एचआईडीसीएलको सेयर मूल्य अक्सनमा भन्दा दोस्रो बजारमा सस्तो

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसिएल) ले भदौ २० गतेदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँमा २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता सेयर बिक्री गर्ने भएको हो । गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री गरेपनि कम्पनीको सोही प्रकृतिको सेयर दोस्रो बजारमा प्रतिकित्ता १ सय रुपैयाँ भन्दाकम मूल्यमा कारोबार भइरहेको छ । दोस्रो बजारमा कम्पनीको सेयर कारोबार अक्सन सेयर भन्दा कम भएपछि बिक्री नहुन सक्ने सेयर जानकारहरु बताउँछन् । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ भन्दा कम भएका बेलामा बिक्री गर्न नहुने एक लगानीकर्ताले विकासन्युजसँग बताए । बिहीबार कम्पनीको १ लाख २० हजार २५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ करोड २० लाख १९ हजार ४५१ रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको उक्त सेयर न्यूनतम प्रतिकित्ता ९८ रुपैयाँदेखि १ सय रुपैयाँमा कारोबार भएको हो । बिहीबार कम्पनीको संस्थापक सेयर खरिदकर्ताले न्यूनतम ९६.७० रुपैयाँ सम्म मूल्य राखेर २ सय कित्ता अर्डर गरेका थिए । कम्पनीको सेयर मूल्य यसअघि हिजो बुधबार प्रतिकित्ता ९८.२० रुपैयाँ थियो भने आज १.८० रुपैयाँ बढेर प्रतिकित्ता १ सय रुपैयाँ छ । कम्पनीको सेयर मूल्य अधिकतम ११५.२० रुपैयाँ पुगेको छ भने न्यूनतम ९६.५० रुपैयाँसम्म झरेको छ । दोस्रो बजारमा लगानीकर्ताले अक्सन मूल्यभन्दा कम मूल्यमा सेयर खरिद गर्न पाइरहँदा गोप्य शिलबन्दी बोलपत्रको सेयर बिक्री नहुने आँकलन गरिएको छ । कम्पनीले सेयर मूल्य घटेको बेलामा अक्सनमा सेयर बिक्री गर्न नहुने सुझाव लगानीकर्ता डमरु बल्लव घिमिरेकाे छ । यसअघि कम्पनीले गत साउन १५ गतेदेखि साउन २९ गतेसम्म २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । सो समयमा कम्पनीको ४६ लाख ४ हजार ९८५ कित्ता सेयर मात्रै बिक्री भएको थियो । यस्तै, गत असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्रै बिक्री भएको थियो । कम्पनीले हालसम्म गरी ४ पटक सेयर लिलामीमा राखेको हो । तर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण कम देखिएपछि बिक्री गर्न हम्मेहम्मे परिरहेको छ । ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले १ सय रुपैयाँ भन्दा कम मूल्यमा अक्सन गर्न नमिल्ने बताए । सेयर बिक्री गर्नुपर्ने बाध्यता रहेकाले बिक्रीमा राखिएको उनको भनाइ छ । दोस्रो बजारमा सेयर मूल्य कम भएपनि धेरै कित्ता खरिद गर्न नमिल्ने उनको तर्क छ । ‘मार्केटमा धेरै कित्ता पाइँदैन्, अलिअलि कित्ता मात्रै खरिद गर्न मिल्छ, दोस्रो बजारमा खरिद गर्दा शुल्क पनि तिर्नुपर्छ,’ उनले भने, ‘एक सय रुपैयाँभन्दा कम मूल्यमा अक्सन गर्न मिल्दैन तर बजारमा कम मूल्यमा कारोबार भइरहेको छ ।’ कम्पनीको संस्थापक सेयर हालै मात्र दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको हकप्रद सेयर (अक्सन प्रमोटर) गत शुक्रबारदेखि मात्रै कारोबारमा आएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका–२०७४ को दफा १५ को उपदफा ३ को ‘ख’ मा सेयर बिक्री गर्नु पर्दा अंकित मूल्यमा बढाबढ गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, सोही दफाको ‘ग’ मा हकप्रद सेयर लिलाम बढाबढबाट बिक्री गर्ने सम्बन्धी सूचना बिक्री खुला हुनुभन्दा कम्तिमा ७ दिन अगाडि कुनै दुईवटा राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नु पर्ने उल्लेख गरिएको छ । साेही कारण कम्पनीलाई दाेस्राे बजारमा सेयर मूल्य कम भएपनि अक्सनमा बिक्री गर्नु पर्ने बाध्यता भएकाे हाे ।

बजार सामान्य घट्दा एनटिसीको सर्वाधिक कारोबार, हिमालयन एभरेष्टको सेयरमा सर्किट

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०८ अंकले घटेर १९७२.२९ अंकमा बन्द भएको छ । निरन्तर घटिरहेको सेयर बजार बिहीबार पनि सामान्य अंकले घटेको हो । यसअघि हिजो बुधबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बिहीबार भने सामान्य अंकले घटेको हो । दिनभरिको उतारचढावका बीच बजार दोहोरो अंकले घटेको हो । बुधबार नेप्से परिसूचक २१.९७ अंकले घटेको थियो । यस्तै आज दिनभरिमा २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर २९ हजार १६२ पटक किनबेच हुँदा १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो बुधबार १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको थियो । बैंकिङ्ग समूह ०.१६ प्रतिशत, ट्रेडिङ समूह ०.३५ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.०७ प्रतिशत, अन्य समूह १.९२ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०६ प्रतिशत घटेको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ०.९४ प्रतिशत, विकास बैंक समूह ०.२१ प्रतिशत, निर्जीवन बीमा समूह ०.७९ प्रतिशत, जीवन बीमा समूह ०.५९ प्रतिशत, हाइड्रोपावर समूह ०.४६ प्रतिशत, फाइनान्स समूह १.३१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०४ प्रतिशतले बढेको छ । बुधबार नेपाल टेलिकमको सेयर कारोबार सर्वाधिक १२ करोड २७ लाख ५ हजार ६५६ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख ५४ हजार ७८१ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्से ओरालो लागेपनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत, अपर हेवीखोलाको ६.५८ प्रतिशत र महुली लघुवित्तको सेयर मूल्य ५.८४ प्रतिशत बढेको छ ।

मिर्मिरे र बुद्द ज्योति लघुवित्तको एकीकृत कारोबार सुरु, एफपीओ जारी गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्द ज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बुधबार संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हो । बनेपामा केन्द्रिय कार्यलय रहेको मिर्मिरे लघुवित्त र रुपन्दर्शीको लुम्बिनीमा रहेको बुद्द ज्योति लघुवित्त भदौ १२ गते राष्ट्र बैंकबाट इजाजत पाएका थिए । प्राप्ति गर्दाको स्वाप रेशियो १ : ०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापुजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ रुपैयाँ भएको छ । एकीकृत कारोबार पश्चात मिर्मिरेको चुक्तापुँजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८, अधिकृत पुँजी ६० करोड, शाखा संख्या १५१ हुनेछ भने लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७ सय जना कुल सदस्य संख्या १ लाख ३२ हजार १९३ जना र निक्षेप संकलन २ अर्ब ६८ करोड तिन लाख ९ हजार ३ सय अठ्ठाईस भएको छ । योसँगै, लघुवित्तले एफपीओ पनि जारी गर्ने सम्बन्धमा बुधबार नै धितोपत्र बोर्डलाई पत्राचार गरेको जानकारी पनि दिएको छ । लघुवित्तले नेपाल राष्ट्र बैंकबाट साउन ३० गते संस्थापक समूह र सर्वसाधारण समुहको सेयर स्वामित्व प्रतिशत ७०:३० कायम गर्ने प्रयोजनको लागी एफपीओ जारि गर्ने स्वीकृति पाएकोले प्रक्रिया अघि बढाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताए । यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शान्ता केसी कार्कीलाई संचालकमा नियुक्त गरेको छ । संस्थाको संचालक समितिको बैठकले कार्कीलाई संचालकमा नियुक्त गरेको हो । यस अघि बुद्द्ज्योती लघुवित्तको संचालक रहेकी कार्की रुपन्देही जिल्लाकी स्थानीय व्यक्तित्व हुन् । वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहरा समक्ष आजै संचालक कार्कीले गोपनियताको सपथ लिनुका साथै पदभार ग्रहण गरेको पनि लघसवित्तले जानकारी दिएको छ ।