नुप्चे लिखु जलविद्युतले ६५ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल नियुक्त

काठमाडौं । भिजन इनर्जी एण्ड पावरद्वारा प्रवद्र्धित नुप्चे लिखु जलविद्युत आयोजनाले आइपीओ निष्काशन गर्ने भएका छ । कम्पनीले ६५ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्ने जनाएको छ । कम्पनीले यसको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको छ । भिजन इनर्जी एण्ड पावर कम्पनी (भिइपीएल) ले ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, वायो ग्याँस जस्ता वैकल्पिक ऊर्जा श्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरु मार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरु आफै निर्माण गर्ने गर्दछ । हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा।पा। वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ । सरकारी स्वामित्व रहेको हाइड्रइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनीको लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न जनाएको छ ।

पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने

काठमाडौं । पाँचथर पावर कम्पनीले गत सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरको हो । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ ।

ग्लोबल आइएमई बैंकको १३ प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १६औं वार्षिक साधारण सभाले बैंक सञ्चालक समितिको १३.६ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले आर्थिक वर्षको २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर पाउने छन् । रकमको आधारमा सेयरधनीले करिब २ अर्ब ५२ करोड रुपैयाँ बराबको नगद लाभांश र ७१ करोड ३८ लाख रुपैयाँ बोनस सेयर पाउने छन् । २३ अर्ब ७९ करोड रहेको बैंकको चुक्ता पुँजी बोनस सेयरपश्चात २४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चलरअचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ । दुई बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पुरा भइसकेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद व्याज आम्दानी तर्फ गत वर्ष भन्दा १ अर्ब १५ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत बर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।