केयाल ग्रुपका ४ उद्योगको ऋण १०.१४ अर्ब, आम्दानी ९ अर्ब

काठमाडौं । केयाल ग्रुप अन्तर्गतका चार कम्पनीले एक वर्षमै करिब ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेका छन् । नारायणी रोलिङ मिल्स, नारायणी स्टिल्स, नारायणी स्ट्रिप्स र श्री कृष्ण स्टील इन्डस्ट्रीजले सन् २०२५ मा ८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेका हुन् । यी कम्पनीमा अधिकांश सेयर केयाल ग्रुपको रहेको छ भने सत्यनारायण केयाल अध्यक्ष रहेका छन् । केयाल ग्रुप पारिवारिक रूपमा सञ्चालित व्यावसायिक घरानाको रूपमा परिचित छ र समूहका उद्योगहरूको अधिकांश पूर्वी तराईमा आधारित छन् । चारै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब १४ करोड ८७ लाख रुपैयाँ ऋण लिएका छन् । अधिकांश उद्योगका उत्पादन प्लान्ट भारत-नेपाल सीमा क्षेत्रमा अवस्थित छन् । कच्चा पदार्थको अधिकांस हिस्सा भारतबाट आयात हुने भएकाले सीमासँगको नजिकियताले ढुवानी लागतमा उल्लेखनीय बचत हुने गरेको जनाएको छ । साथै, ग्रुपका काठमाडौं उपत्यका र वरिपरि १५ हार्डवेयर आउटलेट र देशभर करिब १२९ डिलर तथा डिस्ट्रीब्युटर नेटवर्कले उत्पादनका लागि सुनिश्चित बजार उपलब्ध गराउँदै आएको छ । नारायणी रोलिङ मिल्स बाराको चटापिपरा क्षेत्रमा रहेको नारायणी रोलिङ मिल्सले सन् २०२५ मा २ अर्ब ८७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३८.२९ प्रतिशत अर्थात् ७९ करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब ७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् १९९२ मे मा निजी सीमित कम्पनीका रूपमा दर्ता भई सन् १९९५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो उद्योगले टीएमटी बार, एङ्गल र अन्य सहायक स्टिल उत्पादन गर्दै आएको छ । हाल कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक ४८ हजार ३०० मेट्रिक टन रहेको छ ।  निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले गुणस्तरीय स्टिल उत्पादनमार्फत बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ । कम्पनीको नाफा सन् २०२५ मा करिब १ करोड ५० लाख पुगेको छ, जुन सन् २०२४ को ३० लाख मात्र थियो। ।  कम्पनीले सन् २०२३ मा २ अर्ब ८० करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४४ करोड रुपैयाँ, सन् २०२१ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ५८ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ४ अर्ब ६९ करोड ८० लाख रुपैयाँ र सन् २०१७ मा ३ अर्ब २२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  नारायणी रोलिङ मिल्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ७ करोड २८ लाख र अल्पकालीन १ अर्ब ६१ करोड ९२ लाख गरी कुल १ अर्ब ६९ करोड २१ लाख ऋण लिएको छ । नारायणी स्टिल्स  पर्साको चोर्नी क्षेत्रमा रहेको नारायणी स्टिल्सले सन् २०२५ मा २ अर्ब ५८ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३०.३२ प्रतिशत, अर्थात् ६० करोड २० लाख रुपैयाँ बढी हो। सन् २०२४ मा कम्पनीले १ अर्ब ९८ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् २००४ अप्रिलमा स्थापना भएको यस उद्योगले निर्माण र औद्योगिक क्षेत्रमा बढ्दो मागलाई मध्यनजर गर्दै तार, कीला र अन्य सहायक स्टिल उत्पादन गर्दै आएको छ । औपचारिक उत्पादन सन् २०१८ डिसेम्बरमा सुरु भएको हो । हाल उद्योगको कुल जडित उत्पादन क्षमता वार्षिक ६५ हजार मेट्रिक टन रहेको छ । सन् २०२३ मा २ अर्ब ५१ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जीआई वायर, एमएस वायर, बार्बेड वायर लगायतका विभिन्न तार उत्पादन गर्दै आएको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ४७ करोड ६० लाख र अल्पकालीन ९० करोड गरी कुल १ अर्ब ३७ करोड ६० लाख ऋण लिएको छ । नारायणी स्ट्रिप्स  नारायणी स्ट्रिप्सले सन् २०२५ मा ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४.१४ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनी १३ अप्रिल २०१५ मा स्थापना भएको हो र सन् २०१६ देखि उत्पादन प्लान्ट सञ्चालनमा आएको हो । यहाँ पाइप, शीट, स्लिट्स, रिज र चेकर प्लेट जस्ता उत्पादनहरू उत्पादन हुँदै आएका छन् । हाल कम्पनीको कुल वार्षिक उत्पादन क्षमता ५ लाख ८२ हजार ४०० मेट्रिक टन पुगेको छ । विगतका वर्षहरूमा कम्पनीले लगातार सञ्चालन आम्दानी वृद्धि गरेको छ । सन् २०२३ मा ३ अर्ब ३४ करोड ६० लाख, सन् २०२२ मा ३ अर्ब ६४ करोड ८० लाख, सन् २०२१ मा ४ अर्ब १४ करोड, सन् २०२० मा ३ अर्ब २१ करोड ९० लाख, सन् २०१९ मा ३ अर्ब ८३ करोड ३० लाख, सन् २०१८ मा २ अर्ब ८७ करोड ९० लाख, र सन् २०१७ मा ८८ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ३ अर्ब २० करोड २१ लाख र अल्पकालीन ३ अर्ब २४ करोड ५३ लाख गरी कुल ६ अर्ब ४४ करोड ७४ लाख ऋण लिएको छ । श्री कृष्ण स्टील इन्डस्ट्रीज पर्साको जीतपुरमा अवस्थित श्री कृष्ण स्टील इन्डस्ट्रीजले सन् २०२५ मा ९३ करोड ७० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको छ । यो सन् २०२४ को तुलनामा ११.५४ प्रतिशत, अर्थात् ९ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८४ करोड रुपैयाँ बराबर आम्दानी गरेको थियो । फेब्रुअरी १९९५ मा स्थापना भएको श्री कृष्ण स्टील इन्डस्ट्रीज केयाल ग्रुपको लगानी रहेको कम्पनी हो । पर्सा जिल्लामा रहेको यसको उत्पादन प्लान्टले २० वर्षभन्दा बढी समयदेखि पाइप, शीट र शटर पट्टी निर्माण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ८६ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब १६ करोड १० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब १९ करोड ४० लाख रुपैयाँ र सन् २०१७ मा २ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन २४ करोड ४७ लाख र अल्पकालीन ३८ करोड ८४ लाख गरी कुल ६३ करोड ३२ लाख रुपैयाँ ऋण लिएको छ ।

नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्न १० कम्पनीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि नेपाली कम्पनीहरूले पनि आवेदन दिएका छन् । नागढुङ्गा सुरुङमार्ग आयोजनाका सूचना तथा उपसचिव अधिकारी सञ्जय पन्थीका अनुसार सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि १० वटा नेपाली कम्पनीले पनि आवेदन दिएका हुन् ।  उनले सुरुङमार्ग सञ्चालनका लागि ६ वटा चिनियाँ, ३ वटा भारतीय र १ वटा टर्की कम्पनीले नेपाली कम्पनीहरूसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा काम गर्ने गरी आवेदन दिएको जानकारी दिए ।  उनका अनुसार नेपाली कम्पनीहरूमा स्वच्छन्द निर्माण सेवा, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, भागेश्वर कन्स्ट्रक्सन प्रालि, समानान्तर निर्माण सेवा प्रालि, वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेड, एआरटी कन्स्ट्रक्सन, बावरी कन्स्ट्रक्सन प्रालि, ब्राइट बुल निर्माण सेवा तथा दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि रहेका छन् । यी मध्ये छनोट हुने कम्पनीले ज्वाइन्ट भेन्चरका रूपमा विदेशी कम्पनीसँग मिलेर काम गर्नेछन् ।  जसअनुसार स्वच्छन्द निर्माण सेवासँग विदेशी कम्पनी सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड मिलेर सेग्मेन्टल–स्वच्छन्द जेभीका रुपमा भएर काम काम गर्नेछ भने काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग गान्सु हेङतोङ रोड एण्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेड मिलेर काष्ठमण्डप–गान्सु हेङतोङ जेभीका रूपमा काम गर्ने आयोजनाको भनाइ छ ।  यस्तै, कुमार श्रेष्ठ निर्माण सेवा प्रालिसँग अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालि मिलेर केएसएनएस–अल्टिनोक–बीसीपीएल जेभीले मिलेर आवेदन दिएका छन् । ब्राइट बुल निर्माण सेवासँग सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड मिलेर एसएक्सआरबी–ब्राइट बुल जेभीले आवेदन दिएका छन् ।  यस्तै, दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालिसँग जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड मिलेर जेटीसीजी–डाँफे जेभीले आवेदन दिएको उनले जानकारी दिए ।  बावरी कन्स्ट्रक्सन प्रालिसँग विदेशी कम्पनी टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड मिलेर बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स जेभीका रूपमा आवेदन दिएको बुझिएको छ ।  पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालिसँग एल्सामेक्स मर्मत सेवा लिमिटेड मिलेर ईएमएसएल–पीएससीपीएल जेभीका रुपमा काम गर्ने तथा समानान्तर निर्माण सेवा प्रालिसँग चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड मिलेर समानान्तर–सीएफएचईसी जेभीका रुपमा काम गर्नेछ ।  यसैगरी, नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन प्रालिसँग चोङछिङ युजिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड मिलेर युजिन–एआरटी जेभीका रुपमा काम गर्नेछ ।  वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेडसँग विदेशी कम्पनी रांकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड मिलेर वेदान्शी–रांकेन जेभीका रुपमा काम गर्ने आयोजनाका सूचना अधिकारी पन्थीले जानकारी दिए । हाल यी कम्पनीहरूको प्राविधिक मूल्याङ्कन भइरहेको छ । मापदण्डअनुसार यो सुरुङमार्ग सञ्चालनको ठेक्का पाउने कम्पनीले कम्तीमा ३ वर्ष करिब १६०० मिटर लामो सुरुङमार्ग सञ्चालन गरेको अनुभव र सुरुङमार्ग विज्ञहरूको टिम भएका कम्पनीलाई मात्र प्राथमिकता दिइने आयोजनाले जनाएको छ । सुरुङमार्गभित्रको सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । मुख्य सुरुङमार्गको समानान्तरमा इभाकुएसन (आपतकालीन) सुरुङ निर्माण गरिएको छ, जसमा ७ वटा ढोकाहरू रहेका छन् । सुरुङ भित्र प्रत्येक ५० मिटरमा फायर हाइड्रन्ट (आगो निभाउने संयन्त्र) जडान गरिएको छ । अत्याधुनिक भेन्टिलेसन र २४सै घण्टा निगरानीका लागि सीसीटीभी क्यामेराहरू राखिएका छन् । हावाको गुणस्तर र दृश्यता मापनका लागि विशेष सेन्सरहरू जडान गरिएका छन्, जसको नियन्त्रण कक्षबाट निरन्तर अनुगमन हुनेछ । सुरुङमार्गभित्रको सुरक्षा र हावाको गुणस्तर कायम राख्न मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ । यात्रुहरूले सुरुङ प्रयोग गरेबापत निश्चित टोल दस्तुर तिर्नुपर्नेछ । दस्तुर भुक्तानीका लागि नगदका साथै गाडीमा स्टिकर टाँसेर स्वचालित रूपमा पैसा काटिने आरएफआईडी प्रविधि पनि प्रयोगमा ल्याइनेछ ।  सञ्चालनका लागि चिटिक्क बन्यो देशकै पहिलो सुरुङमार्ग {भिडियो स्टोरी}

वारेन बफेटले बेचे अमाजोनको ७७ प्रतिशत हिस्सेदारी, मिडिया क्षेत्रमा पुनः प्रवेश

काठमाडौं । अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर हाथवेले विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमाजोनमा रहेको आफ्नो ७७ प्रतिशत हिस्सेदारी बेचेको छ । उक्त बिक्री सन् २०२५ को चौथो त्रैमासमा गरिएको हो, जसअन्तर्गत कम्पनीले १.७ अर्ब डलर बराबरका सेयर विक्री गर्‍यो ।  हालै अमाजोन​​​​​​को सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो । यस महिनामात्रै कम्पनीको सेयर लगातार नौ दिन घटेको थियो, जसका कारण यसको बजार पुँजीकरण (मार्केट क्याप) करिब ४१० अर्ब डलरले घटेको थियो । यद्यपि मंगलबार कम्पनीको सेयर १.१९ प्रतिशतले बढेर बन्द भएको थियो । बर्कशायर हाथवेले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले अघिल्लो त्रैमासमा एपलमा रहेको ४ प्रतिशत हिस्सेदारी पनि बेचेको छ, जसको मूल्य २.७ अर्ब डलर बराबर रहेको छ ।  साथै मिडिया क्षेत्रमा पुनः प्रवेश गर्दै कम्पनीले न्यूयोर्क टाइम्समा लगानी गरेको जनाएको छ । बफेटले सन् २०२० मा मिडिया क्षेत्रबाट बाहिरिँदै आफ्नो न्यूजपेपर व्यवसाय बेचेका थिए । सन् २०२५ को अन्त्यसम्म बर्कशायर हाथवेका न्यूयोर्क टाइम्सका ५.०७ मिलियन सेयर थिए, जसको कुल मूल्य ३५१.७ मिलियन डलर रहेको थियो । बफेटको कम्पनी बर्कशायर हाथवेले मिडिया क्षेत्रमा पुनः प्रवेश गरेपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा यसको व्यापक चर्चा सुरु भएको छ । विदेशी सञ्चारमाध्यमहरूले बर्कशायरको पछिल्लो लगानी निर्णयलाई ‘रणनीतिक पोर्टफोलियो पुनःसन्तुलन’ का रूपमा व्याख्या गरेका छन् ।  विशेषगरी टेक कम्पनीहरूमा केही हिस्सेदारी घटाउँदै कम्पनीले गुणस्तरीय मिडिया व्यवसायतर्फ ध्यान मोडेको संकेत देखिएको विश्लेषण गरिएको छ । विदेशी समाचार स्रोतहरूका अनुसार बर्कशायरले न्यूयोर्क टाइम्समा गरेको लगानीलाई दीर्घकालीन मूल्य अवसरसँग जोडिएको छ । डिजिटल सब्स्क्रिप्सन मोडेलको बलियो वृद्धि, स्थिर नगद प्रवाह र ब्रान्ड विश्वसनीयता जस्ता पक्षहरूले मिडिया उद्योगमा पुनः आकर्षण बढाएको तर्क प्रस्तुत गरिएको छ ।  डिसेम्बरको अन्त्यसम्म बर्कशायर हाथवेका प्रमुख होल्डिङ्समा एप्पल (२२.६० प्रतिशत), अमेरिकन एक्सप्रेस (२०.४६ प्रतिशत), बैंक अफ अमेरिका (१०.३८ प्रतिशत), कोकाकोला (१०.२० प्रतिशत) र शेभरोन कर्प (७.२४ प्रतिशत) रहेका छन् । एपलमा कम्पनीको लगानीको कुल मूल्य ६२ अर्ब डलर रहेको छ । हालै वारेन बफेटले बर्कशायर हाथवेको कार्यकारी नेतृत्व छोडेका छन् । उनको स्थानमा जनवरी १ देखि ग्रेग एबललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । यद्यपि बफेट कम्पनीका अध्यक्ष (चेयरम्यान) का रूपमा भने यथावत् रहेका छन् ।