मुख्यसचिवको तलब ९० हजार, कार्यालय सहयोगीको २८ हजार ९८४
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलबमान तथा सेवा–सुविधा कार्यान्वयनमा ल्याएको छ । नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषदले स्वीकृत गरेको हो । साउन ६ गते बसेको बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था स्वीकृत गरेको हो । निर्णयअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि अनुसूची–१ देखि अनुसूची–८ सम्म नयाँ तलबमान निर्धारण गरिएको छ । उक्त व्यवस्था निवृत्तिभरण प्रयोजनका लागि समेत लागू हुने उल्लेख गरिएको छ । नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ९० हजार ४२५ हुनेछ । उक्त तलबमा कर्मचारीको ग्रेड थपिँदा तलब यसभन्दा धेरै हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा धेरै तलब पाउने मुख्यसचिवले ९० हजारभन्दा माथि तलब लिँदा सबैभन्दा कम कार्यालय सहयोगीको तलब हुनेछ । नयाँ तलबमानअनुसार कार्यालय सहयोगीको तलब २८ हजार ९८४ रुपैयाँ कायम भएको छ ।
अमेरिका जान झुटो बोली अन्तवार्ता दिए सधैंका लागि प्रवेशमा रोक
काठमाडौं । अमेरिकन दूतावासले भिसा अन्तवार्ताका क्रममा झुटो नबोल्न आग्रह गरेको छ । झुटो बोलेमा अमेरिकाको भिसा सधैंका लागि नलाग्ने दूतावासले चेतावनीसमेत दिएको छ । ‘भिसाको अन्तवार्ताको क्रममा सधैँ सत्य बोल्नुहोस्,’ दूतावासले भनेको छ, ‘झुटो बोलेमा तपाईंलाई भविष्यमा भिसा वा अमेरिका प्रवेशका लागि स्थायी रूपमा प्रतिबन्ध लाग्न सक्नेछ ।’ कन्सुलर अधिकारीहरूले विगतमा अध्यागमनसम्बन्धी नियम उल्लङ्घनबारे गरिएका गतिविधिका बारेमा जानकारी राख्ने पनि दूतावासले बताएको छ । त्यसैगरी, दूतावासबाहिर कसैले ‘दूतावासमा आफ्नो चिनजान छ’ भन्दै भिसा अन्तर्वार्ताको समय छिटो मिलाइदिने भने गरेको पाइएमा त्यो ठग हो भनेर बुझ्न पनि दूतावासले आग्रह गरेको छ । अन्तर्वार्ताको समय लिन वा परिवर्तन गर्न चाहेमा अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा जानुपर्ने पनि दूतावासले जनाएको छ ।
सरकारको दबाबपछि तिब्बतीय अध्यन सम्मेलन स्थगित
काठमाडौं । सरकारको दबाबपछि तिब्बतीय अध्ययन सम्मेलन नहुने भएको छ । काठमाडौंमा विश्वभरका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापक, प्राज्ञ तथा शोधकर्ताहरूको सहभागितामा नेपालमा १७ औं अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठी आयोजना हुने तय भएको थियो । तीनदेखि चार वर्षमा विश्वका विभिन्न मुलुकमा आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय गोष्ठी यसपटक सत्रौं संस्करणका रूपमा नेपालमा हुन तयारी भएको थियो । सरकारले वर्तमान अवस्थामा सम्मेलन नगर्न निर्देशन आएकाले सम्मेलन रद्द गरिएको गोष्ठीका संयोजक रहेका प्रा.सागर शर्माले जानकारी दिए । ‘हामीले सरकारको निर्देशन मान्नैपर्यो । राज्यभित्र रहने भएकाले राज्यका कानुन तथा निर्देशन मान्नुपर्छ,’ उनले विकासन्युजसँग भने । काठमाडौं विश्वविद्यालयअन्तर्गतको सेन्टर फर बुद्धिस्ट स्टडिज, राङ्जुङ येशे इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको थियो । आगामी भदौको ७ देखि १३ सम्म काठमाडौंमा ‘इन्टरनेसनल एसोसिएसन फर तिब्बती स्टडिज’ को सम्मेलन हुन लागेको थियो । नेपाल प्रहरीका उच्च अधिकृतले सुरक्षा थ्रेटको चुनौतीलाई लिएर पनि तिब्बतीय अध्ययन सम्मेलन रोकिएको बताए । ’सुरक्षा चुनौतीलाई लिएर र देशी–विदेशीले यहाँ खेल्न सक्ने भन्दै चुनौती देखिएको थियो,’ ती प्रहरी अधिकृतले भने । विभिन्न मुलुकका अध्यताहरू आउने र यहाँका वस्तुस्थिति तथा राजनीति विश्लेषण गर्न सक्ने भएकाले पनि सुरक्षाको तहबाट यो उच्च जोखिममा रहेको प्रहरीले निष्कर्ष निकालेको उनको भनाइ छ । परराष्ट्रका एक अधिकारीले सरकारको निर्देशन तथा नियमविपरीत सम्मेलन गर्न लागिएका तत्काल कार्यक्रम रद्ध गर्न अनुरोध गरिएको बताए । ‘कतिपय अवस्थामा भू– राजनीतिलाई पनि ख्याल गर्नुपर्ने भएकाले सम्मेलन रद्द गर्नु परेको हो,’ उनले भने ।