लगानीका थुप्रै सम्भावना छन्, स्पेनीस व्यवसायीसँग सहकार्य गर्न तयार छौंः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेन बीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरूलाई आग्रह गरेका छन् । बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन् । स्पेन वाणिज्य तथा उद्योग महासंघका सदस्यहरू, व्यापारिक समुदायका अगुवाहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरु सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा दुई देशबीच सहकार्यको बलियो सम्भावना रहेको धारणा राखे । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको चर्चा गर्दै अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताए । गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके नेपालले विश्वभरका पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे । साथै उनले नेपालमा लगानी मैत्री वातावरण निर्माण भएको, सरकारले लगानी र कम्पनी दर्तासम्बन्धी प्रक्रिया सहज बनाउन ‘वान-स्टप सर्भिस सेन्टर’ स्थापना गरिसकेको, राष्ट्रिय बजेटले ऊर्जा, कृषि, सूचना प्रविधि, निर्माण र डिजिटल नव प्रवर्तनजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै कर छुट र व्यापार नियमहरू सजिलो बनाएको उल्लेख गरे । ‘नेपालमा व्यवसाय गर्न सजिलो, छिटो र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो । लगानीको लागि नीतिगत सुधारहरूका लागि महासंघले सरकारसँग निरन्तर पहल गर्यो,’ उनले भने, ‘फलस्वरुप लगानी मैत्री वातावरण बनाउन ३० भन्दा बढी व्यापारसम्बन्धी कानूनहरू संशोधन भएका छन् । जसले नेपालमा लगानीको लागी सहज वातावरण बनेको छ ।’ नेपालसँग स्वच्छ ऊर्जामा विशाल सम्भावना रहेको, ४० हजार मेगावाटभन्दा बढी जलविद्युत क्षमताको उपयोग हुन बाँकी रहेको र क्षेत्रीय विद्युत् व्यापार बढाउँदै नयाँ प्रसारण पूर्वाधार निर्माण भइरहेकाले स्पेनी कम्पनीहरूका लागि यो उपयुक्त समय भएको उनको भनाइ छ । स्पेन विश्वकै सफल पर्यटन उद्योगमध्ये एक भएको नेपाली व्यवसायीहरू पनि त्यो अनुभव र प्रविधिबाट सिक्न उत्सुक रहको चर्चा गर्दै स्पेनी व्यवसायीक समुदायलाई नेपाल भ्रमणका लागि लागि आमन्त्रण गरे । यस्तै उनले सम्बन्धित क्षेत्रहरू पहिचान गर्न, स्थानीय साझेदारहरू भेट्न र प्रक्रिया बुझ्न महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लगानीकर्ताहरू स्थिरता, स्पष्ट प्रक्रिया र भरपर्दो प्रणाली खोज्ने उल्लेख गर्दै अध्यक्ष ढकालले नेपाल पछिल्लो समय पूर्वाधार विकास , डिजिटल प्रणाली, भन्सार र वित्तीय पहुँच सुधारमा केन्द्रित भएको बताए । स्पेनस्थित नेपाली डायस्पोराको भूमिकाबारे चर्चा गर्दै उनले नेपाली उत्पादनको प्रवर्द्धन, लगानी आकर्षण र पर्यटन विकासमा नेपालका आर्थिक दूतको रूपमा कार्य गर्न आग्रह गरे ।
एलडीसीमा स्तरोन्नतिपछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायु मैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग आग्रह गरेका छन् । स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित ‘सशक्तीकरणका लागि लचिलोपनः दिगो एलडिसी स्तरोन्नतिका लागि जलवायु-स्मार्ट वित्तीयकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताए । उनले नेपालको एलडिसी स्तरोन्नतिका लागि तीन मापदण्डमध्ये दुई वटा पूरा भएको भए पनि प्रतिव्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे । नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरे । ‘सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो,’ उनले भने, ‘साथै, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जिडिपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ ।’ एलडिसी स्तरोन्नतिले अन्तरराष्ट्रिय समर्थनको अन्त्य नभई नयाँ प्रकारको साझेदारीको सुरुवात हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नेपालजस्ता देशहरूलाई आर्थिक लचिलोपन निर्माण गर्न, स्वच्छ ऊर्जामा लगानी गर्न तथा जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू कम गर्ने दिशामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गरे । उनले यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि नेपालको निजी क्षेत्रको छाता संस्थाको तर्फबाट आफूहरू तयार रहेको समेत बताए । कार्यक्रममा विश्वभरका नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका नेताहरू र विशेषज्ञहरूसँग एलडिसीहरूमा जलवायु लचिलोपन र दिगो विकासका लागि वित्तीय चुनौती र अवसरबारे छलफल भएको थियो ।
३ अर्ब रुपैयाँले घट्यो अशोक स्टीलको व्यापार, बजारमा छैन माग
काठमाडौं । अशोक स्टील इन्डस्ट्रिज प्रालिको व्यवसायमा ४६.१४ प्रतिशत गिरावट आएको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको छ । जबकि सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको व्यवसाय ४६.१४ प्रतिशत अर्थात् ३ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार घटेको हो । स्टीलको मागमा आएको कमी र उच्च ब्याजदरका कारण आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (सन् २०२५) मा कम्पनीले १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । विविध कारणले यस वर्ष पनि कम्पनीको आम्दानीमा तुलनात्मक कमी आउने कम्पनीको भनाइ छ । सन् १९८४ मा स्थापित अशोक स्टीलले स्पञ्ज आइरन, पिग आइरन र स्क्राइब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गरिरहेको छ । गढीमाई बारामा उद्योग रहेको यस कम्पनीले वार्षिक १ लाख मेट्रिक टन टीएमटी उत्पादन गर्दै आएको छ । सन् २०२२ मा कम्पनीले ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँ, सन् २०१७ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ र सन् २०१६ मा ९३ करोड ४० लाख रुपैयाँको स्टीलको व्यापार गरेको थियो । तीन दशकदेखि नेपाली बजारमा रहेको अशोक स्टीलको अध्यक्ष तथा प्रबन्ध निर्देशक पुनमचन्द अग्रवाल हुन् । उनीसँग स्टील उत्पादन उद्योगमा ३० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक तुलसियान हुन् । कम्पनीको देशभर २५० बढी डिलर र ५ सय बढी खुद्रा बिक्रेता छन् । कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि बी प्लस रेटिङ प्रदान गरेको छ । साथै, १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ दीर्घकालिन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ ।