेमा कसार बनाउनका लागि पनि यही उद्योगको खुदो प्रयोग गरिएको थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेल, सचिव माहादेव पन्थ लगायतले उनको गुड खुदो नियमित प्रयोग गर्नुहुन्छ,’ अध्यक्ष ज्ञवालीले भने । उखु प्रवर्द्धन कार्यक्रम आगामी आवको बजेटमा पनि राख्ने योजना रहेको उनले बताए। बीउ तथा जैविक मलमा अनुदान दिने, ठूलो परिमाणमा उखु उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्नेजस्ता कार्यक्रम थप परिष्कृत रुपमा ल्याएर यसलाई पालिकाको गौरवको आयोजना बनाउने लक्ष्य पालिकाका रहेको उनको भनाइ छ । थोर्गेली गुड खुदो उद्योगले उद्योग विभागबाट आफ्नो छुट्टै ‘ट्रेडमार्क’ र ‘लोगो’ पाएको छ । जसले थोर्गेली गुडलाई विशिष्ट ब्रान्ड बनाउँदै लगेको छ । उत्पादित वस्तु बेच्नका लागि बजारको समस्या छैन । यद्यपि उखुखेती बढाउने र बढीभन्दा बढी गुड खुदो उत्पादन गर्नका लागि स्थानीय प्रयासमात्र पर्याप्त नहुने कृषकको बुझाइ छ । प्रदेश सरकारले विगतमा बीउमा केही अनुदान दिएको भए पनि सङ्घ सरकारको सहयोग भने खासै नपाएको स्थानीयको गुनासो छ । ‘अहिले गाउँमै रोजगारीको सम्भावना देखिएको छ, युवालाई विदेश जानुपर्ने बाध्यता केही हदसम्म घट्ने आशा पलाएको छ,’ वडा नं १ का कृषक विष्णु न्यौपानेले भने, ‘खुदो उद्योग स्थापना भएपछि मैले पनि चार रोपनी जग्गामा उखुखेती थालेको छु, सरकारबाट सहयोग हुने हो भने अझ बढी व्यावसायिक भएर जान सकिन्थ्यो भन्ने लाग्छ ।’
एभरेष्ट फाइबर सिमेन्ट बोर्ड बजारमा, अब घर बन्छ बुलेटप्रूफ
काठमाडौं । रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन, पूर्वाधार, जलविद्युतदेखि सूचना प्रविधिसम्म लगानी विस्तार गरेको आईएमई ग्रुपले पछिल्लो समय उत्पादनमूलक उद्योगमा लगानी बढाइरहेको छ । २ अर्ब रुपैयाँ लगानीमा महोत्तरीको गौशालामा नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याएको केही महिनामै यस ग्रुपले रौतहटको फतुवा विजयपूरमा करिब डेढ अर्ब रुपैयाँ लगानीमा दोस्रो उत्पादनमूलक उद्योग ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालि’ सञ्चालनमा ल्याएको छ । नेपालकै पहिलो र उच्च गुणस्तरका फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने लक्ष्यसहित आईएमई ग्रुपले सञ्चालनमा ल्याएको हो- एभरेष्ट फाइबर सिमेन्ट बोर्ड । आफ्नै स्रोत र श्रमबाट उत्पादनमूलक अर्थतन्त्रतर्फ अघि बढ्ने दृढ विश्वासका साथ नेपाली सिमेन्ट र अन्य स्वदेशी कच्चा पदार्थको प्रयोग गरी कम्पनीले अन्तर्राष्ट्रियस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्नेछ । विगतको ५/६ वर्षदेखिको लामो अनुसन्धान तथा अथक मेहनतबाट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चलनमा आएको एभरेष्ट फाइबर सिमेन्ट बोर्डका प्रबन्ध निर्देशक प्रदीप पण्डित बताउँछन् । आफ्नै देशको कच्चा पदार्थहरू प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरका फाइबर सिमेन्ट बोर्डका उत्पादनहरू बजारमा ल्याउने उनको भनाइ छ । ‘विगतमा भारत, चीन, थाइल्याण्ड तथा अन्य अन्तर्राष्ट्रिय बजारबाट फाइबर सिमेन्ट बोर्ड ल्याउँदा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको कारण विदेशी मुद्रा अभावको गम्भीर असर पुगेको थियो । त्यसैले आफ्नै देशको उत्पादन खरिद गरी प्रयोग गर्न सकिने र विभिन्न डिजाइनका आन्तरिक तथा बाह्य सजावटमा प्रयोग गर्न मिल्ने वाटरप्रुफ गुणस्तरीय बोर्ड उद्योगबाट उत्पादन हुनेछन्,’ उनले भने, ‘ग्राहकको माग भएमा सुरक्षा निकायले प्रयोग गर्न सक्ने किसिमका एस्क्लोजर तथा बुलेटप्रूफ बोर्ड समेत उत्पादन गर्न सकिने प्रविधि तथा मेसिन हामीसँग छन् ।’ भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिमा समेत सजिलो र सुलभ मूल्यमा गुणस्तरीय प्रिफ्याप हाउसमा समेत प्रयोग गर्न सकिने उत्पादनलाई जोड दिएको पण्डितको भनाइ छ । मागअनुसार पर्याप्त विद्युत आपूर्ति हुने, कर तथा आयातमा लाग्ने भन्सार, महसुल तथा मूल्याङ्कनमा कडाइ र नेपाली उत्पादन उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति भएमा यस उद्योगबाट उत्पादित प्रडक्ट विदेश निर्यात गर्ने र ब्यालेन्स अफ पेमेन्टको समस्यालाई समाधान गर्न भूमिका निर्वाह गर्ने उनले बताए । निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्मा २०७२ सालको भूकम्पपछि यस्ता प्रडक्टको महत्व बढेको बताउँछन् । विपदको समय र स्थायी घर बनाउन, प्रिफ्याप घर बनाउन सिमेन्ट बोर्डको महत्त्व रहेको उनको भनाइ छ । सबै किसिमका कलर उपलब्ध हुन सक्यो भने निर्माण क्षेत्रमा फड्को मार्ने उनले बताए । नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्याक्ष वीरेन्द्र पाण्डेय नेपालको लागि फाइबर सिमेन्ट बोर्डका प्रडक्ट राम्रो भएको बताउँछन् । विश्वव्यापी रूपमा निर्माण उद्योगमा नयाँ प्रविधि आउनेक्रम सुस्त भएकाले त्यसबाट नेपालपनि अछुतो नरहेको उनको भनाइ छ । ‘नेपाल भूकम्पकीय जोखिममा रहेको हुँदा लाइटर कन्स्ट्रक्सनमा जानुपर्छ । त्यसमा इनोभेसन, नयाँ प्रविधिलाई पनि साथमा लिएर जाँदा सहज हुन्छ । फाइबर सिमेन्ट बोर्डका प्रडक्टले निर्माण क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ,’ उनले भने, ‘आन्तरिक इण्डस्ट्रीमा उत्पादन गर्न सकियो भने यसले आयात प्रतिस्थापन गर्न सक्छ । सिमेन्ट उद्योग सकसमा रहेका बेलामा यो उद्योगले सहयोगी भूमिका खेल्नेछ ।’ सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल राज्यको जीडीपीमा योगदान दिने उत्पादनमूलक उद्योगले नेपालमै उत्पादन हुँदा लागत पनि घट्ने अपेक्षा रहेको बताउँछन् । साथै आवश्यकता अनुसार विभिन्न रङ्ग, डिजाइनमा प्रडक्ट उत्पादन हुनुपर्ने उनले बताए । ‘हाम्रो माटो पानी अनि घाम दुवै सुहाउँदो प्रडक्ट आएको छ । यसको बजार पनि ठूलो देखिन्छ । सामान्यतया घर बनाउँदा, पूर्वाधारण निर्माणमा जति खर्च भइरहेको छ, यो प्रडक्टले ५० प्रतिशत लागत घट्ने देखिन्छ,’ उनले भने, ‘सहरी विकास मन्त्रलायले वैकल्पिक कन्स्ट्रक्सन मेट्रियलका लागि अनुसन्धान गरिरहेको छ । यस्ता प्रडक्टका फ्याक्ट्रीलाई प्रमोसन गर्न जरुरी छ । गुणस्तरीयतामा कम्पनीले ध्यान दिनुपर्छ । यो प्रडक्ट विदेशबाट आयात हुने भएकाले आगामी दिनमा आयात शून्य हुने विश्वास छ ।’ आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालमै फाइबर सिमेन्ट बोर्ड उत्पादन हुँदा विदेशी मुद्रा बाहिरिन रोकिने बताउँछन् । पूर्ण रूपमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी निर्माण हुने फाइबर सिमेन्टको कच्चा पदार्थ मिसावटदेखि बोर्ड निर्माण कटिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रुपमा अटोमेटेड प्रविधिमा आधारित रहेको उनको भनाइ छ । ‘हामीले उत्पादन निर्यातका लागि गुणस्तरीय भएकाले आयात गरेको वस्तुभन्दा हाम्रो प्रडक्सन अझै राम्रो छ । आन्तरिक खपतका लागि प्रयोग गर्छाैं नै, सँगसँगै हामी यसलाई निर्यात पनि गर्छाैं । आन्तरिक कच्चा पदार्थ प्रयोग गरेर तराईतिर रोजगारी दिने उद्देश्यले नेपालको पहिलो फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याइएको हो । यसले समग्र आयातलाई निरुत्साहित गर्नेछ । र, रोजगारी पनि प्रदान गर्नेछ । राज्यलाई रेभिन्यूमा पनि योगदान गर्नेछ,’ उनले भने । यस उद्योगले दैनिक रूपमा ३५ सयभन्दा बढी बोर्ड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले ८ फिट लम्बाइ, ४ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएमसम्म मोटाइका बोर्ड उत्पादन गर्नेछ । यहाँ उत्पादन भएका बोर्डहरू लचकदार, अग्निप्रतिरोधक र घामपानीले कुनै असर नगर्ने किसिमका हुनेछन् । वाटरप्रुफ फाइबर सिमेन्ट बोर्ड विशेष गरी भवनको बाहिरि होल, पार्टेसन, पल्स सिमेन्ट, मनिटर किचेन, इको प्यानल बनाउन सकिन्छ । प्रिफायर स्ट्रक्चर बिल्डिङ र घरको इम्पेरियर र स्टेरियर डेकुरेसन जस्तो स्ट्रक्चर आइसकेपछि यसलाई वालको रूपमा पनि प्रयोग गर्न सकिन्छ र यसलाई स्टिलको स्ट्रक्चरमा यसले ठूलो वाल सिलिङको रूपमा समेत प्रयोग गर्न सकिन्छ । डेकुरेरियट बोर्ड पनि उत्पादन हुने भएकाले दीर्घकालरुपमा घरमा समेत प्रयोग गर्न सकिन्छ। आईएमई ग्रुपको लगानीमा सञ्चालित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनले नयाँ नेपाल निर्माणको अभियानमा आफूलाई उभ्याएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउँछन् । उद्योगबाट उत्पादित वस्तुले आयात प्रतिस्थापन गर्दै निर्यात प्रबर्द्धन गर्ने विश्वास लिएको उनको भनाइ छ । ‘हाम्रो मुलुकको भूबनावटका कारण विभिन्न समयमा बाढी, पहिरो, भूकम्प, आगजनी जस्ता थुप्रै क्षतिहरू सामना गर्याैं । र, त्यसको द्रूत निर्माण तथा पुननिर्माणमा लागि हामीले नयाँ प्रविधिमा सुरक्षित, भरपर्दाे सामग्रीका लागि फाइबर सिमेन्ट बोर्ड उत्पादनले सहज बनाउनेछ,’ उनले भने ।
आईएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालले पायो पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग
काठमाडौं । आईएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधबार काठमाडाैंमा आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए । मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गरे । सो समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए । यसले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्र तर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे। स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको उनको भनाइ छ । आइएमई ग्रुप अन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका- ६ मा अवस्थित छ । यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइबर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् । यी बोर्डहरू लचकदार, अग्नि प्रतिरोधी, घामपानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन् । फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटेशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ । यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०-१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ। प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन् । प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ । यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ। हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन् । उनीहरू प्रोसेसिङदेखि प्याकिङसम्मका काममा संलग्न छन् । एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ ।