मिसन ०८४ मा राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजस्व बढाउने कुरा हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  राजनीतिक दलहरु मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजस्व बढाउने कुरा राजनीतिक दलहरुको एजेण्डा बन्नुपर्ने बताए । राजनीतिक दलहरुले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्नेकुरा प्राथमिकतामा राख्नुपर्ने जानकारी दिए ।  ‘अहिले राजनीतिक दलहरुको एजेण्डा मिसन ०८४ भनिने गरेको छ । निजी क्षेत्रको तर्फबाट मैले भन्नुपर्दा हामी रोजगारी सिर्जना गर्नेकुरा, राजश्व बढाउने कुरा छ । कुनै एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई एकले अर्कोलाई आक्षेप लगाउने र अर्कोलाई नराम्रो देखाएर आफू राम्रो हुने काम भन्दा पनि अहिले आम नेपालीको चाहना रोजगारी सिर्जना गर्नुपर्ने, पूर्वाधार निर्माण गर्ने, लगानी वृद्धि गर्नुपर्ने कुरा आवश्यक छ,’ अध्यक्ष ढकालले भने । अध्यक्ष ढकालले हरेक नेपालीले आज रोजगारी खोजिरहेको बताए । 

विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा, डेढ अर्बको भित्रियो

काठमाडौं । विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लीमेन्ट) को आयातले स्वदेशी उद्योग समस्यामा परेका छन् । विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले  प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।  मानव शरीरमा सन्तुलित आहारको कमीलाई परिपूर्ति गर्नका लागि डाइटरी सप्लीमेन्ट लिने गरिन्छ । बारा-पर्सा औद्योगिक कोरिडोरमा आहारपूरक ‘जयश्री हेल्थकेयर’ उद्योग सञ्चालन गर्दै आएका साकेत क्यालले विदेशी मुलुकबाट  आयातित यस्ता उत्पादनका काण स्वदेशी उद्योगलाई समस्या भएको बताए । आफूले ४० करोड रुपैयाँ लगानी गरेर आहारपूरक उद्योग सञ्चालनमा ल्याए पनि जथाभावी आयात गरिने वस्तु र स्वदेशमा आवश्यक सहयोग नहुँदा समस्या भएको उनको गुनासो छ ।  सञ्चालक क्यालले भने, ‘राज्यका निकायबाट आवश्यक सहयोग र समन्वय नहुँदा स्वदेशी उद्योग मर्कामा पर्दै आइरहेका छन् । विदेशबाट भित्रिएका गुणस्तरहीन आयातित सप्लिमेन्टले जनस्वास्थ्यमा समेत गम्भीर असर पार्नसक्छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान जरुरी छ ।’ आहारपूरक सामग्रीको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो, तर कार्यालयसँग पर्याप्त मात्रामा जनशक्ति र प्राविधिक नहुँदा पनि आवश्यक समन्वय गर्न समस्या भइरहेको छ । जयश्री हेल्थकेयर उद्योगका सञ्चालक क्याल विदेशबाट जथाभावी आयात हुँदै आएका यस्ता सामग्री दर्ता नहुने र कतिपय अवस्थामा स्वीकृति बिना भित्रिने गरेकाले आवश्यक कानुनी प्रबन्ध गरेर व्यवस्थित गराउनुपर्ने बताउँछन् ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले स्वदेशी उद्योगलाई सरकारले प्रवर्द्धन र संरक्षण गर्ने खालको नीति अवलम्बन गर्नुपर्ने बताए ।  ‘स्वदेशी उद्योगले भोग्नुपरेका कानुनी र अन्य प्रक्रियागत झन्झटको अन्त्य गर्दै सहजीकरण गर्न जरुरी छ,’ उनले भने, ‘उद्योगीले कच्चा पदार्थमा छुट पाउनुपर्ने माग राख्दै आइरहनुभएको छ । यसको सम्बोधन गरिनुपर्छ ।’ सरकारले औषधि उद्योगलाई एक प्रतिशत भन्सार महसुलमा कच्चा पदार्थ र प्याकेजिङ सामग्री ल्याउन दिए पनि आहारपूरकलाई भने २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धि कर लाउँदै आएको व्यवसायीको भनाइ छ । औषधिको कच्चा पदार्थ जस्तै आहारपूरक कच्चा पदार्थ आयातमा सहजीकरण गर्न जरुरी रहेको कतिपयको भनाइ छ ।  यहाँ रहेको जयश्री हेल्थकेयर उद्योगले हाल करिब ५० जनालाई रोजगारी दिँदै आएको छ । करिब ३१ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको उद्योगले आवश्यक कच्चा पदार्थ ल्याएर यहाँ करिब ४० प्रकारका आहारपूक उत्पादन गर्दै आएको छ । यस उद्योगले गत आवमा मात्रै करिब ६० लाख रुपैयाँ मूल्य बराबरको डाइटरी सप्लिमेन्ट बिक्री गरेको जनाएको छ ।  गत वर्ष नेपालमा करिब डेढ अर्ब रुपैयाँ बराबरको आहारपूरक सामग्री आएकाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरे आफूहरू जस्ता धेरै उद्योगले आयात प्रतिस्थापनमा सहयोग गर्नसक्ने उद्योगी क्यालको भनाइ छ ।

अवैतनिक वाणिज्यदूतहरू औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कुटनीतिका सक्रिय साझेदार: ढकाल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारकालागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी छन्।  काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी-एन) को १८औं वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । उनले नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । मन्त्री डा। राणाले भनिन्, ‘वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवद्र्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवर्द्धन तथा परस्पर लाभ र चासोका विषयहरुमा यहाँहरूको योगदान अनिवार्य र महत्त्वपूर्ण छ ।’ कार्यक्रममा बोल्दै एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कुटनीतिका सक्रिय साझेदार भएको बताए । उनले भने, ‘हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कुटनीति र विकासमा योगदान दिइरहेका छौं ।’ ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कुटनीतिको महत्त्व झन तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै भने, ‘आजको विश्वव्यापी युगमा आर्थिक कुटनीति विकल्प होइन, आवश्यकता हो ।’ आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्नको लागि तयारी गरिरहेको जानकारी दिए । हालै काठमाडौंको चन्द्रगिरिमा परराष्ट्र मन्त्रालयसँग संयुक्त रूपमा आयोजित कार्यशालाको स्मरण गर्दै उनले त्यस अवसरमा अवैतनिक वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा योगदान पुर्‍याउन सक्ने बताए । सो अवसरमा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले आफ्नो विशेष मन्तव्यमा कूटनीति र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको युनिक उपस्थिति र बदलिँदो विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका प्रष्ट पारेका थिए । कार्यक्रममा ढकालले आजैका दिनदेखि एचसीसीएनको डीन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण गरेका थिए । समारोहमा उच्च सरकारी अधिकारी, कूटनीतिज्ञ, अवैतनिक वाणिज्यदूतलगायतको उपस्थिति रहेको थियो ।