सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा असोज ८ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

सुदूरपश्चिममा लगानी गर्न मुख्यमन्त्रीको आग्रह, उद्योगका लागि जग्गासहित पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन केन्द्रित छलफल भएको छ । सोमबार परिसंघको सचिवालयमा भएको छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । मुख्यमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन, कानुनी तथा नीतिगत सुधार गर्न र लगानीको सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले उद्योग स्थापना गर्न चाहने तर जग्गा खरिद गर्न नसक्ने लगानीकर्ताका लागि प्रदेश सरकारले आवश्यक जग्गासहित बाटो, बिजुली, पानीलगायतका पूर्वाधार उपलब्ध गराउने आश्वासन दिए । उनले भने, 'उद्योगका लागि जग्गा कति चाहिन्छ भन्नुहोस्, प्रदेश सरकारले दिने ग्यारेन्टी गर्छ । बाटो, पानी, बिजुली हामी पुर्याइदिन्छौं, लगानी तपाईँहरूले गर्नुहोस् ।' शाहले लगानीमैत्री नियम, कानुन निर्माणका लागि संघीय सरकारसँगै प्रदेश सरकार र सबै राजनीतिक दल एकताबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट सन्देश दिए । सो अवसरमा, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुदूरपश्चिम प्रदेशले आयोजना गर्न लागेको सम्मेलनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले मुलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको र लगानीमैत्री वातावरण भएमा प्रदेशमा पर्याप्त लगानी भित्रिने विश्वास व्यक्त गरे । परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले जग्गा खरिदमा देखिने अवरोध हटाइ प्रदेश सरकारले सहज र छिटो प्रक्रिया अवलम्बन गरेमा लगानी भित्रिने बताए । उनले कुनै पनि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । यस्तै, परिसंघका उपाध्यक्ष राजबहादुर शाहले लगानीसम्मेलन सफल बनाउन आवश्यक समन्वयमा परिसंघ तयार रहेको बताउँदै, लगानी बाहेकका अन्य प्रक्रिया, कानुनी तथा नीतिगत सहजता प्रदेश सरकारले सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वर भूमि रहेको समेत उल्लेख गरे । छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, पूर्व मन्त्रीहरू, सांसद, प्रमुख सचिवलगायतका उच्च अधिकारीहरू सहभागी भएका थिए। त्यस्तै, परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, राष्ट्रिय परिषद् सदस्यहरू, उद्योगी–व्यवसायी तथा महानिर्देशक डा. घनश्याम ओझालगायत पनि सहभागी थिए ।

नेचुरल स्प्रिट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं ।  नेचुरल स्प्रिट्स नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।  कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।  नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  नेचुरल स्प्रिट्स नेपाल लिमिटेड विसं २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो ।  कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ । यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको थियो।  २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्यूट्रल अल्कोहल ट्याङ्कहरू रहेका छन् ।  कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले सरंगी ह्विस्की ४० अप र सेतो बाघ भोड्का ३० अप नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको छ ।